राप्ती नगरपालिकाले उपचारका लागि ५ हजारसम्म सहयोग गर्ने, विपदपीडितलाई पनि आर्थिक सहयोग

चितवनको राप्ती नगरपालिकाको आठौँ नगरसभाले चारवटा कार्यविधि पारित गरेको छ।

मेयर प्रभा बरालको अध्यक्षतमा बसेको नगरसभा बैठकले पारित गरेका कार्यविधि प्रमाणिकरण हुन बाँकी छन्।

आर्थिक सहायता, मेलमिलाप, नगरस्तरिय खेलकुद सञ्चालन तथा व्यवस्थापन र सरसफाइ तथा अर्गानिक मल उत्पादन तथा व्यवस्थापन कार्यविधि पारित भएको उपमेयर इमानसिंह लामाले जानकारी दिए।

उनका अनुसार शिक्षा ऐन र सहकारी ऐनमा केही संशोधन समेत गरिएको छ। उपमेयर लामाले गरिब तथा विपन्न समुदायलाई लक्षित गरीआर्थिक सहायता प्रदान गर्नेगरी कार्यविधि बनाइएको बताए।

कार्यविधिमा १ हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग दिन सकिने उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलका अनुसार गरिब तथा विपन्नलाई तत्कालै उपचार वा दीर्घरोग तथा अन्य उपचारमा १ देखि ५ हजार रुपैयाँ, प्राकृतिक विपद्का कारण घरवारविहीन भएकालाई ५ देखि २० हजार रुपैयाँसम्म आर्थिक सहायता दिन सकिने गरी कार्यविधि बनाइएको छ।

नगरपालिकामा सूचीकृत सामाजिक संघसंस्थाले नगरको हितमा गर्ने कार्यक्रमका लागि सहयोग मागेमा वडास्तरको कार्यक्रमका लागि १० हजारसम्म र जिल्लास्तरको कार्यक्रमका लागि १५ हजार रुपैयाँ दिने सकिने गरी कार्यविधि बनाइएको छ।

सरसफाइ व्यवस्थापन गर्न बनेको कार्यविधिमा तोकिएका ठाउँमा फोहोर व्यवस्थापन नगरी जथाभावी फाल्ने व्यक्ति वा संस्थालाई कसुर मानेर कारवाही गर्ने उल्लेख छ। राप्ती नगरपालिकाले दुई वर्ष यता वडा नम्बर २ मा कम्पोष्ट मल बनाउने गरी काम अगाडि बढाइरहेको छ। यो वर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको छ।

‘छिमेकी नगरपालिकाबाट कुहिने फोहोर ल्याएर अर्गानिक मल बनाउन पहल भैरहेको छ,’ उपमयेर लामाले भने, ‘स्रोतमै जैविक र अजैविक फोहोर वर्गीकरण गरी संकलन तथा व्यवस्थापनको काम गरिनेछ।’

छिट्टै नगरस्तरीय खेलकुद समिति गठन गरेर खेलकुद गतिविधिका योजना निर्माण तय गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय