पुस १२ गते स्वास्थ्यकर्मीको मौन धर्ना

नेपाल संयुक्त स्वास्थ्यकर्मी संघर्ष समितिले आफ्ना मागका विषयमा सरकार गम्भीर नभएको भन्दै आन्दोलन थाल्ने भएको छ।

चार साताको अवधिमा पनि मन्त्रालयले आफ्ना मागमा कुनै चासो नदेखाएकाले बाध्य भएर आन्दोलनमा जानु परेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष तथा संघर्ष समितिका सहसंयोजक रामजी घिमिरेले आयोमेललाई बताए।

समितिले पुस १२ गते माइतीघरमा मौन धर्ना गर्दैछ। यस्तै, चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरुको १५ गते प्रदेश नम्बर १ मा र १७ गते गण्डकी प्रदेशमा भेला हुने कार्यक्रम रहेको उनले बताए।

उनले पुस १७ गतेसम्म सातैवटा प्रदेशमा समिति गठन गरिसक्ने योजना रहेको बताए।

समितिले माग सुनुवाइकालागि मंसिर ७ गते २१ दिनको अल्टिमेटम दिएको थियो। त्यसपछि थप ७ दिनको समय थपेको थियो।

संघर्ष समितिमा स्वास्थ्यसँगसम्बन्धीत विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनले १८ वटा मुद्दालाई अगाडि सारेका छन्।

कोरोनालगायत जनताका अन्य जटिल रोगका उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु र भेन्टिलेटरलगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण तथा उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता, बीमालगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने माग समितिले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय