काउन्सिलको सहमतिविनै क्यान्सर अस्पतालमा पोस्ट ग्राजुयट फेलोसिप सुरु गर्ने तयारी

नेपाल मेडिकल काउन्सिलको सहमति र मान्यताविपरीत सरकारी तहकै बिपी कोइराला मेमोरियाल क्यान्सर अस्पतालले ६ महिने पोस्टग्राजुएसन कार्यक्रम सुरु गर्न लागेको छ ।

काउन्सिले एक वर्षको पोस्टग्राजुयट फेलोसिप वा तालिमलाई मात्र मान्यता दिएरु प्रमाणिकरण गर्ने भएपनि सरकारी अस्पतालले नै ६ महिने तालिमका लागि धमाधम प्रक्रिया अगाडि बढाएको छ।

बि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘र्सटिफाइड क्लिनिकल फेलोसिप ट्रेनिङ’का नाममा भर्ना लिएर तालिमसमेत गर्ने अन्तिम तयारीमा छ ।

काउन्सिलको मापदण्डअनुसार मान्यता पाएर दर्ताका लागि एक कम्तिमा वर्षको तालिम हुनुपर्छ ।

अस्पतालले मंसिर १८ गतेदेखि पुस २ गतेको समय दिएर ६ महिने तालिमका लागि दरखास्त आह्वान गरेको थियो । पुस १५ गतेदेखि नै कक्षा सञ्चालन गर्ने अस्पतालले जनाएको छ।

काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले ६ महिना मात्र लिएको तालिमलाई मान्यता नदिने बताएका छन्।

डा. कोइरालाले अस्पतालले डाक्टरहरुलाई तालिम दिँदा काउन्सिलको गाइडलाइन भन्दा फरक पर्नेगरी गर्न नपाइने बताए । उनले समयावधि नपुगेको अवस्थामा काउन्सिलले त्यसलाई मान्यता दिदैन् ।

‘हाम्रो देशमा सबै खाले विशेषज्ञको कमी छ र ज्ञानका लागि डाक्टरहरुले विभिन्न विषयमा तालिम लिएर काम पनि गर्न पाउँछन् तर त्यसको निश्चत रुपमा समयसिमा पुरा गर्नुपर्ने हुन्छ,’ उनले भने।

६ महिने फेलोसिपका लागि स्नातकोत्तर (एमडी, एमएस, एमसिएच, डिएम) उत्तीर्ण भई काउन्सिलबाट विशेषज्ञ दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको हुनुपर्ने शर्त अस्पतालले राखेको छ।

अस्पतालको दावीअनुसार यो तालिम लिएपछि विशेषज्ञले तालिम प्राप्त विषयमा पनि काम गर्न पाउनेछ। तर अस्पतालको दावीअनुसार काम गर्न विशेषज्ञ डिंग्रीलाई काउन्सिलले मान्यता दिएर सोहीअनुसार दर्ता हुनुपर्छ।

तर तालिम लिएको विषयमा काम गर्नका लागि काउन्सिल वा चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गर्नुपर्ने हुन्छ।

अध्यक्ष डा.कोइरालाले कलेजहरुले सर्टिफाइड भनेर विद्यार्थीहरुलाई भ्रममा पारिरहेको बताए।

‘कलेजको मात्र सर्टिफिकेट दिने हो भने कुनै आपत्ति हुँदैन तर काउन्सिलले सर्टिफाइड गर्छ भनेर विद्यिार्थीलाई भ्रममा पार्नुभने हुँदैन,’ उनले भने।

तर अस्पतालले विद्यार्थीहरुलाई आफूसँग भएको ज्ञान बाँड्नका लागि मात्र फेलोसिपको अवधि ६ महिना राखेको बताए।

संचालक समिति अध्यक्ष डा. निर्मल लामिछानेले अस्पतालले सरकारको नियम र कानुनअनुसार नै छोटो समयको तालिम संचालन गर्न लागेकाे दावी गरे ।

‘क्यान्सर अस्पतालले सिकेको कुराहरुलाई सिकाउन तालिमको कार्यक्रम आयोजना गरेको हो,’ डा. लामिछानेले भने।

डा. लामिछानेले काउन्सिलले तीन महिनाको तालिमलाई पनि मान्यता दिइरहेको दावी गरे । ‘काउन्सिलले तीन महिनाको तालिमलाई पनि मान्यता दिइनै रहेको छ,’ उनले भने।

काउन्सिलले र चिकित्सा शिक्षा आयोगले मान्यता नदिने भन्दा भन्दै अस्पतालले विद्यार्थीहरुलाई आन्योलमा पारेको र सरकारको नियम नमानेको अस्पतालका एक चिकित्सकले बताए ।

अस्पतालले एनेस्थेसिओलोजी, ब्रेस्ट अंकोसर्जरी, इएनटी हेड एण्ड नेक अंकोसर्जरी, ग्यास्ट्रोइन्टेस्टिनल अंकोसर्जरी, गाइनो अंकोसर्जरी, मेडिकल अंकोलोजी, अर्थोपेडिक अंकोसर्जरी, पेडियाट्रिक हेमाटो–अंकोसर्जरी, रेडियो डाइग्नोसिस एण्ड इमेजिङ, थोराकिक अंकोसर्जरी र युरो अंकोसर्जरीका तालिम दिने भन्दै सूचना जारी गरेको छ ।

डा. निर्मल लामिछाने
अध्यक्ष, भरतपुर क्यान्सर अस्पताल विकास समिति
नेपाल मेडिकल काउन्सिल हामी सबैको नियमनकारी संस्था हो । क्यान्सर अस्पतालका विभिन्न उदेश्यअनुसार हाम्रो विज्ञता रहेको विषयमा स्वास्थ्य जनशक्तिलाई तालिम दिन सकिन्छ ।

तर, त्यसलाई डिग्रीकै तहमा प्रमाणिकरण गर्ने नेपाल मेडिकल काउन्सिलले नै हो । अस्पतालको बोर्डले विभिन्न विषयमा स्पेसलाइज र सुपरस्पेसलाइज गरेको

चिकित्सकलाई छोटो अवधिकीको तालिम संचालन गर्न सैद्धान्तिक निर्णय गरेको हो । फेरी पनि हामी सिकाइदिन सक्छौ तर, प्रमाणपत्र दिन सक्दैनौ ।त्यसका लागि एनएमसी नै सर्वाधिकार सम्पन्न हो ।

 

 

प्रष्टिकरण -सुरुमा प्रकाशित समाचारमा अध्यक्ष डा. लामिछानेको भनाईलाई राख्दा अष्पट भएको भन्ने गुनासोको आधारमा थप प्रष्ट पार्न केही सामग्री थप गरिएको हो : सम्पादक

 

One thought on “काउन्सिलको सहमतिविनै क्यान्सर अस्पतालमा पोस्ट ग्राजुयट फेलोसिप सुरु गर्ने तयारी

  1. म संग कुनै पनि कुरा नगरि मेरो नाम उद्रित गरेर कपोलकल्पित कुरा मैले “यो भनेको” भनेर लेखिएको कुराको खन्डन गर्दछु।

    निर्मल लामीछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय