कोरोना खोप: स्वास्थ्यकर्मी, जेष्ठ नागरिकपछि शिक्षकलाई प्राथमिकता

सरकारले कोरोना भाइरसविरुद्धको खोपकालागि शिक्षकको विवरण संकलन गर्दैछ।

कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा स्वास्थ्यकर्मीपछि शिक्षकलाई दिइने भएकोले विवरण संकलन थालिएको हो।

कोरोनाविरुद्धको खोप भित्र्याउने योजनासँगै खोप क–कसलाई वितरण गर्ने भनेर छनोट गर्ने क्रममा शिक्षकको विवरण माग गरिएको हो।

स्वास्थ्य सेवा विभागले विवरण माग गर्दै शिक्षा तथा विज्ञान मन्त्रालयलाई पत्राचार गरेको छ।

सबैखाले विद्यालयमा काम गर्ने शिक्षकको विवरण माग गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दिएको छ।

केन्द्रका उपसचिव वसन्तप्रसाद कोइरालाले मन्त्रालयबाट पुस ६ गते शिक्षकको विवरणका लागि पत्र आएको बताए।

उक्त पत्रअनुसार नै केन्द्रले स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई विस्तृत विवरण पठाउन सूचना जारी गरेको छ।

‘हामीले शिक्षकको नाम, फोन नम्बर, पढाउने विद्यालय, पद, नियुक्तिको मिति आदि सबै विवरण पठाउन निर्देशन दिएका छौंं,’ कोइरालाले भने।

पुस ९ गते सबै तहलाई केन्द्रमार्फत सूचना दिइएको थियो भने शिक्षकहरुको विवरण सकेसम्म चाँडो पठाउन पनि निर्देशन गरिएको छ।

‘स्वास्थ्य विभागबाट शिक्षकको विवरणमात्र माग भएको थियो। तर, हामीले विवरण अपडेटका लागि अन्य विवरणको पनि माग गरेका छौं,’ उनले भने।

सबै सामुदायिक, निजी, गुठी र बालविकास केन्द्रमा पढाउने शिक्षक तथा कर्मचारीको विवरण संकलन भइरहेको छ।

देशभर झन्डै २ लाख शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् भने निजी विद्यालयको पनि विवरण संकलन भइरहेको छ।

नेपालको कूल जनसंख्याको ७२ प्रतिशत (२ करोड १६ लाख जनसंख्या) लाई खोप दिन प्राथमिकिकरणको निर्धारण भइसकेको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिड संक्रमणको रोकथाम, उपचार र व्यवस्थापनमा खटिने व्यक्तिलाई दिइने भएको छ।

स्वास्थ्य विभागले निकालेको विवरणअनुसार ती व्यक्ति ९ लाख ११ हजार रहेका छन्।

दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका जेष्ठ नागरिक र दीर्घरोगी गरी ५१ लाखलाई खोप दिइनेछ।

तेस्रो चरणमा ४० देखि ५४ वर्षका नागरिक (२९ लाख) र बाँकी १५ देखि ३५ वर्षसम्मका ४२ प्रतिशत मानिसलाई खोप दिइनेछ।

आकस्मिक अवस्थामा औषधि प्रयोग गर्न आवश्यक पर्ने कानुनी व्यवस्था पनि सरकारले मिलाइसकेको छ।

औषधि ऐन, २०३५ अध्यादेशमार्फत संसोधन भइसकेको छ भने खोप भित्र्याउन ‘प्रविधिक कार्यपत्र’ संसदबाट स्वीकृत भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय