भारतमा बनिरहेको कोरोनाविरुद्धको खोपमा नेपालको नजर

भारतमा कोरोना भाइरस कोरोनाविरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पुगेको छ। खोपको उत्पादन पनि तीव्र गतिमा भइरहेको छ।

भारत सरकारले भनेको छ- एक महिनामा खोप लगाउन सुरु गरिनेछ।

यो अवस्थामा नेपालले पनि खोपको आवश्यकता पूरा गर्न पहल सुरु गरेको छ। र, भारतमा बनिरहेको खोपमा नेपालले रुची देखाएको छ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खोपको विषयमा भारतमा खोप निर्माता र सरकारी अधिकारीसँग दिल्लीमा छलफल गरेको बताएका छन्।

पश्चिमी मुलुकमा खोप लगाउन सुरु भएपछि नेपालमा पनि चर्चा छ- खोपको आपूर्ति  कसरी गरिन्छ।

राजदूत आचार्यले भारतमा खोप निर्माता सिरम इन्स्टिट्यूटका एक वरिष्ठ अधिकारी प्रकाश सिंह र भारतका नीति आयोगका प्रमुख अभिताभ कान्तसँग कुराकानी गरेका हुन्।

सिरम इन्स्टिट्यूट कम्पनी एस्ट्राजेनेसँग मिलेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ। यो खोप ७० देखि ९० प्रतिशतसम्म प्रभावी रहेको बताइएको छ।

आचार्यले भने, ‘सिरम इन्स्टिट्यूटको क्षमता धेरै छ, यसले नेपालको आवश्यकतालाई पनि पूरा गर्न सक्छ। हामी यो विषयलाई सिरम इन्स्टिट्यूटसँग कुरा गरिरहेका छाैं। कुराकानी सकारात्मक रुपमा अगाडि बढेको छ।’

अघिल्लो महिना नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव हर्ष श्रृंगलाले खोपका लागि भारतले नेपाललाई प्राथमिकता दिने बताएका थिए।

आचार्यका अनुसार अभिताभ कान्तले पनि खोपमा नेपाललाई प्राथमिकता दिने बताएका छन्।

नेपालले सुरूमा आफ्ना २० प्रतिशतलाई खोप दिने कोशिश गर्नेछ। यो पनि दुई चरणमा हुनेछ। पहिलो चरणमा तीन प्रतिशत र दोस्रो चरणमा १७ प्रतिशत नागरिकले खोप पाउनेछन्।

आचार्यका अनुसार यसको मतलब लगभग ६० लाखलाई १ करोड २० लाख खोप आवश्यक पर्छ। ‘हामीलाई  विश्वास छ नेपालको प्रारम्भिक आवश्यकतालाई भारत पूरा गर्नेछ,’ उनले भने।

भारतको खोप नेपालका लागि उपयोगी किन?
विशेषज्ञका अनुसार भारत वा छिमेकी मुलुकमा बनेको खोप नेपालका लागि फाइदाजनक हुनेछ। विशेषगरी भारतमा बनिरहेको खोप। किनकि यो खोप सस्तो र आपूर्तिका लागि सहज हुनेछ।

जानकार डा समीरमणि दीक्षितका अनुसार नेपालले खोपका लागि धेरै टाढा जानुपर्ने छैन। ‘अक्सफोर्ड युनिभर्सिटी-एस्ट्रेजेनेको खोप निर्माण भारतमा सिरम इन्स्टिट्यूटमा भइरहेको छ। दुई डाेजको लागत करीब १ हजार ५ सय भारतीय रुपैयाँ हुनेछ।’

उनका अनुसार खोप सस्तो र सामान्य कोल्ड चेनको प्रयोगबाट पनि उपयोग गर्नेगरी सुरक्षित राख्न सकिनेछ। दीक्षितका अनुसार चीनमा उत्पादन हुने खोप पनि नेपालका लागि फाइदाजनक हुनेछ।

सिरम इन्स्टिट्युटले भारतमा उत्पादन गरिरहेकाे एस्ट्रेजेनेकाे ‘कोभशिल्ड’ खोप अन्तिम परीक्षणको चरणमा छ। यसको ‘आपतकालीन उपयोग’ का लागि भारत सरकारसँग अनुमति माग गरिएको छ।

हैदराबादस्थित यो कम्पनी भारत बायोटेक भारतीय चिकित्सा अनुसन्धान परिसँगको सहकार्यमा ‘कोभ्याक्सिन’ नामको खोप पनि बनाइरहेको छ। जो क्लिनिकल ट्रायलको तेस्रो चरणमा छ। यसको पनि ‘आपतकालीन उपयोग’ का लागि अनुमति माग गरिएको छ।

तेस्रो चरणमा क्याडिल्याक हेल्थकेयरको जायकोभ-डी खोप र रूसी खोप स्पुतनिक-फाइभको परीक्षण पनि जारी छ।– बिबिसी हिन्दीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय