हरेक समस्यामै अवसर देख्नुपर्छ, नतिजा उत्कृष्ट हुन्छ

विराटनगरको कोशी अस्पतालका मेडिकल सुपरेरिन्टेन्डेन्ट भएर डा. संगीता मिश्राले गरेको कामको धेरै प्रशंसा पायो।

कोरोना महामारीको कुशल व्यवस्थापनमा उनको कामले राष्ट्रिय चर्चा पायो।

त्यहीबीच उनलाई केन्द्रीय अस्पताल परोपकार प्रसुती तथा स्त्रीरोगको नेतृत्व गर्ने अवसर मिल्यो।

यस अवधिमा मिश्राले अस्पतालको सेवा विस्तार, व्यवस्थापन र सेवा प्रवाहमा उत्तिकै कुशलता देखाइन्।

सार्वजनिक स्वास्थ्य संस्था सुधारका सन्दर्भमा डा. मिश्राले देखेका अवसर र चुनौतिलगायत विषयमा हेल्थपोष्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :

नेपालमा कोरोनाको पहिलो ‘हटस्पट’ व्यवस्थापनदेखि प्रमुख प्रसुती अस्पताल व्यवस्थापनको अनुभव कस्तो छ?

महामारी सुरुवातमा व्यवस्थापन निकै जटिल थियो। सेवाग्राहीमात्रै होइन, सेवा प्रदायकमा पनि ठूलो त्रास र अन्योल थियो।

अहिले कोरोना सामान्य नै भइसकेको छ। अब हामीले कोभिड बिरामीसँगै नन–कोभिडलाई पनि सामान्य अवस्थामै उपचार सेवा दिइरहेका छौं। अहिले विस्तारै अस्पतालको सेवा सामान्यउन्मुख छ।

प्रसुतीसम्बन्धी केन्द्रीय अस्पतालको नेतृत्व सम्हाल्नुभएको सात महिना भयो। यस अवधिमा अस्पतालका नियमित कामले नै व्यस्त बनायो कि, केही नयाँ पनि सुरुवात गर्न पाउनुभयो?

असारदेखि परोपकारको नेतृत्व गर्दा महामारी चर्किंदै थियो, तर अस्पतालमा पिसिआर ल्याब थिएन। त्यतिबेला अस्पतालमा आएका महिलाहरूको स्वाब संकलन गरेर अन्य ठाउँमा पठाउनुपर्ने अवस्था थियो। जुन समयमा अन्य प्रयोगशालामा अत्यधिक भीडभाडले रिपोर्ट कुनुपर्ने थियो। त्यसकारण सबैभन्दा पहिला पिसिआर ल्याब सञ्चालन गर्यौं।

असार अन्तिम सातादेखि नै पिसिआर हुन थाल्यो। त्यसपछि प्रसुती गृहमा आइसोलेसन विस्तार गरेँ। प्रसुतीमा पहिला कोभिड बिरामीको उपचार गरिरहेका त थियौं। तर, पर्याप्त थिएन।

नेपाल सरकारको निर्देशनबमोजिम र सहयोगमा दुई सय बेडको आइसोलेसन बेड सञ्चालन भयो।

जुन कोभिड बिरामी लक्षित गरेर कुपनडोलमा रहेको नयाँ भवनमा हो। त्यसबाहेक कोभिड पोजेटिभ महिलाको सम्पुर्ण डेलिभरीको व्यवस्था गरेर छुट्टै डेलिभरीको शल्यकक्ष स्थापना भयो।

ओपिडी सेवा त झन सुरुवातमै व्यवस्थित गरिएको थियो। नियमित स्त्रीरोगसम्बन्धी शल्यक्रिया कोभिडका कारण बिचमा रोकिएको थियो। तर, अहिल पुन सञ्चालनमा ल्याएका छौं।

ठूलो उपलब्धी अस्पतालको सेवा विस्तार हुनु हो। महिला स्वास्थ्य सेवा हामी अस्पतालमा मात्रै बसेर सेवा दिइरहेका थियौं। काठमाडौंको कागेश्वरी र चन्द्रागिरी नगरपालिकासँग सम्झौता गरेर सेटलाइट क्लिनिक सुरुवात गर्यौं।

अस्पतालका विशेषज्ञ चिकित्सक महिनाको दुई पटक त्यहाँ गएर सेवा दिनुहुन्छ।

यसले गर्दा उताको बिरामी यातायतको असुविधा दुःख भइरहने, तथा अस्पतालमा भीडभाड कम गर्न केही हदसम्म मद्दत मिल्छ।

बिस्तारै ती पालिकामा शल्यक्रिया सहितको सुविधा दिनलाई पनि तयार गरिहेका छौं।

यसबाहेक धादिङ जिल्ला अस्पतालसँग सम्झौता गरेका छौं। त्यहाँ पनि प्रसुतीको सेवा त उपलब्ध गरेको छ। तर, स्त्री रोग समन्धी सेवा पाठेघरको शल्यक्रिया, आन्द्रा खसेको शल्यक्रिया जस्ता सेवा धादिङ अस्पतालमा छैन। अब धादिङमा सम्पुर्ण विशेषज्ञ टिम गएर यही महिनादेखि शल्यक्रियाको सेवा सुचारू गर्छ।

सेटलाइट क्लिनिकका लागि यी दुई नगर र धादिङ अस्पताल किन छानेको ? अझै दुर्गमका ठाउँमा गर्न पाएको भए, प्रभावकारी हुन्थ्यो कि?

ती पालिका त्यसै छानिएको होइन्। मेरै अनुभवमा पनि प्रसूति गृहमा आउने मध्ये धेरै बिरामी कागेश्वरी र चन्द्रागिरीको भएका पाएँ।

अस्पतालको रेकर्ड र अनुभवका आधारमा नै हामीले यी ठाउँमा सेटलाइट क्लिनिक सुरुवात गरेका हौ।

सक्यौं भने, सबै प्रदेशमा प्रसूति गृहको एउटा÷एउटा शाखा बनाएर प्रदेश तहका अस्पतालको प्रसूति सेवालाई सवलीकरण गर्न सके धेरै प्रभावकारी हुन्छ।

कोसी अञ्चल अस्पतालमा यहाँले गरेको कामले निकै प्रशंसा पनि पायो, महामारीको बिचमा भएको सरुवा आशातीत कि, अप्रत्याशित थियो?

म पहिला विराटनगर रोजेर नै गएको थिएँ। लोकसेवा पास गरेपछि मसँग अन्य विकल्प पनि थियो। प्रसूति अस्पतालमा आएर काम गर्न पनि सक्थेँ।

एकपटक बाहिर गएर काम गर्ने इच्छा थियो। सुरूदेखि विराटनगरमा काम गरेको हुनाले त्यहाँ केहि न केहि गरौं भन्ने सोचअनुसार नै बिराटनगर रोजेर नै गएको हुँ।

त्यहाँ रहँदा बिराटनगरमा प्रसूतिको छुट्टै भवन सफल पनि भयौं। काठमाडौं आउन अप्रत्यशित पटक्कै थिएन। आउने पर्ने थियो। मलाई लाग्छ एकदमै सही समयमा नै बिराटनगरमा काठमाडौं आएको हुँ।

सवल नेतृत्वले समस्या तथा चूनौतिलाई पनि अवसरमा प्रमाणित गर्छ ? यहाँ कस्तो अवसर पनि देख्नु भएको छ?

महामारीको बिचमा सबैभन्दा ठूलो र केन्द्रीय प्रसुति अस्पतालमा सो सेवालाई निरन्तरता दिनु नै महत्वपूर्ण थियो।

जुन हामीले एकदमै सहज रूपले व्यवस्थापन गरौं। हालसम्म पनि नन–कोभिड तथा कोभिड संक्रमित महिलाको उपचार र प्रसूति सेवा सहज रुपमा चलिरहेको छ।

सबैभन्दा मुख्य चुनौति अस्पतालमा आउने सेवाग्राहीको भीड व्यवस्थापनमा रहेको छ। यहाँ बिरामीको चाप अत्याधिक छ। सेवाग्राहीको चापलाई अहिलेको हाम्रो भौतिक तथा अन्य संरचनाले धान्नसक्ने अवस्था छैन्।

प्रसूती गृहका कुपनडोलमा बनेको नयाँ भवन सञ्चालनमा आएसँगै केही सहज हुन्छ। भवन पूर्वाधारसँगै अस्पतालमा जनशक्ति पनि प्रयाप्त छैन्।

कोभिड संक्रमित महिला र नन–कोभिडसमेत उपचार सीमित जनशक्तिबाट गर्नुपर्दा अप्ठ्यारो भएको छ। अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिसम्बन्धी सर्वेक्षण (ओएनएम) गरेर मन्त्रालयमा बुझाएका छौं। मन्त्रालयबाट परिपुर्ति गर्नमा पहल पनि भएको छ। विश्वास छ, अस्पतालमा रहेको जनशक्तिको कमी व्यवस्थापन हुन्छ।

अस्पताल सुधारका सन्दर्भमा स्वास्थ्य मन्त्रालयबाट एकदमै सहयोग पाइरहेका छौं। अस्पतालमा एचडियू बनिरहेको छ। एचडियूका लाग आवश्यक जनशक्तिका लागि पनि मन्त्रालयसँग कुरा भइरहेको छ।

अहिले भएका समस्या मेरो लागि अवसर नै हो।

अहिले एचडियू थपिएपछि संभवत अस्पतालले आइसियूको अभावमा बिरामीलाई रेफर गर्नुपर्ने अवस्था पनि कम हुन्छ।

अहिले स्थानीय तहसँग काम गर्न सुरू गरेका छौं। त्यसको अन्तर्गत भैसेपाटीमा ओपिडी क्लिनिक छ। जहाँ छुट्टै ललितपुर जिल्लाको परिवार नियोजन सेन्टरेको रूपमा विकास गर्ने योजना छ।

छोटो समयमै कामको चर्चा हुनुमा क्षमता, अभूभव वा शैक्षिक योग्यता के प्रमुख हो जस्तो लाग्छ ?

यी कुरासँगै काम गर्ने तत्परता पनि भयो भने नतिजा दिन सकिन्छ। अझै महत्वपूर्ण कुरा योग्यता नै हो।

मैले गाइनेमा एमडी गरेको छु। काममा पनि धेरै महत्वपूर्ण जिम्मेवारी पाएँ र अनुभव बटुल्न पाएँ।

सुरुमा मैले धरानमा काम गरेँ। धरानपछि कोशी अञ्चल अस्पतालमा काम गरें। यो सबै ठाउँको समस्या हेर्दा र शैक्षिक योग्यता समवन्य गरेर सक्षम भएजस्तो लाग्छ।

मेरो जन्म भारतमा भएको हो। प्रारम्भिक शिक्षा पनि त्यहीँबाट नै भयो। एमबीबीएस राजेन्द्र मेडिकल कलेज गरेँ।

एमबिबिएसेपछि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वर्ष काम गरेँ। त्यहाँ मेडिकल अधिकृतको रूपमा काम गरेँ।

यहीबीचमा सरकारी सेवामा प्रवेश गरेको हुँ। सरकारी सेवा प्रवेशपछि एकवर्ष कान्ति बाल अस्पतालमा काम गरेपछि एमडीका लागि छनोट भयो।

गाइनेमै एमडी गर्ने रुची पनि थियो। मैले त्यो अवसर बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाएँ।

त्यसपछि पहिलो सरकारी जागिरबाट राजिनामा गरेर धरान पढ्न गएँ। धरानमा तीन वर्षको एमडी सकेपछि त्यही काम सुरु गरेँ।

लगतै अमेरिकामा छात्रवृतिमा जनस्वास्थ्य पढ्न आवेदन दिएँ। पहिलो पटककै आवेदनमा मेरो छनोट भयो। अमेरिकाबाट जनस्वास्थ्य विषयमा मास्टर पनि गरेँ। नेपालमा काम गर्ने मन भएरै म फर्किएँ।

नेपाल फर्किसकेपछि पहिलो अवसर कोसी अस्पताल विकास समितिले दियो। त्यहीबीचमा लोकसेवा खुल्लाबाट ११ औं तहमा नाम निस्कियो।

दोस्रो पटक सरकारी सेवामा नाम निकालें। त्यसपछिको पोष्टिङ विराटनगर रोजेर गएको हुँ। विराटनगरमा ७ वर्ष काम गरेपछि अहिले प्रसूति गृहमा सरुवा भएको हो।

अहिले नै पनि भन्नुभयो तपाईलाई स्त्री तथा प्रसूति विषयमै एमडी गर्ने मन थियो। त्यसको केही कारण छ ?

हो, मलाई सुरूदेखि नै स्त्री विषय पढ्न एकदमै इच्छा थियो। यसमा दुई वटा कारण थियो। पहिलो कुरा समाज महिलाको स्थिति। महिला स्वास्थ्यमा मानिसहरुको कहिल्यै ध्यान गएन।

म हुर्किदा पनि महिलाको स्वास्थ्य सबैभन्दा पछाडी पारेको देख्थेँ।

दोस्रो कारण एमबिबिएस गर्दा सर्भाइरल क्यान्सरको धेरै केश हेरेको थिएँ। त्यति बेला आफैलाई पींडा हुन्थ्यो।

रोक्न सकिने क्यान्सरले महिलाको ज्यान गइरहेको देख्दा मन दुःखी हुन्थ्यो।

मलाइलाई समाजले पछाडी पारेको छ जस्तो लाग्थ्यो। प्रसूति हुन पनि महिलाहरू धेरै ढिला गरेर र जटिलता आएपछि मात्रै अस्पताल आइपुग्थे। त्यही भएरै स्त्री तथा प्रसुती रोग क्षेत्र मलाई काम गर्न उपयुक्त हुनेछ जस्तो लाग्थ्यो।

प्रसूति गृहको निर्देशक बनिरहँदा कोरोनाका कारण धेरै अस्पतालहरु बिरामी रेफर गरिरहेका थिए। तपाईले सुरुमै अस्पताल आउने कुनै पनि बिरामी फकिनु पर्दैन भन्नुभएको थियो।, पूरा भयो त ?

धेरै ठाउँ र अवस्थामा महिला स्वास्थ्य संस्था आइपुग्दा पनि ढिलो नै हुन्छ। कुनै स्वास्थ्य संस्थमा पुगेका महिलालाई फेरी पनि रेफर गर्ने हो भने, अवस्था थप जटिल बन्छ।

नेशनल हेल्थ सर्वेक्षणले पनि बिरामीको मृत्यु एक अस्पतालबाट अर्को अस्पतालमा जाँदा हुने गर्छ। अथवा थप सिकिस्त हुने अवस्था आउँछ।

त्यहि भएर अस्पतालमा क्षमताअनुसार बिरामीलाई सेवा दिन्छौ। म आउने बित्तिकै छलफल भएको थियो। जसमा अस्पतालको सबै चिकित्सकले साथ—सहयोग गर्नुभयो।

हामीले सकेसम्म बिरामीलाई फर्काउन परेको छैन्।

कुनै पनि महिलालाई रिफर गर्नुपर्ने अवस्था आउँदा सम्बन्धित चिकित्सकले प्रर्याप्त कारण दिनुपर्छ। र त्यसको जानकारी निर्देशकलाई हुनुपर्छ।

रिफर गरेका बिरामीको सूची सबै अडिट लिष्टमा राखेका छौं।

सबै हिसाबले सबल हुँदाहुँदै पनि महिला हुनुले काम गर्न केही असहज अवस्था भोग्नुपरेको छ ?

मलाई लाग्दैन। महिला भएर नेतृत्व लिनमा कुनै असहज छ। काम गर्ने चाहाना, मेहनत र क्षमता भएपछि केही कुराले फरक पार्दैन।
मलाई कहिल्यै पनि यो काम गर्न सक्दिन कि भन्ने महासुस नै भएन।

व्यक्तिगत रुपमा फरक नभएपनि हाम्रो सामाजिक दृष्टिकोणबाट हेर्दा एउटा महिलालाई नेतृत्व दिनको लागि समाज परिपक्व भएको छैन।

तथापी, विगतको १० वर्षमा धेरै परिवर्तन भएको छ। म आफैलाई भाग्यमानी ठान्छु। कोसी अस्पतालमा पनि मेरो टीम एकदमै राम्रो थियो। प्रसुतिमा आउँदा पनि मलाई खासै समस्या भएन। धेरै नै सहयोग पाएको छु।

अघि भनिसक्नु भयो स्वास्थ्यका आधारमा पनि महिला झन् जोखिममा छन, अहिले महामारी कारण महिला स्वास्थ्यमा अझै नयाँ चुनौती थपिएको छ ?

कोभिडले गर्दा मुलतः दुई—तीन कुरामा समस्या भएको छ। पहिलो महिलाहरू समयमा अस्पताल आएका छैनन।

लकडाउनमा हामीले धेरै हिड्न हुँदैन। तर त्यही नाममा स्वास्थ्यमा अन्य जटिलता आइसक्दा पनि घरमा बसेर त भएन नि ! महिला वर्गले त्यसलाई राम्रोसँग बुझ्नु भएन कि, जस्तो पनि लाग्छ।

उपचारका लागि अस्पतालसम्म झन् ढिलो आउने अवस्था अहिले देखिरहेको छु। गर्भवतिहरुले आफ्नो नियमित जाँच छुटाउनु भएको छ।

कोभिडले गर्दा महिला स्वास्थ्यमा जटिलता बढेको रहेछ। जुन नियमित स्वास्थ्य संस्थालाई रेफरल भएर आउनुपर्ने थियो। त्यस्ता महिला ढिला अस्पताल आइपुग्दा स्वास्थ्यमा विभिन्न प्रकार जटिलता देखिएको छ।

महिलाहरू अन्य सेवा लिन ढिला नै आउनुभएको छ। त्यसमा पनि सुरक्षित गर्भपतनको तथ्यांक हेर्ने हो भने एकदमै कम रहेका छन्।

विगतका वर्षको तथ्यांक हेर्दा अहिले एकदमै कम भएको पाइएको छ।

मलाई कहाँ न कहाँ आशंका के हुन्छ भने उहाँले काहीँ असुरक्षित गर्भपतनको बाटो त रोज्नुभएको छैन?

बिचमा सेवा दिँदा अस्पताल आएका बिरामीमा अस्पतालमा हुने संक्रमणबाट जोगाउने प्रयास भइरहेका होलान् नि!

अहिले हामीले अस्पतालमा आउने सबै सेवाग्राहीलाई विभिन्न माध्यामबाट सबैभन्दा पहिला त जनस्वास्थ्यको मापदण्डको जानकारी दिन्छौ। त्यसअनुसार नै भीड व्यवस्थापन गर्ने कोसिस गरेका छौं। हात धुने, अनिवार्य रूपमा मास्कको प्रयोग र सेनिटाइजरको प्रयोग गराएका छौं।

त्यसैगरी अस्पतालमा कुरुवा पनि सकेसम्म कम जना बस्ने विधि बनाएका छौ। तथापी, यी कुरामा अझै जनचेतना कमी देख्छु। पूर्णरूपले भीडनियन्त्रण गर्ने एकदमै गाहो भएको छ।

अहिले पनि दैनिक रूपमा अस्पतालमा ओपिडिमा ५ देखि ७ सयसम्म महिला आउने गरेका छन्। यहाँ सिमित ठाउँ छ।

जनशक्तिको साथै चिकित्सकको समय पनि सीमित नै रहेको छ। अझै पनि भीडभाड जति राम्रो हुनुपर्थ्यो त्यति भइरहेको छैन्।

तर, पनि हामी एकदमै कोसिस गरिरहेका छौ।

कोरोना महामारीको जोखिम र जटिलता गर्भवती महिलामा कस्तो परेको छ ?

गर्भवती भएको कारणले महिलामा कोरोनाको संक्रमण हुँदैन। नर्मल मानिसलाई जति संक्रमणको जोखिम हुन्छ, गर्भवतिलाई पनि त्यति नै जोखिम हुन्छ।

तथापी, गर्भवती महिलामा संक्रमण भएको अवस्थामा गम्भीर हुन सक्छ। किनभने, गर्भवती हुँदा महिलामा रोग लड्न क्षमता कम हुन्छ। त्यतिबेला नै कोरोना भएमा संक्रमणको जोखिम बढ्न सक्छ।

संक्रमित महिलाको डेलभरी गर्नुपरेमा सबै अस्पतालमा सहज सेवा उपलब्ध छैन। अझै पनि कोभिड संक्रमित महिलाहरू डेलिभरी गर्न सबै अस्पतालमा सहज वातावरण छैन।
त्यो हिसाबले उहाँहरूले जोगिएर बस्नुपर्ने हुन्छ।

ननजात शिशुमा कोरोनाको जोखिम ?

नवजातमा पनि महिलाले आफैंले संक्रमण सार्ने देखिएको छैन। कोभिड संक्रमित महिलाले बच्चालाई दुध खुवाउने कि नखुवाउने ठुलो अन्यौल पालेर बसेको पनि देख्छु।

संक्रमित महिलाले स्तनपान गर्दा वा गर्भ रहेको शिशुलाई संक्रमण सर्दैनन। आमा वा अन्य हेरचाहमा संलग्न मानिसहरु संक्रमित छन् भने मात्रै उनीहरु बोल्दा, खोक्दा, हाछिऊ गर्दा निस्किने छिट्टाबाट बच्चामा संक्रमण हुन सक्छ।

अहिले प्रसूति गृहले कोरोना संक्रमित महिलाको प्रसूति सेवा कसरी दिइरहेको छ ?

हालसम्म हामीले अस्पतालबाट १ सय ४८ जना संक्रमित महिलालाई उपचार सेवा दिएका छौं। जसमध्ये ९८ जनाको डेलिभरी भएको छ। जसमध्ये ४८ नर्मल र अन्यको शल्यक्रिया गरिएको छ।

विश्वको डेलिभरी गराउने मध्ये यो अस्पताल ५ औं नम्बरमा पर्दछ। विगतका वर्षमा हेर्दा प्रत्येक वर्ष यहाँ आएर सेवा लिने महिलाको संख्या बढ्दै गएको छ।

यो वृद्धि मैले कसरी जोड्छु भने अस्पताल पनि त्यतिकै मात्रामा खुलेको छ। तर, पनि यहाँ सेवाग्राही संख्या बढेको छ। त्यसकारणले अस्पतालले पनि राम्रो काम गरेको मलाई विश्वास छ।

पछिल्लो वर्षमा हेर्ने हो भने अस्पतालबाट वर्षभरीमा २२ हजारको हाराहारीमा महिलाहरूले इन्डोर (अन्तरंग)सेवा लिनुभएको थियो। यो वर्ष चार महिनामा लभगभ ७ हजार ६ सयको हाराहारीमा सेवा लिइसक्नु भएको छ।

ओपिडीमा हेर्ने हो भने चार महिना ४६ हजारले सेवा लिनुभएको छ। अस्पताल सेवा सधैं नै खुल्ला छ। प्रसूतिगृहको सेवालाई महिलाहरूले विश्वास गर्नुभएको छ।

कोभिड संक्रमित महिलालाई काठमाडौं नाम चलेका निजी अस्पतालले पनि हाम्रोमा रिफर गरिरहेका छन्।यो सेवा—सुविधा हेर्ने हो भने विगतका बर्षभन्दा अहिले चाप बढेको पाइएको छ।

नर्मल डेलिभरी गर्नुभन्दा संक्रमित महिलाको डेलिभरी गर्ने चुनौति पक्कै होला। त्यसको लागि उपचार सेवा सहज सँगै जनशक्ति व्यवस्थापनको काम कसरी गर्नुभयो?

यो सबैभन्दा ठुलो चुनौति रहेको थियो। किनभने अस्पतालको सेवा कोभिडको समयमा एकदिन बन्द भएको छैन। हामीले जुनसुकै परिस्थितमा एकदिन पनि सेवा अबरुद्ध गरेनौं। त्यसकारणले गर्व पनि लाग्छ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको भरपुर सहयोग गर्नुभएको छ। अस्पतालको तथ्यांक हेर्दा अहिले पनि १ सय देखि १२० जना दैनिक भर्ना भइरहेका छन्।

त्यसबाहेक ५ देखि ७ सयसम्म ओपिडी सेवाका लागि आइरहेका छन्।

सबै सेवालाई नियमित गर्दै कोभिड संक्रमितलाई सेवा दिन अलि चूनौतिपुर्ण रह्यो।

यहाँ हुनभएका कर्मचारीले डबल सिफ्ट गरेर, छुटी नलिएर भए पनि सेवा दिनुभयो।

यहीका स्टाफ दुईतिर व्यवस्थापन गरेर काम भइरहेको छ।

कोभिड संक्रमित महिलाको हेरचाह गर्नेको लागि त्यति गाहाे भएन।

किनभने, नन–कोभिड र कोभिड महिलाको डेलिभरी गराउने प्रक्रिया एउटै हो। तर, पिपिईको प्रयोग र स्वास्थ्यकर्मी कसरी जोगिने त्यो चुनौति विषय हो।

जति मात्रमा स्वास्थ्यकर्मीलाई पिपिई तथा अन्य सुरक्षा साम्रगी अस्पतालले प्रदान गरेको छ।

संक्रमित महिलाको डेलिभरी गरेपश्चात जटिलता दर कस्तो रह्यो ?

कोरोना पोजेटिभ भएका कारण गर्भमा खासै जटिलता आउँदैन। अस्पताल भर्ना भएका दुई—तिनजना बिरामीलाई अत्याधिक रक्क्तस्राब भएको थियो। जसलाई औषधिबाट व्यवस्थापन भयो। पछि खासै समस्या भएन। तर, कोरोनाकै कारण अप्रेशनमा खासै समस्या आएन।

त्यति सिकिस्त बिरामी पनि अस्पतालमा आउनुभएको छैन। यद्यपि, उपचार गर्दै जाँदा खेरी बच्चामा समस्या देखियो। केहि बच्चालाई एनआइसियुमा राख्नुपर्ने अवस्था आयो।

महामारीका समयमा गर्भवती आमाहरुलाई के सुझाव दिनुहुन्छ ?

गर्भवती महिलामा संक्रमण हुनुभएको छ भने डराउन हुँदैन। उहाँहरूले आफ्नो लक्षणलाई याद गर्नुपर्ने हुन्छ।

कुनै पनि बेलामा समस्या भएको खण्डमा २४ घन्टा सेवा दिन अस्पताल तयारी नै छ। यहाँ आउने बिरामीलाई सेवा दिनको लागि सकेसम्म पूर्ण रुपले व्यवस्थापन गरेका छौं।

डेलभरी, शल्यक्रिया अथवा अन्य कुनै पनि प्रकारका सेवा अस्पतालमा सुचारू छ।

गर्भवती महिला साथ—साथै अन्यले पनि जनस्वास्थ्य साधनको मापदण्ड प्रयोग गर्ने गर्नुपर्दछ। भीडभाड नजाने, मास्कको प्रयोग गर्ने गर्नुपर्दछ।

यो कुरा हामीले बिचबिचमा बिसिरहेका हुन्छौं। हामीलाई के लाग्छ भने अब वातावरण एकदमै सहज भएको छ। तर, संक्रमण भएमा जटिलता आउँछ भने त्यति बेला गर्भवती महिलामा बढी जोखिम हुन्छ।

अन्यमा….?
महिला स्वास्थ्यको लागि अस्पतालले सम्पुर्ण व्यवस्थापन राम्रो गरेको छ। सबै सेवा—सुचारू नै छ।

त्यसकारण पनि महिलाले निर्धक्क रूपमा चाहेको सेवा लिन सक्नुहनेछ।

सुरक्षित प्रसुती,स्त्री रोग, सुरक्षित गर्भपतन, परिवार नियोजन सम्बन्धी सबै सेवा सञ्चालनमा रहेको छ।

त्यसकारण महिलाहरू कोरोना संक्रमणबाट आफैं जोगिदै आफूलाई चाहिएको सेवा लिन सक्नुहुन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *