स्वास्थ्यकर्मीले नै हार खाए कसले काम गर्ने?

गहिरो निद्रा होस् कि भोकले पेट बटारिरहेको होस्, सधै ‘रेडी पोजिसन’ मै हुन्छन् हस्त कठायत।

निद्रा लागेको बेला सुत्न र भोक लागेको बेला खान नपाएको त ११ महिना भइसक्यो।

क्षण–क्षणमा ‘वाकिटकी’ को ‘ट्युनिङ’ मिलाइरहेका हुन्छन्।

हरबखत ‘पिपिई’ सेटले छोपिइरहेका हुन्छन्, कठायत।

के थाहा कतिबेला संक्रमित उठाउन कहाँ दौडिनुपर्ने हो?

एम्बुलेन्समा कोरोना संक्रमित बोक्न थालेको आधा वर्ष भइसक्यो।

‘अब त गहिरो निद्रा, राति, अल्छी लाग्यो भन्ने बहाना गर्ने बानी नै हराइसक्यो,’ हातमा वाकिटकी लिएर तैनाथ कठायत हेल्थपोष्टसँग भन्छन्, ‘निद्रामा छु, खाना खाँदै छु भनेर एक मिनेट ढिलो भए संक्रमितको ज्यान गयो भने!’

उनले कयौं दिन एक गाँस मुखमा हालेर मात्रै छाड्नु परेको छ।

उनलाई गाँस छोड्दा पीडा हुँदैन जति पीडा आफूले बोकेर अस्पताल पु-याएका संक्रमितको मृत्युमा हुन्छ।

दिनरात नभनी काठमाडौं उपत्यकाको फन्को मारिरहन्छन् रफ्तारसाथ।

उनी र एम्बुलेन्सको त्यो रफ्तार आफ्ना लागि नभई मृत्युसँग लडिरहेका संक्रमितका लागि हो।

उपत्यकाका जुनसुकै ठाउँ फोन आएपछि हुइँकिनै पर्छ।

यसरी हरेक पल बिना कुनै समय हुइँकिनु उनको रहर या बाध्यता?

‘संक्रमितलाई बोकेर अस्पताल पुर्‍याउन पाउनु, ज्यान बचाउने सानो प्रयास गर्न पाउनु खुसीको कुरा हो,’ कठायत भन्छन्, ‘हाम्रो धर्मकर्म यही हो। कसैले रहर अनि खुसी भन्न सक्छन् त कसैले बाध्यता।’

सुरुसुरुमा कस्तो–कस्तो डर लाग्थ्यो कठायतलाई।

तर, अहिले बानी पारिसकेका छन्। पहिले वचन र कर्मका कारण काम गरिरहेको छु जस्तो लाग्ने उनी अहिले धर्म र रहरले काम गरिरहेको छु जस्तो लाग्न थालेको छ।

 

 

एचए (हेल्थ असिस्टेन्ट) पढिसकेर एउटा फार्मेसीमा काम गर्थे। नेपालमा कोरोना संक्रमण सुरु हुँदै गर्दा उनी नेपाल एम्बुलेन्स सेवामा काम गर्न आए।

कहिलेकाहीँ त आमाबा को साह्रै न्यास्रो लाग्छ उनलाई।

तर, के गर्नु कर्म र धर्म कमाउन केही गर्नैपर्‍यो।

‘न्यास्रो लाग्दा आमाबालाई फोन गर्छु, कहिलेकाहीँ भाइबर, इमोे र म्यासेन्जरबाट भिडियो कल गर्छु,’ उनी भन्छन्।

पाँच महिनासम्म उनले काठमाडौं रातोपुलमा रहेका दाजु–भाउजु कसैलाई पनि भेट्न पाएनन्।

भेट्न मन त लाग्छ तर यस्तो बेला कसरी भेट्नु!

म केका लागि स्वास्थ्यकर्मी भएँ? हामीले कोरोना संक्रमित नबोके कसले बोक्ने? म त अहिले सेवा गर्न पाउँदा खुसी छु, हामीले डरलाई जितेर अघि बढ्नुपर्छ,’ उनी  भन्छन्।

‘कतै मलाई संक्रमण भएर उहाँहरूलाई सर्‍याे भने,’ उनी सचेत हुन्छन्, ‘किन घरपरिवारलाई जोखिममा पार्नु?

यस्तै सोच्छन्, अनि फेरि काममै घोटिन्छन्।

उपत्यकाका जुनसुकै स्थान, जुनसुकै गल्ली, जुनसुकै घर ट्वाँट्वाँ टुँटुँ गर्दै पुग्छन् एक कल फोनको भरमा।

अस्पताल–घर घर–अस्पताल यो नै हो उनको दैनिकी।

उनलाई भाइरस संक्रमणको डर नलाग्ने भने होइन।

कहिलेकाहीँ डर र अत्यास दुवै लाग्छ।

तर, सम्हालिन्छन् मन मुटु दरिलो बनाउँछन।

आखिर गर्नु त यही काम न हो, डराए पनि अत्यास लागे पनि।

यस्तै सोचेर काम गर्ने साहस बटुल्छन्।

‘त्यही पिपिई, स्यानिटाइजर, मास्क, ग्लब्स, फेस सिल्डको त विश्वास हो नि, विश्वास नै थामेको त्यसैले हो,’ स्वास्थ्यकर्मी कठायत भन्छन्, ‘तर, कतिबेला के हुन्छ कसलाई थाहा छ र?’

कति दिन हातको गाँस छुटेको छ। कति दिन आमालाई फोन गरिरहँदा फोन राख्छु आमा भन्न नपाउँदै काट्नुपरेको छ र कति दिन÷रात पानीमात्रै खाई चित्त बुझाउनुपरेको उनको मानसपटलमा ताजै छ।

‘यो बेला स्वास्थ्यकर्मीले नै काम नगरे, हार खाए कसले काम गर्ने, कसरी अगाडि बढ्ने?,’ उनी प्रश्न गर्छन्।

लाग्छ, स्वास्थ्यकर्मीको काम नै यस्तै हो। यही बेला नै खट्ने हो।

यही सोचेर उनी काम गरिरहेका छन्। एम्बुलेन्सकै रफ्तारसँग कुदिरहेका छन्।

‘म केका लागि स्वास्थ्यकर्मी भएँ? हामीले कोरोना संक्रमित नबोके कसले बोक्ने? म त अहिले सेवा गर्न पाउँदा खुसी छु, हामीले डरलाई जितेर अघि बढ्नुपर्छ,’ उनी  भन्छन्।

उनमा केही व्यक्ति तथा समाजदेखि डर र निराशा पैदा हुन्छ।

कोही घरमा किन एम्बुलेन्स ल्याएको भनेर हप्काउँछन् त कोही यो सबै तेरै जिम्मेवारी हो जसरी अर्डर र दबाब दिन्छन्।

‘हामी संक्रमितको सहजताअनुसार काम गर्छौं, तै पनि स्वास्थ्यकर्मी चालक भनेपछि अर्कै व्यवहार देखाउने, हेप्ने र घोचेर बोल्ने गर्छन्,’उनी गुनासो गर्छन्।

उनले घरबाट उठाएर अस्पताल पुर्‍याएका तीनजना बिरामीको ज्यान गइसकेको छ।

‘त्यस्तो देख्दा मन अमिलो हुन्छ, आफै‍ंलाई नरमाइलो लाग्छ,’ कठायत भन्छन्।

एक वर्षदेखि नेपाल एम्बुलेन्स सेवामा काम गरिरहेका संखुवासभाका विनोद पराजुली घर नगएको पाँच महिना भइसक्यो।

खान बस्नकै ठेगान हुन्नँ, चौबिसै घन्टा तैनाथ हुनुपर्छ जसरी सिमानामा सैन्यबल तैनाथ हुन्छन्।

अझ उनीहरू त समयअनुसार गस्ती जान्छन् र एक ठाउँ उभिएर डिउटी गर्छन्।

तर, पराजुलीहरू भने सधैं भागदौडमै हुने गर्छन्।

ठाउँ, स्थान, कुनाकाप्चा त कति हो कति।

अस्पतालै पनि टेकु, वीर, पाटन, दुवाकोट, मनमोहन, एपिएफ, बलम्बु, जोरपाटी, खरिपाटी, भक्तपुर अस्पताल, मेगा अस्पताल, स्टार अस्पताल, शिक्षण अस्पताल अनि आइसोलेसन राखिएका सोल्टी होटेललगायतका अन्य होटलहरू फन्का लगाइरहनुपर्ने।

कोरोना भाइरसभन्दा समाज तथा व्यक्ति विशेषले हेर्ने नजरबाट डर लाग्छ पराजुलीलाई।

‘अहिले त स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक भनेपछि सबैले नाक खुम्च्याउनुका साथै यिनीहरू त अर्कै ग्रहबाट आएका हुन् कि जस्तो गर्छन्, ‘पराजुली दुःखेसो पोख्छन्, ‘धेरैलाई लाग्छ, कोरोना ल्याएको र फैलाएको स्वास्थ्यकर्मीले र एम्बुलेन्स चालकले नै हो।’

आफ्नो ज्यानको बाजी राखेर सर्वसाधारणकै स्वास्थ्य र जीवनका खातिर काम गरिरहेका भए पनि उनीहरूको व्यवहार देखेर चित्त दुख्छ उनको।

‘रहर र आफ्नो खुसीका लागि मात्रै त होइन स्वास्थ्य सेवा, स्वास्थ्यकर्मीले के अपराध गरिरहेका छन्? र सर्वसाधारणको ज्यान जोगाउन अपराध त हैन होला,’ उनको अर्को गुनासो छ,  ‘भाइरसबारे नपढेका र नजानेकाले त ठिकै थियो तर यहाँ त जानेबुझेकैकोे हेपाहा दृष्टि छ, स्वास्थ्यकर्मी नै भाइरस हुन भन्ने मानसिकता छ।’

यस्तो महामारका बेला स्वास्थ्यकर्मीको मनोबल बढाइ काम गर्न हौसला दिनुपर्ने बेला हेप्ने, कुदृष्टि राख्ने, कुटपिट गर्ने र घर निकाला गर्दा कसैलाई पनि काम गर्न रहर नलाग्ने उनी बताउँछन्।

सबैको ध्यान एम्बुलेन्सतिर

आजभोलि बजार र गल्लीमा एम्बुलेन्स देख्यो कि सबैको नजर त्यतै जाने गर्छ।

एम्बुलेन्स काठमाडौं टेकुबाट नरदेवीतिर लाग्दा त्यस्तै देखियो।

सडकमा उभिएकाहरूको नजर टक्क एम्बुलेन्समा अडिन्थ्यो।

घरघरका झ्यालबाट चिहाएर हेर्नेहरूको कमी थिएन।

उनीहरूले न कहिल्यै एम्बुलेन्सका आवाज सुनेका थिए, न त देखका नै, झैं लाग्ने दृश्य।

कठायत भन्दै थिए, ‘कुनै संक्रमितले एम्बुलेन्स टाढै राख्नुस् म त्यहीँ आउँछु भन्छन्, हामी पनि उनीहरूको सहजताअनुसार काम गर्छौं।’

त्यसो भन्नुको पछाडि कारण हुन्छ– समाजले हेर्ने दृष्टिकोण र अपमानजनक व्यवहार।

‘संक्रमितले समाजको डर, भेदभाव र घरपरिवारले सुन्नुपर्ने अपमानबाट बच्न त्यस्तो गर्न बाध्य हुन्छन्,’ कठायत भन्छन्, ‘संक्रमितलाई हेर्ने समाजको दृष्टिकोण न फरक छ न स्वास्थ्यकर्मीलाई।’

अस्पतालमा घन्टौं कुरेर बस्दा

केही समयअघिको घटना सम्झिँदै पराजुली भन्छन्, ‘भक्तपुरबाट संक्रमित बोकेर पाटन अस्पताल पुग्यौं। तर, त्यहाँका कर्मचारीले बिरामीलाई एम्बुलेन्सबाट ओरोल्न सात घन्टा कुराए।

सात–सात घन्टा कुर्दा कयौं संक्रमितका फोन आइरहेका थिए। भन्दै थिए– ‘मलाई सास फेर्न गाह्रो भयो, छिटो आइदिनुपर्‍याे।’

कठायत थप्छन्– ‘समयमै बिरामीको व्यवस्थापन गर्न नसक्दा एम्बुलेन्स र बिरामी दुवैलाई समस्या हुन्छ।’

‘सात–सात घन्टा एउटै संक्रमितको व्यवस्थापनमा लागे अन्य बिरामीलाई कहिले अस्पताल पुर्‍याउने? उनीहरुको ज्यान तलमाथि भयो भने कसले जिम्मेवारी लिने?’ पराजुली प्रश्न गर्छन्।

संक्रमित भन्नासाथ अस्पतालकै कर्मचारी पन्छिन्छन्।

‘भक्तपुरदेखि ७० वर्षीया वृद्धा बोकेर पाटन अस्पताल पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले कुनै सहयोग गरेनन्,’ कठायत केही समयअघिको घटना सम्झन्छन्, ‘खुट्टा फ्याक्चर भएकी वृद्धालाई एम्बुलेन्सबाट निकाल्न गाह्रो भइरहेको थियो। विचरा उहाँ खुट्टा दुख्यो भन्दै कराउँदै हुनुहुन्थ्यो तर, म एक्लैले उठाउन सकिरहेको थिइनँ।’

अस्पतालका स्वास्थ्यकर्मी तम्तयार भएर बसे पनि उनीहरूले कुनै सहयोग गरेनन्।

उनी अगाडि भन्छन, ‘वृद्धालाई सास्ती भइरहेको थियो मलाई समस्या। मैले न उचाल्न सकेँ न घिसार्न। यति गरिरहेको सैबै देखेर पनि उनीहरूले कुनै सहयोग गरेनन्।’

तैंले नगरे कसले गर्छ!

सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्मको मनोविज्ञान फरक नभएको उनी गुनासो गर्छन्।

संक्रमित लिन घर जाँदादेखि अस्पताल पुर्‍याउँदासम्म थुप्रै अपमानजनक व्यवहार सहनुपर्छ उनीहरूले।

संक्रमित लिन जाँदा घरपरिवारका सदस्यले सहयोग नै गर्दैनन्। ‘यो तपाईंहरूको काम हो जसरी पनि गर्नुस् भन्छन्,’ कठायत तीतो अनुभव सुनाउँछन्, ‘मानौं, सबै कुराको जिम्मेदार स्वास्थ्यकर्मी नै हुन्, धेरैले तैंले नगरे कसले गर्छ भने जसरी हेप्छन्।’

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बोक्ने पाँचवटा एम्बुलेन्स छन्। जसलाई काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गरिरहेको छ।

तीमध्ये तीनवटाको स्टेसन डिल्लीबजारको कन्या स्कुल छ भने एकको कीर्तिपुर र अर्कोको ललितपुर।

कन्यामा भएका तीनवटा एम्बुलेन्समा काम गर्छन् कठायत।

कोरोना संक्रमित बोक्ने एम्बुलेन्स कम भएकाले भ्याइनभ्याइ हुन्छ उनीहरूलाई।

कन्याका तीन एम्बुलेन्समा दुई–दुई चालक र दुई–दुई स्वास्थ्यकर्मी गरी १२ जना छन्।

उनीहरूको रोटेसनअनुसार पालो पर्छ। एक दिन एउटा समूहले काम गर्छ भने अर्को दिन अर्कोले।

शुक्रबार बिहान हेल्थपोस्ट टिम पद्मकन्या पुग्दा कठायतलगायत अन्य स्वास्थ्यकर्मी र चालक चिया पिइरहेका थिए।

कोही चिया पिइरहेका थिए भने कोही एम्बुलेन्स सफा गर्ने, डिस्इन्फेक्सन गर्ने काममा जुटिरहेका थिए।

उनीहरू तम्तयार हुँदै थिए, कसले कतिबेला कहाँ हुइकिनुपर्ने हो थाहा थिएन।

तम्तयार नहुनु पनि कसरी।

हातमा वाकिटकी लिएर बसेका उनीहरू अधिकांश युवा थिए।

उनीहरूमा काम गर्ने जोशजाँगर पनि देखिँदै थियो।

संक्रमित पत्ता लाग्यो। कसैलाई केही लक्षण देखियो र होम आइसोलेसनमा बसेकाहरूको स्वास्थ्य अवस्था बिग्रियो भने उनीहरूलाई अस्पताल ल्याउने र पुर्‍याउने सबै जिम्मेवारी उनीहरूको हो।

यसरी संक्रमण देखिएका र शंका लागेकाहरूको स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालयमार्फत उनीहरूलाई फोन आउँछ।

मन्त्रालय वा विभागले उनीहरूलाई संक्रमितको नाम, ठेगाना सबै दिन्छ।

उनीहरू सबै विवरण फारममा उतार्छन्।

चालक र स्वास्थ्यकर्मी सबैसँग संक्रमित राख्ने प्रत्येक अस्पताल प्रमुखको नम्बर हुन्छ। उनीहरू फोन गरेर संक्रमित ल्याउन लागेको जानकारी दिन्छन्।

हामीले  कुरा गरिरहँदा वाकिटकीमा फोन आयो।

फालानो ठाउँबाट संक्रमित लगेर फलानो अस्पताल जाने।

फलानो अस्पतालको संक्रमितलाई फलानो अस्पताल छोड्ने।

फोन आएपछि उनीहरू तयार हुन थाले।

एम्बुलेन्स डिसइन्फेक्सन गरिसकेपछि पिपिई, मास्क, फेस सिल्ड, ग्लब्स लगाएर हुइँकिने सुर गरे।

हेल्थपोस्ट टिम एम्बुलेन्सको पछि–पछि थियो।

एम्बुलेन्सको रफ्तार यति थियो कि भेट्टाउनै गाह्रो भइरहेको थियो।

कन्याबाट निस्किएको एम्बुलेन्समा एक स्वास्थ्यकर्मी र एक चालक थिए।

पुतलीसडकको कच्ची बाटोमा धुलो उडाउँदै एम्बुलेन्स ललितपुरको बिएन्डबी अस्पतालतिर लाग्यो।

बिएन्डबीबाट संक्रमित बोकेको एम्बुलेन्स कुपन्डोलमा रहेको सर्वाङ्ग अस्पताल पुग्यो।

सर्वाङ्गमा संक्रमितलाई छाडेको एम्बुलेन्स कति पनि ढिला नगरी टेकु हुँदै नरदेवीतिर लाग्यो।

हेल्थपोस्ट टिमले एम्बुलेन्सको पिछा गरिरह्यो।

नरदेवीको सानो गल्लीबाट संक्रमित बोकेर एम्बुलेन्स टेकु अस्पताल पुग्यो।

टेकुमा संक्रमित छाडेर पुनः अर्को संक्रमित ल्याउन कुद्‌यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय