स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको ओम्नीलाई कालोसूचीबाट हटाइयो

कोरोना महामारीका बीच सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै कालोसूचीमा परेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबिसिआई) प्रालिमाथिको प्रतिबन्ध स्थगन गरिएको छ।

एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै कारबाही स्थगन गरेको हो।

स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले २०२० सेप्टेम्बर १४ देखि २०२१ सेप्टेम्बर १३ सम्म कालोसूचीमा राख्ने निर्णय गरेको थियो।

र, यस अवधिभर ओम्नीले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी कार्यालयले दिएको थियो।

तर, एक वर्ष नबित्दै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय स्थगित भएको छ।

सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णयबमोजिम हाललाई कालो सूचीसम्बन्धी कारबाही स्थगन गरिएको कार्यालयले जनाएको छ।

कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि ओम्नीलाई महँगो मूल्यमा सामान ल्याउन सरकारले स्वीकृति दिएको थियो। विशेष परिस्थितिम सोझै खरिद गर्न सक्ने सार्वजनिक खरिद ऐनको व्यवस्था देखाउँदै सरकारले ओम्नीसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको थियो।

प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकालेको थियो।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा.खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता २०७६ चैत २० मा भएको थियो। ओम्नीलाई १ अर्ब २४ करोडको स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का दिइएको थियो।

ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आफ्नो प्रतिवेदन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा समेत पठाएको थियो।

ओम्नी प्रकरणमा मुछिएका तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई लेखा समितिले पुष ४ गते बोलाएको थियो। समिति बैठकमा ढकालले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भए आफू कारबाही भोग्न तयार रहेको बताएका थिए।

प्रतिनिधिसभा विघटन हुनु एक दिनअघि बसेको लेखा समितिको बैठकले ओम्नी प्रकरण छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय