गुरुयोजनाको काम सकिँदा कर्णाली नेपालकै नमूना प्रतिष्ठान बन्छ

हेल्थपोस्ट नेपाल

स्थापनाको झण्डै एक दशक अवधिमा स्वास्थ्य सेवामा कर्णालीका ५ र सुदूर नेपालका ४ जिल्लाको प्रमुख भरोसा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विस्तारै गति लिन थालेको छ ।

पछिल्ला वर्षहरुमा प्रतिष्ठानमा विशेषज्ञ जनशक्तिसँगै अत्याधुनिक उपकरण र सेवा थप भएका छन्।

त्यसमा पनि लामो प्रतिक्षापछि कर्णालीले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह (पिजी) अध्ययन सुरु गर्न अनुमति पाएको छ। छिट्टै एमबिबिएस र स्नातक तहका कार्यक्रम पनि सुरु हुँदैछ।

चिकित्साशिक्षा र स्वास्थ्य सेवा प्रवाहमा कर्णालीमा देखिएको सुधार प्रयास गर्ने समूहका एक सदस्य एवं प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेसँग हेल्थपोस्ट नेपालले गरेको कुराकानी।

कर्णाली प्रदेशकै जनताको स्वास्थ्य सेवाको प्रमुख भरोसा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा र चिकित्साशिक्षामा भएका प्रयासलाई तपाईं कसरी हेर्नुभएको छ ?

व्यक्तिगत रुपमा भन्नुपर्दा म कर्णाली प्रदेशकै नागरिक भएका आधारमा प्रतिष्ठानका सेवा शिक्षालाई नजिकबाटै हेर्दैै आइरहेको थियो । ०६८ सालमै स्थापना भएको प्रतिष्ठान जेनतेन चलेपनि चिकित्साशिक्षा क्षेत्रमा प्रतिष्ठानको विकास र स्वास्थ्य सेवा प्रवाहको दिशामा ठोस प्रयासको अभाव भएको महसुस भइरहेको थियो ।

करिव तीन वर्षअघि नयाँ टीम र विचबिचमा थपिएका नेतृत्वका साझा प्रयासले कर्णालीमा उल्लेखनीय सुधार देखिएको छ । त्यो सुधार चिकित्सा शिक्षा तर्फ र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा पनि देखिन्छ ।

यो अर्थमा कर्णाली प्रतिष्ठान जुल्लावासीको मात्रै नभएर सुदूर नेपालका केही जिल्ला र सिंगो कर्णालीको लागि स्वास्थ्य सेवाको भरोसा र मानव विकासको आशाको रुपमा स्थापित भएको छ ।

स्थापनको ९ वर्षमा एमिबिएस सुरु हुन सकेको छैन्, बल्ल पिजीमा कोटा तोकिएको छ । यसैलाई उपलब्धी भनिहाल्ने बेला भयो र ?

चिकित्सा शिक्षामा डाक्टरी र अन्य विधामा पनि स्नातक र स्नातकोत्तर कार्यक्रम संचालनका लागि निर्धारित मापदण्डमा विशेष क्षेत्रका लागि विशेष नीति नहुँदा उत्पन्न कठिनाई त्यसका लागि बाधक बन्यो ।

खुलेरै भन्नुपर्दा कम जनसंख्या भएको कर्णाली र काठमाडौंका लागि मेडिकल शिक्षण संस्था संचालनका लागि बेडअनुपेन्सीसम्बन्धी मापदण्ड, पूर्वाधारसम्बन्धी मापदण्ड एउटै छ ।

सरकारी अनुदानमा भर पर्नुपर्ने संस्थामा मापदण्डअनुसारका भौतिक, प्राज्ञिक पूर्वाधार बनाएर काम थाल्न त्यो अनुसारको राजनीतिक इच्छाशक्ति पनि कर्णालीले विगतमा पाएन होला ।

