कोरोना संक्रमित घटे, गम्भीर बिरामी बढे

हेल्थपोस्ट नेपाल

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण हुनेका संख्या घट्दै जाँदा गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीको दर बढ्न थालेको छ।

पछिल्लो एकसातायता सुदूरपश्चिममा दैनिक एकसयभन्दा कम व्यक्तिमा संक्रमण पुष्टिहुँदा दैनिक १५ जनाभन्दा बढी व्यक्तिमा गम्भीर प्रकृतिका लक्षण देखापर्न थालेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना रोगथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका मापदण्ड पालना नहुँदा संक्रमण भएकामध्ये गम्भीर बिरामीको संख्या बढ्न थालेको स्वास्थ्य विज्ञ बताउँछन्। यसका साथै चिसो बढ्दै गएपछि कोरोना संक्रमित हुनेमध्ये गम्भीर प्रकृतिका बिरामी बढ्न थालेका सुदूरपपिश्चम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

उनकाअनुसार मंसिर यता कोरोना संक्रमित हुनेमध्ये १५ प्रतिशत बढी बिरामीमा गम्भीर प्रकृतिका रोगका लक्षण देखापर्न थालेको छ। ‘नागरिकले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा बिर्सेका छन्’, उनले भने, ‘रोगले च्यापेपछिमात्रै परीक्षण गराउन थालेका छन्, जसले गर्दा संक्रमणदर घटेपनि गम्भीर प्रकृतिका बिरामी बढ्न थालेका छन्।’

उनले चिसो बढ्दै जाँदा संक्रमण भएका बिरामीमा गम्भीर प्रकृतिका लक्षण देखिनेक्रम बढी हुने गरेको बताए। ‘कोरोना संक्रमणबाट बच्न नागरिकले चिसो याममा अझै सावधानी अपनाउन जरुरी छ’, उनले भने, ‘अहिलेको लापरबाहीले रोगको जोखिम हुने र मृत्युदर बढ्ने संभावना उच्च छ।’

सामाजिक विकास मन्त्रालयकाअनुसार हाल सुदूरपश्चिममा ३ सय ६३ जनालाई आइसोलेसनमा राखेर उपचार गराइँदै आएको छ। प्रवक्ता कार्कीकाअनुसार चिसो सुरु भएसंगै कोरोना संक्रमण भएका बिरामीले आइसियु भरिन थालेका छन्। ‘सुदूरपश्चिममा हाल १७ वटा आइसोलेसन कक्ष र २ हजार ३ सय २१ वेड रहेका छन्’, उनले भने, ‘पछिल्लो समय सबै आइसोलेसन कक्ष भरिभराउ हुन थालेका छन्, सजकता नअपनाए समस्या झनै बढ्न सक्दछ।’

८० प्रतिशत कोरोना संक्रमित निको भए

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण निको हुने दर ८० प्रतिशत पुगेको छ।

आइतबार कैलालीका ५६, कञ्चनपुरका ११, अछामका ११, बैतडीका २ र अन्य जिल्लाका २ जनामा संक्रमण पुष्टि भएको र  कञ्चनपुरबाट १७ र कैलालीबाट ६२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ८ सय ८० पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये आइतबारसम्म १० हजार ३ सय २१ जना निको भएर घर गएका छन् भने २ हजार ५ सय १२ जना सक्रिय संक्रमित रहेका प्रवक्ता कार्कीले बताए।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ सय २६ जनाको विभिन्न अस्पतालमा रहेका आइसोलेसनमा उपचार भइरहेको छ।

प्रवक्ता कार्कीले सुदूरपश्चिमका नागरिकको रोग प्रतिरोधात्मक क्षमता देशका अन्य स्थानका नागरिकको भन्दा राम्रो हुँदा निको हुने दर बढेको बताए।

‘पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर पनि घटेको छ’, उनले भने, ‘पुराना संक्रमित निको भएर जाँदापनि निको हुनेदर बढेको हो, हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि उच्च छ।’

सुदूरपश्चिममा हालसम्म १ लाख २७ हजार ६ सय १३ जनाको स्वाब परीक्षण गरिएकोमा १ लाख २७ हजार १ सय ३४ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। परीक्षण गरिएकामध्ये ४ सय ७९ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको छ।

४७ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा आइतबारसम्म कोरोना संक्रमणका कारण ४७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका २६, कञ्चनपुरका ७, अछाम, बाजुरार र दार्चुलाका २/२ जना, बझाङ र डडेल्धुराका ३/३ जना तथा डोटी र  बैतडीका १/१ जना रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *