कोरोनाको मारमा क्यान्सर विरामी : पछि स्थिति भयावह हुनसक्छ

गत चैत ११देखि भएको लकडाउनका बेला बन्द भएका व्यापार व्यवसाय जस्तै स्वास्थ सेवामा पनि इर्मजेन्सी र कोरोनाको उपचार बाहेक सबै बन्द भए।

अस्पतालमा बाक्लै भीड देखिने विरामीको संख्या निकै पातलिँदै गयो। अनेक रोगका विरामीजस्तै क्यान्सरको जाँच गराउने विरामीको संख्या पनि घटेको छ।

क्यान्सर अस्पतालमा पहिलो पटक जाँच गराउन आउने र स्वास्थ्यकर्मीहरु नै विज्ञ टोली लिएर गाउँ गाउँमा स्क्रिनिङ गर्न जाने कार्यक्रमहरु पूरै बन्द भए।

कोरोना सर्छ कि भनेर पनि विरामी र स्वास्थ्यकर्मी न त क्यान्सरको स्क्रीनिङ गर्न अस्पताल धाए न त गाउँतिर नै कार्यक्रम पु¥याए।

शरीरका कुनै पनि कोशिकाको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो।

जुन अंगमा वृद्धि हुन्छ यसले असर गर्छ। यो एउटा अंगबाट अर्कोमा पनि सर्छ। अनियन्त्रित रुपमा वृद्धि भएका कोशिकालाई समयमै उपचार गर्न सकिएन भने मृत्युको कारण बन्नसक्छ।

क्यान्सर विषेशज्ञका अनुसार समयमै जाँच गराउन सकियो भने क्यान्सर सुरुको अवस्थामै पत्ता लगाउन सकिन्छ र त्यसलाई निको पनि बनाउन सकिन्छ।

तर कोरोनाका कारण देशभर क्यान्सरको जाँच गराउनेको दर घटेको छ।

७० देखि ८० प्रतिशतले क्यान्सर स्क्रीनिङन गर्न आउने कम भएको अन्कोलोजिस्ट डा. प्रकाशराज न्यौपानेले बताए।

उनका अनुसार अस्पतालमा पहिले विभिन्न समूहबाट क्यान्सरको परीक्षण गर्न आउँथे।

त्यस्तै व्यक्तिगत रुपमा पनि जाँच गर्न आइरहन्थे भने अस्पतालहरुबाटा टोली बनाएर विभिन्न स्थानहरुमा परीक्षण भइरहन्थ्यो। तर अहिले एकदमै कम भएको छ।

उनका अनुसार यदि मानिस ढिला गरेर उपचारमा आए भने क्यान्सरका विरामीहरुको संख्या धेरै हुने र बचाउन कठीन हुन्छ।

‘६ महिनासम्म अस्पतालमा आउन रोकिएको छ, यसले नतिजाः दुई वर्षसम्म असर गर्नसक्छ। तर कोरोनाको अवस्था यथावत रहिरह्यो र अझै उपचारमा ढिला भयो भने लामो समयसम्म प्रभाव पर्नेछ,’ उनले भने।

क्यान्सर स्क्रीनिङ ढिला हुनु भनेको एकदमै खतरनाक ठहरिने उनी बताउँछन्।

क्यान्सर रोग जति छिटो थाहा भयो त्यति छिटो उपचार गरेर निको बनाउन सकिन्छ। जति ढिलो भयो, बिरामीमा ज्यान जाने खतरा बढ्दैजान्छ।

हाल क्यान्सर पत्ता लागेका मानिसले उपचार पाएका छैनन्। ढिला भयो भने त्यसको असर पछिसम्मै बढ्दै जान्छ।

सुरुमै स्क्रीनिङ गरेर पत्ता लाग्ने क्यान्सर पनि ढिलो हुँदै गएमा उपचारमा समस्या पर्नसक्छ भने, कति विरामीहरुको क्यान्सर फेरि बल्झेर आउन सक्छ।

यी सबै समस्याहरु उपचार ढिलो हँदै गए गम्भीर समस्या उत्पन्न हुन सक्ने उनी बताउँछन्।

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर परीक्षणकै लागि ४ हजार ५ सय मानिस आउने गरेकोमा हाल घटेर २ हजार मानिसहरु मात्र उपचारका लागि आएको न्यौपानेले बताए।

पहिलोपटक परीक्षण गर्न आउनेको संख्या ६३ प्रतिशतले घटेको छ भने निको हुनसक्ने संख्या १० प्रतिशतले घट्ने उनको अनुमाने छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले २०१८ मा गरेको अनुसन्धानमा देशभरि २६ सय १२ नयाँ क्यान्सरका विरामी भेटिएका थिए। त्यस वर्षमा नयाँ र पुराना गरी ५ हजार ६० जना विरामी थिए।

२०१८ मा काठमाडांै उपत्यकामा मात्र ७ सय २ जना क्यान्सरका नयाँ विरामी थपिएका थिए। त्यस्तै २ सय ५६ सिराहा, सप्तरी धनुषा, महोत्तरी र २३ जना पूर्वी र पश्चिम रुकुमबाट थपिएका थिए।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा क्यान्सरका कारण २०१४सम्ममा ६ हजार ९ सय पुरुष र ७ हजार ४ सय महिलाको मृत्यु भएको पाइएको छ।

महिलाहरुमा धेरै जसो पाठेघरको क्यान्सर, फोक्सो, स्तन, पेटको क्यान्सर धेरै हुने गरेको छ भने पुरुषहरुमा फोक्सो, मुख, पेट, लुकिमियाको क्यान्सर धेरै हुने गरेको छ।

हाल कोरोना संक्रमण हुने डरले कुनै पनि अस्पताल र स्वास्थ्यकर्मी क्यान्सर परीक्षण गर्न विभिन्न जिल्ला गएका छैनन्।

अब ढिलो नगरी समयमै क्यान्सर परीक्षण गर्न सुझाउँछन् डा.न्यौपाने।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय