भेरीमा पहिलो पटक ‘ग्याष्ट्रिक क्यान्सर’को सफल शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ‘ग्याष्ट्रिक क्यान्सर’ को सफल शल्यक्रिया गरिएको छ ।
‘ग्याष्ट्रिक क्यान्सर’ भएका एक बिरामीको सफल शल्यक्रिया सेवाको सुरुवात गरिएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका ग्यास्ट्रो सर्जन डा.ध्रुव शाह नेतृत्वको टोलीले यस्तो सफल शल्यक्रिया गरेको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए।
उनका अनुसार शल्यक्रिया गरिएका भेरीगङ्गा नगरपालिका जाजरकोटका ५८ वर्षीय रुद्रबहादुर हुन।
पुनलाई पाँच महिनाअघि नै ‘ग्यास्टिक क्यान्सर’ पुष्टि भएको थियो। इन्डोस्कोपी गर्दा ‘ग्याष्ट्रिक क्यान्सर’ पुष्टि भएका पुनलाई सुरुमा चितवनस्थित क्यान्सर अस्पतालमा पठाइएकोमा पछिल्लो एक महिनायता पेट अधिक दुख्न थालेपछि फेरि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
भेरीमा मङ्सिर १३ गते भर्ना भएका बिरामी पुनको डा.शाहको नेतृत्वमा एनेस्थेसियोलोजिस्ट डा.पारस पाण्डे, तारा आचार्य लगायतको टिमले ‘ग्यास्टिक क्यान्सर’को शल्यक्रिया गरेको थियो।
शल्यक्रियाको ११ दिनपछि पुनलाई डिस्चार्ज गरिएको थियो । पेटमा आउने समस्यामध्ये ‘ग्यास्टिक क्यान्सर’ जटिल समस्या भएको उनको भनाइ छ ।
डा.शाहका अनुसार लामो समयसम्म ग्यास्टिक हुँदा ग्यास्टिक क्यान्सर हुने गर्छ। अल्सर हुँदा दुखाइ बढी हुने चिकित्सकको भनाइ छ । अल्सर भएका व्यक्तिलाई पेट र छाती पनि पोल्दछ । डा.शाहका अनुसार अल्सर बढ्दै गएमा घाउमा रक्तस्रावका कारण रगत बान्ता हुने वा कालो रङ्गको दिसा आउने हुन्छ ।
यसैबीच, कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको ब्रोनोस्कोपी सेवा नेपालगन्ज मेडिकल कलेजमा फेरि सुरु गरिएको छ ।
नेपालगन्नज मेडिकल कलेज नेपालगन्ज शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन तथा पल्मोनोलोजिस्ट डा.सुभाष योगीले गत एक सातादेखि पीसीआर नेगेटिभ बिरामीलाई नियमित सेवा दिन थालिएको बताए ।
उनले टाढा टाढाबाट उपचार गर्न आएका बिरामीलाई त्यत्तिकै फर्काउन मनले नमानेपछि सेवा सुचारु गरेको बताए । ब्रोनोस्कोपीमार्फत फोक्सोसम्बन्धी सम्पूर्ण जाँच दूरबिन प्रविधिबाट गरिने गरिन्।
फोक्सोभित्र खकार जमेको, निमोनिया, टीबी, खकारबाट रगत आउने तथा फोक्सोको क्यान्सर वा अन्य फोक्सोसम्बन्धी रोगका बारेमा सजिलै पत्ता लगाउन सकिने डा.योगीले बताए ।