संघीयताको अभ्यास पछिल्लो समयमा कर्णाली प्रतिष्ठानले पुर्याएको सेवालगायतका कारणले कर्णालीलाई हेर्ने दृष्टिकोण फेरिएको छ । स्थानीय र केन्द्रीय रुपमा पनि राजनीतिक प्रतिवद्धता बढेको छ । छिट्टै एमबिबिएससहितका कार्यक्रम सुरु हुन्छ ।

एमबिबिएस कार्यक्रम संचालनकै लागि बेड अकुपेन्सी कम भएमा विद्यार्थीको सिकाईमा फरक नपरोस भनेर हामीले वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै सूर्खेत, नेपालगञ्ज र कैलाली अस्पतालसँग विद्यार्थीलाई इन्टर्नसिप गराउनका लागि सम्झौता समेत गरिसकेका छौ ।

ठोस रुपमा अस्पताल र प्रतिष्ठानका सेवामा देखिने सुधार के भएको छ त ?

ठोस रुपमा भन्नुपर्दा अहिले कर्णाली प्रतिष्ठानमा ३०० बेडको अस्पताल पूर्ण रुपमा चलेको छ । सधै ६÷७ जना मात्रै विशेषज्ञ र ७÷८ जना मेडिकल अफिसरको भरमा चलेको प्रतिष्ठानमा अहिले सबै गरेर ७०÷८० जना चिकित्सकक कार्यरत छन् ।

२४ सै घण्टा इर्मजेन्सी, रगतसञ्चार सेवा, प्रयोगशाला, फार्मेसी, सिटी स्क्यानजस्ता महत्वपूर्ण सेवाहरु विस्तार भएका छन् ।

यसअवधिमा अस्पतालमा १० बेडको आइसियू, १४ वटा भेन्टिलेटरसँगै एनआइसियू र पिआइसियुसेवा समेत सुरु भइसकेको छ । केही दिनमै हाइडिपेन्डेन्सी युनिट (एचडियू) बेडसमेत थपिँदैछ ।

अहिले सेवा विस्तारसँगै विगतको तुलनामा बिरामीको फ्लो दोब्बर नै भएको छ । अस्पताल अहिले पूर्ण डिजिटलाइज सिष्टममा गएको छ ।

कर्णालीका ५ जिल्लासहित र बझाङ, बाजुरा, अछाम र जाजरकोटका जिल्ला अस्पतालले दिने सेवासमेत अहिले कर्णाली प्रतिष्ठानकै विशेषज्ञहरुबाट सहयोग भइरहेको छ । यो अर्थमा प्रतिष्ठानको सेवा उपस्थिति सिंगो कर्णाली र सुदूर नेपालमा छ ।

कर्णालीका अन्य जिल्लामा स्वास्थ्य सेवाको समन्वय कसरी मिलाइरहनु भएको छ त ?

अहिले दुर्गम जिल्ला मुगुदेखि कालीकोटको रासकोट, जुम्लाको सिञ्जा, दैलेखको राकममा समेत प्रतिष्ठानबाट खटिएका विशेषज्ञ एमडिजिपी चिकित्सकले सेवा दिइरहेका छन् । प्रतिष्ठानका चिकित्सकहरु रोटेसनमा जिल्ला जिल्लामा पुगेर सेवा दिइरहेका छन् ।

समग्रमा यो प्रदेशका ३८ भिन्न ठाउँमा प्रतिष्ठाका चिकित्सकले सेवा दिइरहेका छन् ।

जारी कोरोना महामारीका समयमा पनि कर्णालीले पुर्याएको सेवा राष्ट्रिय तहमै उल्लेखनीय बन्यो । कुनैबेला एनपिएचएलपछि सबैभन्दा बढी नमूना परीक्षण कर्णाली प्रतिष्ठानमै भयो । गाउँगाउँमा क्वारेन्टाइन बने, र प्रतिष्ठानका चिकित्सक पुगेर सेवा दिए ।

३० हजारभन्दा बढीको नमूनाको पिसिआर परीक्षण भयो । ३ सयभन्दा बढी संक्रमितको प्रतिष्ठानबाट उपचार भयो, कोरोना मृत्यु शुन्य रह्यो ।

एमबिबिएस संचालनका लागि डा. गोविन्द केसी थुपै पटक अनशन बस्दा प्रमुख माग बन्यो, सरकारले सम्झौता पनि गर्यो । किन सुरु हुन सकेको छैन ?

तत्कालिन काउन्सिल र अहिलेको चिकित्साशिक्षा आयोगका मापदण्डलगायतका कारणले ढिला भए होलान् । तर अहिले हामी आयोगसँग पूर्ण समन्वयमा शैक्षिक कार्यक्रमहरुको विस्तारमा लागेका छौ । अहिले पिजीमा बालरोग, एनेस्थेसिया र एममडिजिपीमा पढाउने अनुमति पाएका छौ ।

अहिले अस्पतालका बेड, वेसिक साइन्स भवन, होस्टल, जग्गासहित फ्याकल्टी पनि थपिएका कारण अब छिट्टै एमबिबिएस पढाई सुरु हुनेछ भन्ने विश्वास हामीले राखेका छौ । हाम्रो मुल ध्याय पनि त्यही छ ।

थप स्त्री तथा प्रसुति रोग, अर्थोसर्जरीमा पिजी सुरु गर्ने अनुमतिका लागि सेल्फ अप्रेजल बनाएर पेश गरिसकेका छौ । त्यसैगरी एमबिबिएका लागि पनि सेल्फ अप्रेजल बनाएर आवेदन दिइसकेका छौ ।

प्रतिष्ठान ऐनअनुसार पठनपठान सुरु हुँदा एमबिबिएसमा कर्णालीका ९ जिल्लाका विद्यार्थीलाई चिकित्सा शिक्षामा ४५ प्रतिशत आरक्षण छ । यसले गर्दा कर्णालीका विद्यार्थीहरुले पढ्ने अवसर पाउने मात्रै होइन् पढाईपछि सम्बन्धित जिल्ला र पालिकामै गएर सेवा गर्ने हुँदा यसले समग्र कर्णालीको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमीका खेल्छ ।

प्रतिष्ठानमा भौतिक एवं प्राज्ञिक पूर्वाधार विकासमा के÷कस्तो प्रगति भएको छ ?

३०० बेडको अस्पताल भनिएपछि सो अनुसारको संरचना थिएन । नयाँ टीम आएपछि संरचना पूर्ण भयो । बेसिक साइन्सका लागि निर्माण व्यवसायी संघको भवन भाडामा लिएर सुरु गर्यौं । अस्पतालको आगजनीमा परेको भवन जिल्ला प्रहरी कार्यालय हुँदै सिआइबीबाट अनुमति लिएर लिएर पुर्ननिर्माण सुरु भइसकेको छ ।

थप पूर्वाधार विकासका लागि जमिनको अभाव रहेको अवस्थामा च्यारेचौरमा ३ सय ५० रोपनी जमिन प्राप्त गरेर सो ठाउँमा होस्टल, शिक्षक कक्षकोठा, खेल मैदान, डिपिआर बनाउँने तयारी छ । सो जग्गासम्म जाने सडक र अन्य प्रारम्भिक चरणको निर्माणका लागि अर्थ मन्त्रालयले हालै ६८ करोड ३० लाखको सहमति दिएको छ ।

डक्टरीबाहेकका विषयहरुमा पनि स्नातक तहका पठनपाठन सुरु भइरहेको छ । बिपिएच, एचएच र स्टाफ नर्सको ब्याज्लर तहको पढाई सुरु भइसकेको छ । यी सबै विषयका पाठ्यक्रम बनेर अन्य पूर्वाधार पूरा गर्नु प्रगति हो ।

एमडी सुरु भएका बालरोग, एनेस्थेसिया र एमजिपीसँगै थप गाइनेकोलोजी, अर्थोपेडिक्सको पनि पाठ्क्रम बनाएर चिकित्साशिक्षा आयोगमा पेश गरिसकेका छौ ।
पोषण, फार्मेसी, बिएन कार्यक्रम सुरु गर्नका लागि पनि स्वीकृतिका लागि पेश भएको छ ।

सुरुका दिनमा जुम्लामा फ्याकल्टी पाउनै कठिन थियो । अहिले आवेदन खुलेपछि छानिछानि लिन पाइन्छ ।

प्रतिष्ठानका अहिलेका चुनौती र अवसर के हो त ?
अब बल्ल प्रतिष्ठान ट्याकमा आएको छ । अहिले सुरु भएका र गुरुयोजना अनुसारका पूर्वाधार बन्न कम्तिमा ४ वर्षमा लाग्ला ।

आफ्नै भौतिक पूर्वाधार बन्नासाथ प्रतिष्ठानलाई भाडाको भार छ । भौगोलिक र प्रकृतिक आधारसँगै प्रतिष्ठानले लिएको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको मोडल विश्वमै युनिक बन्छ ।

स्थानीय स्तरमा विकासका धेरै बाटो खुल्छ । एमबिबिएसमा ४५ प्रतिशत स्थानीय विद्यार्थीले प्राथमिकता पाउनु कर्णाली जस्तो विकासमा पछाडि पारिएको क्षेत्रका लागि निकै महत्वपूर्ण हो ।

वाँकी ५५ प्रतिशत सिटमा बाहिरका विद्यार्थी आउँदा कर्णालीको धेरै संभावना थपिन्छ । अहिले प्रमुख रुपमा अस्पतालको सेवा संचालन, होस्टल तथा फ्याकल्टी टिकाउन पनि विद्युतको समस्या बढी छ ।

राष्ट्रिय प्रशारण लाइनमा नजोडिएको कारण पावर व्यवस्थापन चुनौतीपूर्ण छ । सोलारबाट कोठाहरु तताउने विधि सुरु भएको छ । माइक्रोहाइड्राको विजुलीका भरमा मात्रै धेरै काम गर्न कठीन छ ।

अहिले प्रदेश सरकार बनेपछि कर्णाली प्रतिष्ठानको विकासमा थप टेवा पुगेको हो ?

मुलुक संघीयतामा गएसँगै तीनै तहका सरकारको सहयोगले कर्णाली प्रतिष्ठानलाई का मगर्न सहयोग मिलेको छ ।

जनशक्ति जोहो गर्न, पूर्वाधार विकास गर्न हामी सहयोग लिनसक्छौ । तर अहिले चिकित्साशिक्षा आयोग वा काउन्सिलहरुले जुम्लाजस्तो विकट ठाउँमा खोल्ने प्रतिष्ठानका सन्दर्भमा अल्लि सफ्टकर्नर राख्नुपर्ने देखिन्छ।

कुनै संभावना नभएको ठाउँमा यति ठूलो प्रयास भइरहेको छ भने, सरकारी संस्था नै बन्दैछ भनेर राज्यका निकायहरु लचक बनिदिनुपर्छ । विशेषगरी ६० प्रतिशत बेड अकुपेन्सीको मापदण्ड काठमाडौं र कर्णालीलाई एउटा हुन हुदैन।

सुरुमा लचिलो बनेर प्रयास गरिएन भने यस्ता दुर्गम ठाउँमा कसरी संस्था बन्छ।

निजी पनि सुविधायुक्त र बढी जनसंख्या भएको ठाउँमा खोज्ने सरकारी संस्था पनि नबनाउने हो भने कर्णालीको जनताले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा कहिले पाउने ?

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *