‘प्रधानमन्त्रीको गृहनगर भएकाले पनि महामारी नियन्त्रण गर्न सहज भयो’

हेल्थपोस्ट नेपाल

दमक कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित पालिका हो। झापामा १ सय ३१ संक्रमितले ज्यान गुमाउँदा दमकमा मात्रै ३५ ले ज्यान गुमाए।

झापामा पहिलो पटक दमकमै बैशाख ११ मा पहिलो संक्रमण पुष्टि भएको थियो। संक्रमणको चाप थेगेको दमक नगरले महामारी नियन्त्रणका लागिसमेत निकै मेहनत गर्यो।

यसअवधिमै दमकमा नगरपालिकाले ३० बेडको कोरोना अस्पतालसमेत बनायो। स्वास्थ्य फोकल पर्सन कुवेर भट्टराईका अनुसार दमकमा ४ हजार ८ सय १० जनाभन्दा बढीको कोरोना परीक्षण गरिएको तथ्याङ्क छ।

जसमध्ये एक हजार १ सय ७५ जनामा कोरोना पोजेटिभ भेटिएको छ। एक हजार १ सय ९ जना निको भएर घर फर्किएका छन्।

असोज/कात्तिकमा मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको नगरमा अहिले संक्रमण र मृत्युमा कमी आएको छ।

महामारीसँग जुध्न नगरले लिएको रणनीतिलगायतका विषयमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसँग हेल्थपोस्टकर्मी राजेन्द्र गौतमले गरेको कुराकानी:

झापामै कोरोना महामारीबाट बढी प्रभावित दमक नगरले कसरी व्यवस्थापन गर्‍यो?

झापामै पहिलो केस दमकमा देखियो। स्थानीय सरकारको हैसियतले हामी कोरोनालाई नियन्त्रण बाहिर जान नदिन सुरुदेखि नै सर्तकतापूर्वक लाग्यौं। दमकमा एकै दिनमा तीन जनाले समेत ज्यान गुमाएको अवस्था आयो।

संकटमा पनि हामी नहडबढाइ नगरमा क्रियाशील संघसंस्था, राजनीतिक दल, स्वास्थ्यकर्मी र नगरपालिकाको जनशक्ति परिचालित गरेर महामारी नियन्त्रणमा लाग्यौं।

राहत वितरणदेखी क्वारेन्टाइन निर्माण र व्यवस्थापनमा सतर्कतासाथ जुट्यौं। महिला र पुरुषका लागि बेग्लाबेग्लै क्वारेन्टाइन निर्माण गरियो।
आइसोलेसन निर्माण र व्यवस्थापनमा पनि नगरभित्र रहेका सबै स्वास्थ्य संस्थाको जनशक्ति परिचालन गरियो। संकट साझा हो, यसको समाधान पनि सामुहिक रुपमा नै गर्नु र्छ भन्ने मान्यताका साथ काम भयो।

जसले गर्दा महामारी नियन्त्रणमा हामी सफल भयौं। नगरपालिकाले सहज ढंगले निःशुल्क रुपमा र बढीभन्दा बढी कोरोना परीक्षण गरेकै कारण महामारी नियन्त्रणमा लिनसकिएको मेरो बुझाई छ। सूचना पाउनासाथ काम गरेकाले पनि अफ्ठ्यारो परिस्थितिमा पनि अकल्पनीय दुर्घटनाबाट नगरबासीलाई बचाउन सकिएको हो।

आइसोलेसन, क्वारेन्टाइनको व्यवस्थापन, प्रयाप्त परीक्षण एवं कन्ट्याक ट्रेसिङ, एकीकृत सूचना प्रणालीको विकास, स्वास्थ्यकर्मीलाई तालिम तालिमलगायतका रणनीतिबाट महामारी नियन्त्रण गर्न सकियो।

अन्य पालिकाको तुलनामा मृत्युदर बढी हुनुको कारण के जस्तो लाग्छ?

हामी महामारी नियन्त्रणमा अरोरात्र खटिइरहँदा कतिपय मान्छेहरूले छरेको कोरोना केही होइन भन्ने भ्रम चिर्न हामीलाई कम्मेहम्मे पर्यो।

लकडाउन खकुलो भएको बेला मानिसले स्वास्थ्य सावधानी अपनाउन छाडिसकेका थिए। त्यही बेला पिसिआर परीक्षण पनि रोकियो। नगरपालिकासँग उपकरण थिएन। मेची अञ्चल अस्पतालको पिसिआर मेसिन बिँग्रदा झन् समस्या भयो।

स्वाब परीक्षणका लागि धरान, बिराटनगरमा निर्भर रहनु पर्यो। मौसम परिवर्तन पनि त्यही बेला भयो। रुघाखोकी र ज्वरोका बिरामी ह्वात्तै बढे। त्यो पनि नागरिकले समान्य ढंगले लिइदिँदा निमोनियाले धेरैलाई सतायो।

जेष्ठ नागरिकमा ठूलो समस्या देखियो। त्यही बेला मृत्यु हुनेको संख्या एक्कसी वृद्धि भयो। तथापी, हामीले समन्वयत्मक ढंगले काम गरिरह्यौं। स्वास्थ्यकर्मीमा पनि धमाधम संक्रमण पुष्टि हुन थाल्यो।

केही दिन परीक्षण पनि रोकियो। संक्रमित बढे। जेष्ठ नागरिक प्रभावित भएर मृत्यु हुनेको संख्या बढेको हो। त्यसलाई पनि नियन्त्रणमा राख्न सकेकैले ३५ जनामा मृत्युदर कायम राख्न सकिएको हो।

नेपालकै थोरै पालिकामध्ये दमक पर्छ जसले महामारीको व्यवस्थापनका लागि कोभिड अस्पताल नै बनायो, कसरी यो निर्णयमा पुग्नुभयो?

निरन्तर मानवीय क्षति बढ्न थालेपछि आफ्नै स्वामित्वमा कोभिड अस्पताल बनाउने निर्णय नगरपालिकाले गर्यो। दमक अस्पतालको मातहतमा रहने गरी ३० वेडको कोभिड अस्पताल निर्माण गरियो।

त्यसमा चारवटा वेड पूर्ण सुविधा सम्पन्न बनाइयो। सबैमा अक्सिजनको व्यवस्था गरियो। संक्रमितको आवश्यकता हेरेर घरघरमा नै अक्सिजन पनि पुर्याउने व्यवस्था गरियो।

कमल गाउँपालिका, मोरङको उर्लाबारी नगरपालिकासम्मका बिरामीलाई कोभिड अस्पतालमा राखेर उपचार सुरु गरियो। विर्तामोड , बिराटनगरबाट फर्काइएका बिरामीलाई पनि सेवा दिइयो। चिकित्सक र स्वास्थ्यकर्मी सहितको टिम परिचालन गरियो।

स्थापनाको छोटो अवधिमा नगरपालिकाले निर्माण गरेको कोभिड अस्पतालमा ४० जनाको उपचार भयो। अहिले ६ जना उपचाररत हुनुहुन्छ।
गम्भीर र सामान्य दुबै प्रकृतिका बिरामीलाई नगरपालिकाले आवश्यक सेवा सुविधा उपलब्ध गराइ रहेको छ।

अस्पतालले सबै सेवा निःशुल्क दिएको हो। राम्रो र निःशुल्क सेवा भएकाले पनि बाहिर जान नमान्ने बिरामी पनि यहाँ आएर सेवा लिनु भएको छ।

स्थानीय सरकारले यति धेरै काम गरिरहँदा बजेटको व्यवस्थापन कसरी भयो?

नगरपालिकाले १ करोड रुपैयाँ छुट्याएर कोभिड उपचार कोषमा राखियो। संघीय सरकार, प्रदेश सरकारले पनि बजेट दिएको छ।

प्रधानमन्त्रीको गृहनगर भएकाले पनि काम गर्न केही सहज भयो। प्रधानमन्त्रीको सचिवालयले सांसद कोषको पूर्वाधार विकास बजेट अस्पताल सञ्चालन र उपचारमा खर्च गर्न अनुमति दिएकाले पनि बजेट व्यवस्थापनमा सहज भएको हो।

नगरपालिकाले पनि विकास बजेट कटौती गरेरै कोष निर्माण गरेको हो।

अब संक्रमण घटेको छ, कोभिड अस्पताल कहिलेसम्म चल्छ?

कोभिडको जोखिम रहेसम्म त्यो अस्पताल चालु रहन्छ। अस्पताल सञ्चालनका लागि मेरै संयोजकत्वमा समिति बनाएर नगरपालिकाले जिम्मेवारी दिएको छ। समस्या न्यूनीकरण भएपछि त्यो संरचनाको कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्छौ। कोभिड सकियो भनेर अस्पताल बन्द गरिहाल्ने पक्षमा नगरपालिका छैन।

दमक नगरको के त्यस्तो महत्वपूर्ण कामका कारण ठूलो महामारीको उचित व्यवस्थापन गर्न सकिएको हो जस्तो लाग्छ ?

महामारी नियन्त्रणका सन्दर्भमा यति धेरै नागरिकको स्वास्थ्यप्रति जिम्मेवार भएर विभिन्न काम गरेकै कारण नगरपालिकाले आम नागरिकको मन जितेको छ।

यो बीचमा हामीले नगरका १० वटै वडाका होम आइसोलेसनमा बसेका संक्रमितमा कुनै समस्या आएको अवस्थामा घरघरमा अक्सिजन पुर्याउने, खतराका लक्षण देखिए तत्काल तत्काल अस्पताल पुर्याउने र परीक्षणलाई उच्च प्राथमिकता दिएकाले पनि थप संकटबाट जोगिन सकिएको मेरो बुझाई छ।

हामीले अस्पताल निर्माणदेखि १० वटै वडाका स्वास्थ्य केन्द्रका जनशक्तिको एकीकृत परिचालन गर्यौं।

दमकको समस्यासँग जुध्न प्रदेश १ सरकारले १५ लाख, दमक नगरपालिकाले १ करोड, संघीय सरकार र सांसद कोष पूर्वाधार विकास रकम खर्च भएको छ।

कोभिडका लागि छुट्टै अस्पताल बनाएर कात्तिकमा स्थापना गरिएको अस्पतालमा एक जना एमबिबिएस चिकित्सक, एक जना नर्स, एकजना पारामेडिक र आवश्यक स्वास्थ्यकर्मी परिचालन गरियो। अहिले पनि अस्पतालको सेवा २४सैं घण्टा छ। १५/१५ दिनमा डाक्टरको परिवर्तन गरेर सेवा दिइरहेका छौ। यी सबै काम कार्यविधिअनुसार नै भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *