खोप पहुँच सुनिश्चित गर्न कोरोना सुनौलो अवसर

कोरोना भाइरस भ्याक्सिन विकासमा निजी र सार्वजनिक क्षेत्र तथा कोषहरूले गरेको लगानीले अन्ततः सकारात्मक नतिजा देखाउन थालेका छन्।

यद्यपि, यो भ्याक्सिन खरिद गर्न गरिएका सम्झौताबारे हालै गरिएको एक विश्वव्यापी अध्ययनले अधिकांश उच्च आय र केही मध्यम आय भएका मुलुकले आफ्नो जनसंख्यालाई आवश्यक पर्नेभन्दा धेरै अधिक भ्याक्सिन डोज खरिद गरेको उजागर गरेको छ।

तर, उक्त भ्याक्सिन वितरणका सवालमा हामीले अर्कै कोणबाट सोच्न जरुरी  छ। जुन विशेषगरी कमजोर स्वास्थ्य प्रणाली भएका वा सम्पूर्णरूपमा स्वास्थ्य प्रणालीको अस्तित्व नै नभएको गरिब तथा द्वन्द्वग्रस्त राष्ट्रका नागरिकका हकमा लागू हुन्छ।

विश्वमहामारीभन्दा अगावै हरेक वर्ष संसारका अतिजोखिममा रहेका करिब २ करोड बालबालिका आधारभूत खोपबाट वञ्चित रहने गरेका थिए।

उदाहरणको लागि सन् २०१९ मा मात्रै संसारका अतिगरिब मुलुकका १ करोड ६ लाख बालबालिकाले डिपिटी (डिप्थेरिया–पिटसिस–टिटानस : नेपाली अर्थ, भ्यागुते रोग, लहरे खोकी र टिटानस) को पहिलो डोज पनि लगाउन पाएनन्।

यो समस्या सम्बोधन गर्न हामीलाई सोच्ने र काम गर्ने नयाँ तरिका खाँचो रहेको छ जसलाई सुरु गर्न हालको कोभिड–१९ ले सुनौलो अवसर दिएको छ।

यस दिशामा काम गर्न अन्तर्राष्ट्रिय संरक्षणको जालोभन्दा बाहिर रहेका र स्वास्थ्य प्रणालीमा अति कम पहुँच भएका आन्तरिकरूपमा विस्थापित नागरिक हाम्रो तत्कालिक प्राथमिकतामा पर्दछन्।

२०१९ मा आधाभन्दा बढी आन्तरिकरूपमा विस्थापितसहितका ७ करोड ९५ लाख मानिस विस्थापित भएको यथार्थलाई मनन गर्ने हो भने आवश्यकता र सुनिश्चितताबीचको दरार बढिरहेको देखिन्छ।

२०१७ मा बंगलादेशको कक्स बजारस्थित रुहिङ्गा नागरिक बस्ने शरणार्थी शिविरमा देखिएको भ्यागुते रोगको प्रकोप दशकौंयताको सबैभन्दा ठूलो र नराम्रो भ्यागुते रोगको प्रकोप हुनपुग्यो।

१९८२ देखि म्यानमार सरकारबाट नागरिकता पाउन वञ्चित रुहिङ्गा शरणार्थीले शिविरमा आधारभूत खोप पनि पाउन सकेका थिएनन्। उक्त प्रकोपले शिविरभित्र र आसपास तत्कालै वृहत खोप अभियानको थालनी गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो।

छोटो समयमै उक्त अभियानको सकारात्मक प्रभाव देखिए पनि उच्चरूपमा निरोधजन्य सो रोगको व्यापक प्रकोपले आन्तरिकरूपमा विस्थापित नागरिक कुन हदसम्म आधारभूत खोप पाउनबाट छुटेका छन् भन्ने यथार्थलाई उदांगो पार्‍यो।

त्यसो त कोभिड–१९ विश्वमहामारी अघि नै खोप प्राप्त गर्ने गरिब र विस्थापित नागरिक संख्यामा आएको कमीले हाम्रो विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधारलाई कमजोर गराएको थियो।

विश्व स्वास्थ्य संगठन र युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार २०१९ मा दादुराले विश्वका २ लाखभन्दा बढी मानिसको ज्यान लियो, जुन २०१६ को तुलनामा सोही रोगको कारण मर्ने मानिसको संख्याभन्दा ५० प्रतिशतले बढी हो।

प्रकोप निवारणमा खोप अभियानको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ तर यस्ता अभियानले तबमात्रै काम गर्छन् जब अभियानभित्र सबैको उपस्थिति सुनिश्चित हुन्छ।

दादुरा, पोलियो र भ्यागुते रोगलगायतका लागि वृहतरूपमा उपलब्ध खोप पनि हामीले सबैसमक्ष पुर्‍याउन नसक्नुले जोखिममा रहेका जनसंख्यालाई सुरक्षा दिन सकेनौं भन्नेमात्रै होइन कि हामी भविष्यका अन्य विश्वमहामारीका लागि तयारी अवस्थामा छैनौं भन्ने पनि सन्देश दिन्छ।

हामीले आपूर्ति चक्रलाई थप सुदृढ गरेर, दिगो र पर्याप्त लगानी सुनिश्चित गरेर तथा सामुदायिक स्वास्थ्य कार्यकर्ताको सशक्तिकरण गरेर हालको विश्वव्यापी स्वास्थ्य प्रणाली मजबुत गर्न जरुरी छ।

कतिपय द्वन्द्वप्रभावित एवं संकटग्रस्त क्षेत्रमा त्यहाँको औपचारिक स्वास्थ्य प्रणाली सम्पूर्ण जनसंख्यालाई खोपको कार्यक्रमभित्र समाहित गर्न असमर्थ हुन पनि सक्छ।

द्वन्द्वको समयमा स्वास्थ्य केन्द्रहरूमाथि पनि आक्रमण हुनसक्छ वा स्वास्थ्य संरचना ध्वस्त पारिनसक्छन्, जसले मानिलाई त्यहाँबाट स्वास्थ्य सेवाको उपस्थिति नै नभएका अन्य स्थानतर्फ भाग्न बाध्य गराउन सक्छ।

यो अवस्थामा सामुदायिक स्वास्थ्य कार्यकर्ताका भूमिका अहम हुन आउँछ।

केन्यामा खोप कार्यक्रमलाई सशक्त ढंगबाट सञ्चालन गर्ने सवालमा स्वास्थ्य कार्यकर्ताको प्रभावकारिताबारे सञ्चालन गरिएको एक अध्ययनले उनीहरूको संलग्नताले त्यहाँको ९९ प्रतिशत जनसंख्या (पहिलेको भन्दा १० प्रतिशत बढी) लाई खोपको सञ्जालभित्र प्रवेश गराएको देखाएको छ।

अधिकांश खोप वा भ्याक्सिनलाई चिसोमा भण्डारण गरिनुपर्ने हुनाले द्वन्द्व प्रभावित एवं बिजुली नपुगेको स्थानमा समेत ती खोप पुर्‍याउन मिल्ने हिसाबले आपूर्ति चक्र सुदृढ गराउनुपर्छ।

तर, आपूर्ति चक्र र खोपको उपलब्धीलाई तबमात्रै सँगसँगै सुदृढ गराएर लैजान सकिन्छ जब जनस्तरबाटै स्वस्फुर्त यसको माग बढ्ने दिशामा पहल थालिन्छ।

यो तबमात्र सम्भव हुन्छ जब भ्याक्सिन र स्थानीय स्वास्थ्य सेवामा समुदायहरूको विश्वास बढ्छ। त्यसैले योजना तर्जुमादेखि भ्याक्सिन लगाउँदासम्मका हरेक चरणमा समुदायलाई आबद्ध गराइनुपर्दछ।

हरेक बालबालिकाको जीवनरक्षक खोप प्राप्तिको सुनिश्चितताका लागि नयाँ प्रयास थालनी गर्न अहिले र आज नै उत्कृष्ट समय हो।

संसारका सबै मानिसले उनीहरूका लागि अत्यावश्यक खोप नपाउँदासम्म दादुरा होस् वा भ्यागुते रोग वा कोरोना भाइरसजस्ता विश्वमहामारी नै किन नहोस् यिनीहरुले भविष्यमा ल्याउन सक्ने तरंगलाई कसैले रोक्न सक्दैन।

(द गार्जियनमा छापिएको लेखको अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय