कोरोनाले थलिएका विद्यालय सिसिएमसीको निर्णयपछि खुल्लान्?

विगत ९ महिनादेखि कोरोना जोखिमका कारण विद्यार्थीहरूले स्कुल जान पाएका छैनन्।

नेपालमा कोरोना संक्रमणको प्रकोप बढ्दै गएपछि सरकारले चैत्र ५ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो।

पछिल्लो समय कोरोना संक्रमण दर बिस्तारै घट्न थालेपछि सरकारले विद्यालय पुन: खोल्ने योजना बनाएको छ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी) को बैठकले अध्ययन—अध्यापन गर्न पाउने निर्णय गरेको छ।

सिसिएमसीले शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रसमेत खोल्न पाउने निर्णय गरेको हो।

उक्त निर्णय मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसँगै कार्यान्वयनमा आउने छ।

तर, कोरोना संक्रमण बढ्को खण्डमा तथा आवश्यक परेको खण्डमा बन्द गर्ने अधिकार जिल्ला कोभिड १९ संकट व्यवस्थापन दिएसँगै सबै क्षेत्र खुल्ला गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

‘कोरोना संक्रमणको स्थितिको विश्लेषण गरेर रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई हुनेछ,’ गुरागाईंले भने।

आइतबारको सिसिएमसी बैठकले विद्यालय खोल्न दिने निर्णय गरेता पनि विद्यालय सञ्चालनमा आउन केही समय भने लाग्न सक्नेछ।

हालका लागि विद्यालय खोल्ने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने गुरागाईंले बताए।

स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरेर मात्र विद्यालय सञ्चालन गर्न सकिने उनले बताए।

लामो समयदेखि विद्यालय सञ्चालनमा नआउँदा लाखौं बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन्।

अहिले पनि कोरोना जोखिम पुरै घटिसकेको छैन। कोरोना संक्रमण शुन्य भएको जिल्ला भनेर हुम्लामा विद्यालय खुलेका थिए। तर, पछि विद्यार्थी तथा शिक्षण संस्थामासमेत संक्रमण फैलिएपछि विद्यालय पुन: बन्द गरिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड प्रयोग गरेर मात्रै स्कुल सञ्चालन गर्न सकिने बताए।

‘अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड अपनाएर स्कुल खोल्न सकिन्छ। शुन्य संक्रमित भएको जिल्लामा हुम्लामा विद्यालय संञ्चालन गरेपछि संक्रमण फैलिएको उदाहरण हामी सामुछ,’ डा. गौतमले भने, ‘स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न केही दिन चलाएर हेर्न सकिन्छ।’

डा. गौतमले कोरोना संक्रमणको दर घटे विद्यालय सञ्चालन गर्न सकिने बताए।

‘पछिल्लो दिनमा कोरोनाको संक्रमण संख्या घट्दै गएको छ। अहिले ५ सयभन्दा बढी संक्रिय केस भएको जिल्ला काठमाडौं मात्रै हो। संक्रमण घटेको बेला स्कुल खोल्न नसकिने होइन। तर, विद्यालय सञ्चालनमा फरक तरिका अपनाउनु पर्छ,’ डा. गौतमले भने।

अनिवार्य रूपमा माक्स, सेनिटाइजरको प्रयोग, ज्वरो मापन र दुरी कायम गरी विद्यालय खोल्न सकिने डा. गौतमको भनाई छ।

नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने डा. गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय