संक्रमण कम भएको भन्दै कोभिड उपचार अस्पतालको संख्या घटाइयो

सरकारले कोरोना संक्रमणको दर कम भएको भन्दै  सबै निजी अस्पताललाई कोभिड सूचीबाट हटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै कोभिड १९ विशेष अस्पतालको सूचीबाट सबै निजी अस्पतालाई हटाउने निर्णय गरेको हो।

‘कोरोना महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशका २०७६’ को अनुसुची २ अनुसार कोभिड अस्पतालको सुचिबाट मेडिकल कलेज सबै निजी अस्पताललाई अर्को व्यवस्था नभएसम्म कोभिड अस्पतालको सूचीबाट हटाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आइतबारबाट लागु हुनेगरी सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्था गरिएको डा. गौतमले बताए।

उनका अनुसार निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमा भने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले दिनेछ।

‘निजी अस्पतालमा उपचार गरिराख्नुभएको बिरामीको हकमा भने अबको १० दिनसम्मको उपचार खर्च सरकारले बेर्होने छ,’ डा. गौतमले भने, ‘ आवश्यकता परेको खण्डमा कुनै पनि अस्पताललाई पुन कोभिड अस्पतालमा सूचीकृत गरिनेछ।’

कोरोना संक्रमितको संख्यामा कमि आएको तथा अस्पतालका आइसोलेसन बेडमा बिरामी कम भएको कारण निजि अस्पताललाई कोभिड अस्पतालको सुचीबाट हटाइएको डा. गौतमले बताए।

‘अहिले बिरामीको लागि बेड, आइसियु,भेन्टिलेटरको अभाव छैन,’ डा. गौतमले भने, ‘अब सरकारी अस्पताल र प्रयोगशाला मात्रै उपचार र परीक्षण हुन्छ।’

५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोभिडको निःशुल्क उपचार र परीक्षण हुँदै आएको थियो । निजी स्वास्थ्य निकायमध्ये ८ वटा मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन ।

आइतबार देशभरसम्म २ सय ३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा गरी कुल २ सय ८८ जना सघन उपचारमा छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय