कोरोनाले थलिएका भक्तपुरका विद्यालय माघ १ गतेदेखि खुल्ने

भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालय माघ १ गतेदेखि सञ्चालनमा आउने भएका छन्।

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि पुस २० गते बसेको समितिको बैठकले कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई मध्यनजर गर्द‍ै विद्यालय सञ्चालनबारे छलफल गरेको थियो।

यसअघि मङ्सिर २३ गते बसेको समितिको बैठकले नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू पौष १ गतेदेखि कक्षा ८, ९ र १० लाई आलोपालो गरी भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार कक्षा ८, ९ र १० का कक्षा मात्रै सञ्चालन हुँदै आएकोमा अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्म माघ १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको मेयर प्रजापतिले बताए।

विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षक/कर्मचारीमा कोरोना सम्बन्धी कुनै समस्या देखिए आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिनसकिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय