टिचिङ अस्पतालमा बेड अभाव, बिरामीले भर्ना पाएनन्

त्रिवि शिक्षण अस्पतालमा कोरोनाबाहेकका जनरल बिरामीले भर्ना पाउन सकेका छैनन्।

अस्पतालले छुट्याएको ननकोभिडका सबै बेड भरिभाउ भएपछि बाँकी बिरामीले भर्नाका लागि समेत पालो कुरेर बस्नुपर्ने बाध्यता छ।

अस्पतालका कोरोना फोर्कल पर्सन डा. सन्तकुमारका दासले आजभोलि ननकोभिड बिरामीको चाप बढेको बताए।

उनका अनुसार सोमबार दिउँसो मात्रै १३ जना बिरामीलाई भर्ना गर्नुपर्नेमा बेड अभावमा पालो कुरेर बसिरहेका छन्।

‘हामीसँग रहेका सबै ननकोभिडका बेड भरिभराउ छन्,’ डा. दासले हेल्थपोष्टसँग भने, ‘ती बिरामीको पिसिआर नेगेटिभ भए पनि जनरल बेडमा भर्ना गर्ने ठाउँ छैन।’

शिक्षण अस्पतालको जनरल बेडको क्षमता ४ सयको हाराहारीमा छ।

‘जनरल बिरामीका लागि प्रयोग हुने बेड कोभिडका लागि पनि छुट्याइएको छ। अस्पतालमा खाली बेड छैनन्,’ दासले भने, ‘बिरामी अन्य अस्पतालमा जान मान्दैनन्। बरू यही मर्छु भन्छन्।’

शिक्षण अस्पतालमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

डा. दासका अनुसार अधिंकाश कोरोना संक्रमित निमोनियाका कारणले अस्पताल भर्ना हुने गरेका छन्।

अहिले १४ आइसियु र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

‘कोरोनाका लागि छुट्याइएका जनरल बेड खाली नै छन्,’ डा. दासले भने, ‘तर, आइसियुमा र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई लामो समयसम्म राखेर उपचार गर्नुपरिरहेको छ।’

अस्पताल प्रशासनका अनुसार कोरोना संक्रमितको लागि २ सयभन्दा बढी बेड छुट्याइएको छ।

केही समय अघि कोरोनाका बिरामीले बेड नपाउने अवस्था थियो। तर, अहिले समान्य लक्षण भएका बिरामी घरमै बस्ने प्रवृति बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय