बेलायतमा आजदेखि पुनः लकडाउन

काठमाडौं । कोरोना भाइरस नयाँ स्वरुपमा देखिन थालेपछि बेलायतमा आजबाट पुनः लकडाउन गरिएको छ। बेलायतमा तीव्र गतिमा संक्रमण बढ्न थालेको भन्दै त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका हुन्।

प्रधानमन्त्री जोनसनले सबैलाई घरमै बस्न आग्रह गरेका छन्। त्यहाँका स्कुल कलेज तथा भिढभाड हुने व्यवसाय, जिमखाना तथा गैरव्यवसायिक खेलकुदका गतिविधिहरु बन्द रहने छन्। इमर्जेन्सी सेवा खुला रहने तथा अति आवश्यक कामका लागि भने बाहिर निस्कन पाइने छ।

प्रधानमन्त्री जोनसनले कोरोनाका केसहरु बढिरहेको भन्दै आगामी दिनहरु बेलायतका लागि अझै कष्टपूर्ण हुनसक्ने बताए। उनले फेब्रुअरी मध्यसम्म लकडाउन जारी रहनसक्ने बताए। यसक्रममा कोरोनाको भ्याक्सिन लगाउने कार्य भने जारी रहने उनले बताए।

उनले फेब्रुअरीको मध्यसम्ममा आफूहरुले प्राथमिकतामा राखेका चार समूहका मानिसलाई खोप लगाइसक्ने बताए। जसमा केयर होमका, ७० र सो भन्दा माथि उमेर समूहका, स्वास्थ्यकर्मी तथा शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरु रहेका छन्।

जोनसनले बेलायत कोरोनाविरुद्धको संघर्षको अन्तिम चरणमा प्रवेश गरेको भन्दै अस्पतालहरु महामारी सुरु भएपछिकै सबैभन्दा बढी दबाबमा अहिले परेको बताए। उनले यस संघर्षमा साथ दिन र सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न देशवासीलाई आग्रहसमेत गरे।

गत सोमबार मात्रै बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिहरु एकैदिन संक्रमित भएका छन्। बेलायतमा सोमबार ५८ हजार ७ सय ८४ व्यक्तिमा संक्रमण देखिएको छ भने ४ सय ७ जनाको मृत्यु भएको छ। बेलायतमा पछिल्ला सातदिनयता ५० हजार भन्दा बढी केसहरु देखा परिरहेका छन्।

यसैबीच लकडाउनमा व्यवसायिक खेलहरु भने स्थगित नहुने भएका छन्। प्रधानमन्त्री जाेनसनले त्यस्ता प्रकारका खेलहरु बन्द रंगशालामा आयोजना गर्न सकिने बताएका छन्। यसअर्थमा जारी प्रिमियर लिग भने स्थगित नहुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय