अपाङ्गहरूको मुहारमा खुसी भर्न दत्तचित्त स्वास्थ्यकर्मी गंगा

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ पुष २१ गते १६:१५

१४ वर्षदेखि अपाङ्गताको क्षेत्रका काम गरिरहेकी ३५ वर्षीया गंगाले धेरैलाई पुनर्स्थापना गरेर स्वावलम्बी बनाएकी छन्। अपाङ्गता भएकाहरूलाई केही अवसर दिएमा मात्र पनि उनीहरूको जीवनस्तर उकासिने उनी विश्वस्त छिन्।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ थाप्ले गाउँकी गंगाको अति न्यून आय भएका अपाङ्गता भएकाहरूलाई सीप सिकाएरै स्वरोजगार बनाउन सकिने विश्वास छ। त्यही विश्वासमा टेकेर उनले आफू अपाङ्ग भएर पनि अरु अपाङ्गका लागि आशा जगाउने काम गरिरहेकी छिन्।

गंगा भन्छिन्, ‘अपाङ्गता भएका व्यक्तिहरू दबीएर बस्ने होइन, अवसरका लागि घरबाट निस्कनुपर्छ। लगनशील भएर लागेमा धेरै गर्न सकिन्छ। आफूलाई कमजोर ठान्नुहुँदैन।’

तीन महिनामै अपाङ्ग

नरबहादुर रायमाझी र हिराकुमारीको दोस्रो सन्तानको रूपमा जन्मिएकी गंगा रायमाझी जन्मिएको तीन महिनामै अपाङ्ग हुन पुगेकी थिइन्।

घरभित्र सुताइरहेको अवस्थामा उनी ओछ्यानबाट गुल्टिएर अगेनाको भुङ्ग्रोमा परेपछि आफूले दुई वटा खुट्टा गुमाउनुपरेको गंगा बताउँछिन्।

उनका अनुसार त्यतिबेला तत्कालै गुल्मीको तम्घास ल्याएर उपचार गरिए पनि उनका दुवै खुट्टा आगोले पूर्ण रूपमा जलेका चिकित्सकले बताएका थिए।

तीन महिनासम्म तम्घासमा उपचार गरेपछि गंगा तंग्रिइन्। तर, उनको खुट्टा घुँडाबाट तल काटेर फाल्नुपरेको थियो।

गुल्मी मालिका गाउँपालिका वडा नम्बर ५ थाप्लेकी गंगा ताते-ताते गर्नसमेत नपाउँदै अपाङ्ग बन्न पुगे पनि परिवारले कुनै दुःख, कष्ट नदिई उनलाई हुर्काएका थिए।

गंगाको स्कुले जीवन

गंगाको विद्यालय जाने उमेर भयो। घरनजिकै विद्यालय थिएन। दाइदिदी विद्यालय जाँदा गंगालाई पनि झोला बोकेर पढ्न जाने हुटहुटी चल्थ्यो। तर, शारीरिक अवस्थाका कारण उनी विद्यालय जान सक्थिनन्।

एकदुई दिन त बाबा, आमा र हजुरबुवाले उनलाई बोकेर विद्यालय पुर्‍याए पनि। तर, विद्यालय टाढा भएपछि उनलाई मामा घर गुल्मीकै अर्जेमा लगियो। गंगाको मामाघर अर्जे गाउँमा नजिकै विद्यालय थियो।

मामाघर बसेर खुट्टाका घुँडामा चप्पल अडकाएर हातको सहारामा गंगाले पोखरीबारी माविबाट पढाई सुरू गरिन्। गंगाको संघर्षदेखि विद्यालयका शिक्षक र साथीभाइहरू दंग पर्थे। कसैले खिस्सी पनि गर्थे। तर, त्यसप्रति कुनै ध्यान नदिई उनले विद्यालयमा पढाई जारी राखिन्।

राम्रोसँग पढ्दै गइन्। २०५९ मा एसएलसी परीक्षा दिन तम्घासको अर्जुन बोर्डिङ स्कूलको गेटबाट दुई घुँडामा चप्पल लगाएर घिस्रिदै गरेकी गंगामा सोही विद्यालयका प्रिन्सिपल दानबहादुर केसी र गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको ध्यान पुग्यो।

पढाइ र उनको अवस्था देखेर उनीहरू दुवैले आगामी शैक्षिक शत्रदेखि उपचारका लागि सक्दो सहयोग बताए।

एसएलसी परीक्षा सकेपछि उनको कृत्रिम खुट्टा राखेर हिँडडुल गर्न सहज बनाउन सकिने भन्दै उपचारका लागि पोखराको हरियोखर्क अस्पतालमा केसी र शर्माकै पहलमा गंगालाई लगियो।

पोखरामा चार महिना बसेर उनले खुट्टा राखिन्। सोही समयमा न्यूजिल्याण्डका नागरिक रब काउन्न अस्पतालको निरीक्षणमा आएका रहेछन्, रबले त्यहाँ गंगालाई देखे।

शारीरिक अपांगता देखेका रबललाई गंगाले आफू एसएलसी दिएर खुट्टा राख्न आएको बताएपछि उनी खुशी भए।

उनले अस्पतालमै गंगालाई सोधे– के पढ्ने इच्छा छ? गंगाले सिएमए पढ्ने चाहना भएको रबलाई बताइन्।

चार महिनामा कृत्रिम खुट्टा राखेर उनी तम्घास फर्किइन्। त्यो बेलासम्म एसएलसीको नतिजा प्रकाशित भइसकेर उनी उत्तीर्ण भएकी थिइन्। तत्कालीन प्रमुख जिल्ला अधिकारी शर्माले तम्घास इनस्टिच्युटमा सिएमए अध्ययनका लागि गंगालाई निःशुल्क भर्ना गराइदिए।

अध्ययनका लागि सदरमुकाम बस्दा लाग्ने सबै खर्च भने उनै रबले न्युजिल्याण्डबाट पठाइदिए।

जागिर थालेपछि गंगाको उच्च शिक्षाको यात्रा रोकिएको थियो। जागिरकै बीचमा केही महत्वपूर्ण तालिमहरू पनि लिइन्। संस्थामै पूर्ण समय दिइन्।

उनलाई पढ्ने रहरले छाडेको थिएन। सेवा गर्ने क्रममै उनले कक्षा ११ र १२ तम्घासकै महेन्द्र माविबाट व्यवस्थापन विषयमा उत्कृष्ट अंक ल्याउँदै पास गरिन्।

त्यसपछि अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातक उत्तीर्ण गरिन्। लामो समय अध्ययन छाडे पनि नियमित रुपमा स्नातक तह सकेकी उनलाई अब भने स्नाकोत्तर पढ्ने अन्तिम धोको छ।

डा. तारानाथको जागिर अफर

१५ महिनामा गंगाले सिएमए पास गरिन्। त्योसँगै विभिन्न तालिमहरू पनि गरिरहेकी थिइन्। त्यहीबेला जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. तारानाथ पौडेलले फोन गरेर करारमा जागिर खान आऊ भन्ने गंगालाई अफर गरे।

गंगाले भर्खर पढाई सकाएकी थिइन्। उनले खुशी साथ अस्पतालमा जागिर सुरू गरिन्। न्युजिल्याण्डका रब फेरि २०६३ मा अस्पतालको निरीक्षणका क्रममा गुल्मी आइपुगे। त्यो बेला रबले गंगालाई जागिरे देखेपछि अत्यन्त खुशी भए।

गंगालाई आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने गरी एउटा संस्था सञ्चालन गर्ने चाहना विद्यालय पढ्दादेखि नै थियो।

तम्घास आएका रबले उनलाई फेरि सोधे– अबको तिम्रो इच्छा के छ? गंगाले रबसँग निर्धक्क भएर भनिन्, म जस्तै अपाङ्गता भएकाहरूको क्षेत्रमा काम गर्न चाहन्छु। उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्छु।

आशा अपाङ्ग केन्द्रको स्थापना

त्यसपछि रबले एउटा संस्था खोल्न आग्रह गरे। त्यसका लागि आर्थिक सहयोग आफूले गर्ने प्रतिबद्धता जनाए।

रबले सहयोग गर्ने प्रतिबद्धतापछि गंगाकै पहलमा २०६३ सालमा तम्घासमा सुरू भयो आशा अपाङ्ग केन्द्र, जुन गुल्मीकै पहिलो अपाङ्ग केन्द्र हो।

संस्थाको स्थापना गर्ने क्रममा संस्थामा बसिदिने मान्छेहरू समेत नपाएको उनको अनुभव छ। संस्थाको संस्थापक अध्यक्ष रहेका पत्रकार जर्नाजन घिमिरे अरुले अध्यक्ष बस्न नमानिदिएपछि आफूले नेतृत्व लिएको बताए। अपाङ्गता क्षेत्रको संस्था भएको हुँदा कोही पनि संस्थामा बस्न नचाहने उनको बुझाइ छ।

गंगा जिल्ला अस्पतालको करार जागिर छाडेर २०६३ पछि पूर्णकालीन सेवामा जोडिइन्।

आफू जस्तै अपाङ्गता भएकाहरूलाई पुनर्स्थापना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको आशा अपाङ्ग केन्द्रमा अहिले ६ जना बालबालिका प्रत्यक्ष रुपमा सेवा लिँदै आएका छन्।

केन्द्रमा शारीरिक र मानसिक अपाङ्गता भएकाहरूलाई पुनर्स्थापना गर्ने गरी राखिन्छ। संस्थामा बस्नेहरूको संख्या घटबढ भने भइरहन्छ।

साढे ८ हजार अपाङ्गलाई सेवा

केन्द्रले अहिले जिल्लाभरि नै पुनर्स्थापनाका कार्यक्रम गरिराखेको छ। कान नसुन्नेहरूलाई चेकजाँच गरी श्रवण यन्त्र दिने, हातखुट्टा नभएकाहरूलाई कृत्रिम हातखुट्टा दिने, ह्विल चेयर दिने, फिजियोथेरापी सेवा दिने काम केन्द्रले गर्दै आएको छ। यस्ता सामग्रीहरू संस्थाले काठमाडौंबाट मगाएर आवश्यकता अनुसार वितरण गर्दै आएको गंगाले जानकारी दिइन्।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनको सिप दिने, अपाङ्तामैत्रि भौतिक संरचना बनाउने, गाउँमै पुगेर अपाङ्ता भएका व्यक्तिहरूलाइ लक्षित गरी क्याम्पहरू संचालन गर्ने गरेको छ।

अप्ठ्यारो परिस्थितिमा परिवार र आफन्तको साथ पाए असम्भव केही नहुने उनको अनुभव छ।

अपाङ्गता भनेको असक्षमता होइन, आफू आत्मनिर्भर भएर अरूलाई पनि रोजगारी दिन सक्नुपर्छ भन्ने गंगाको भनाइ छ।

दुर्घटना टार्न सकिँदैन, त्यसलाई सहजरूपमा स्वीकारे मात्र जीवनमा अघि बढ्न सकिन्छ। म पनि सानोमै दुर्घटनामा परेर अपाङ्ग बने। तर, कहिल्यै हिनताबोध गरिनँ। जीवनप्रति गुनासो छैन गर्व छ, उनी खुशीसाथ भन्छिन्।

उनी गुल्मीका अपाङ्गहरूको मुहारमा खुसीको चमक ल्याउन क्रियाशील छिन्। जीवन नै सुख र दुःखको संयोग रहेको गंगाको बुझाइ छ।

गंगाकै पहलमा अहिले तम्घासमै संस्थाको दुईतले भवन समेत बनेको छ, जसका कारण अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापनाका लागि सहज भएको छ।

उनले संस्था स्थापना भएदेखि साढे ८ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा दिएको गंगाले बताउँछिन्।

केन्द्रलाई प्रदेश र स्थानीय सरकारहरूले अहिले सहयोग गरिरहेका छन्।

शुरूआतका वर्षमा गंगालाई केन्द्र सञ्चालनका लागि विदेशबाट सहयोग आउँथ्यो। त्यति मात्र हैन, कृत्रिम हातखुट्टा र अपाङ्गता भएकाहरूलाई आवश्यक पर्ने सेता छडी, ह्विल चेयर पनि सहयोग स्वरूप विदेशबाटै आउँथ्यो, तर अहिले केही कम भएको छ।

गंगाले अहिले स्थानीय तहसँग सहकार्य गरेर पुनः स्थापना कार्यक्रम गरिरहेकी छन्। पूर्ण अपाङ्गता भएकाहरूका लागि अपाङ्गमैत्री संरचना निर्माण गर्ने काम पनि केन्द्रले स्थानीय तहसँग मिलेर गरिरहेको छ। शारीरिक अवस्था कमजोर भए पनि उनी अर्काको कमाइमा आश्रित कहिल्यै भइनन्।

गंगालाई एक दर्जन बढी पुरस्कार

अहिले गंगा दुई कृत्रिम खुटटाको सहायताले सेवामा तल्लीन छन्। २०६३ सालदेखि सेवामा लागेकी गंगाले करीब एक दर्जन भन्दाबढी सम्मान प्राप्त गरेकी छन्।

२० भन्दा बढी देशहरू घुमिसकेकी छन्। उनले अमेरिकाबाट सन् २०१० मा स्ट्रङ लिटरसिप सम्मान पाइन्। महिला तथा बालबालिका गुल्मी, आमा सरास्वती मुभिज, रायमाझी कुलखान परिवार, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतको हातबाट दर्जनभन्दा बढी पुरस्कार पाइन्।

संस्थाका लागि आर्थिक संकलन गर्नदेखि केही साथीको निमन्त्रणमा उनी विश्वका विभिन्न २० देश पुगेकी हुन्। हालसम्म उनी न्युजिल्याण्ड, सिंगापुर, अमेरिका, युके, जर्मनी, इटाली, क्रोएसिया, चेक रिपब्लिक, फ्रान्स लगायतका देशमा पुगेकी छिन्।

भ्रमणबाट थप अध्ययन र प्रेरणा मिलेको छ, त्यही प्रेरणाले अपाङ्गहरूको मुहारमा खुसीको चमक ल्याउन क्रियाशील छु, गंगाले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय