जव ‘भगवान’ भन्दै बिरामीले डाक्टरलाई पुजा गरे…

हेल्थपोस्ट नेपाल

 

वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थ शुक्रबार बिहान क्लिनिकमा बिरामी जाँचिरहेका थिए।

एउटा अपरिचित नम्बरबाट फोन आयो।

‘डाक्टर’साब एक चोटी भेटिदिनुहोस् न’ हतार–हतारमा एउटा महिलास्वर थियो, ‘हजुरलाई भेट्नको लागि बाहिर कुरिरहेको छु।’

डाक्टर कायस्थले एक–दुई जना बिरामी हेरिसकेपछि ती महिलाको लागि समय दिए।

आफूले बोकेको एउटा झोलाबाट झोला माला झिक्दै उनले डाक्टर कायस्थलाई लगाइदिइन्।

आँशु खसाउँदै उनले भनिन् ‘तपाईं त हाम्रो लागि भगवान हुनुहुन्छ।’

पैसा उनिएको त्यो माला थाप्दा डा. कायस्थले केही भेउ पाएनन्।

त्यही झोलाबाट ति महिलाले अगरवत्ती झिकिन्, अनि टीका पनि झिकेर डाक्टरलाई दिइन्।

उनी हेरेको हे¥यै भए।

अनि हलुवा, आलुको अचार र फलफूल पनि दिइन्।

को हुन ति महिला ?

ति उर्मिला चौधरी थिइन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाकी।

चौधरीले धेरै ठाउँमा परीक्षण गर्दा रोग पत्ता लगाउन सकेकी थिइनन्।

डाक्टर कायस्थले १० महिनाअघि उनलाई सफल उपचार गरेर घर पठाएका थिए।

‘उहाँ १० महिना अघि म कहाँ नसा सम्बन्धि रोग लिएर आउनु भएको थियो,’ डा. कायस्थले हेल्थपोस्ष्टसँग कुरा गर्दै भने, ‘भिटामिन ‘बि’ को कमीबाट हुने समस्याको पहिचान गरेर औषधी दिएको थिएँ।’

डा. कायस्थका अनुसार उनीहरू आमा छोरालाई नै नसा दुख्ने र रगतका कमी हुने उस्ताउस्तै लक्षण थियो।

उनले केही वर्षदेखि भिटामिन ‘बी’ कमीबाट हुने रोग र बिरामीको प्रकृतिबारेमा सुदुरपश्चिममा रहेर अनुसन्धान गरिरहेका छन्।

‘भिटामिन ‘बी’ को कमीबाट हुने रोग फरक फरक प्रकृतिका हुन्छन्’ डाक्टर कायस्थ भन्छन्, ‘कतिपय मान्छेहरु हातखुट्टा पोल्ने, झमझमाउने, रगतको कमी हुने, मानसिक समस्या जस्ता लक्षण लिएर आउँछन्। अधिकांश बिरामीमा भिटामिन ‘बी’ को कमी रहेको पाइन्छ।’
०००
डा. कायस्थ सुदूरपश्चिमा परिचित नाम हो।

काभ्रेको बनेपामा जन्मिएका डा.कायस्थले कर्मभूमि सुदूरलाई नै बनाएका छन्।

विसं २०४६ सालदेखि सरकारी जागिर खाएका उनी अधिंकाश समय उतै बिताएका छन्।

सन् १९८३ मा डा. कायथ्यले एमबिबिएस गरे। उनले छाती रोग विशेषज्ञता हासिल गरेका छन्।

त्यसपछि एमडी पनि गरे।

उनी २०७२ बाट सेवा निवृत भएका छन्।

‘यस अवधिमा अधिंकाश समय महेन्द्रनगर र धनगढीमा बिताएँ,’ डा. कायस्थ भन्छन्, ‘यहाँका मानिसले दिनुभएको माया र प्रेमले यतै तानिरहेको छ।’

उनले धेरै जसो समय महाकाली र सेती अञ्चल अस्पतालबाट सुदूरका जनतालाई सेवा दिए।

सेवाबाट निवृत हुनु अघि वीर अस्पतालमा मेडिसिन विभागको प्राध्यापक थिए।

हाल उनी अहिले पनि धनगढीकै समर मेडिकल तथा नोवा अस्पतालमा कार्यरत रहेका छन्।
०००

चिकित्सकको पेशा सेवामूलक भए पनि आजभोलि विकृती देखा परेको डा.कायस्थको भनाई छ।

‘चिकित्सकय पेशा विशुद्ध सेवामुलक हो,’ उनी भन्छन्, ‘आजभोलि समाज सेवाभन्दा पनि व्यापारकेन्द्रित भएका छन्।’

यो पेशा व्यापारिक हुन थालेपछि स्वास्थ्यकर्मीको सामाजिक प्रतिष्ठा र पेशामा पनि प्रश्न उठ्न थालेको उनको बुझाई छ।

‘व्यापारकेन्द्रित हुनुमा चिकित्सकको दोष छैन,’ उनी भन्छन्, ‘चिकित्सकलाई मालिकहरूले प्रयोग गरिरहेका छन्।’

स्वास्थ्यकर्मी सधैं नै सेवामुलक हुन्छन्। तर, आजभोलि चिकित्सकको छवि व्यापारीले बिगारिरहेका छन्।

यही कुराले उनको मन बिझिरहन्छ।

सुदुरका धेरै बिरामी टाढा—टाढा पहाडबाट उपचार गर्नको लागि आउँछ।

‘उहाँहरूसँग पर्याप्त पैसा हुँदैन। धेरैजसो रोग नै पालेर बसिरहेका हुन्छन् उनी भन्छन्, ‘चिकित्सकीय धर्मले उपचार गर्नुपर्छ भन्छ, व्यापारिकतन्त्रले पैसा खोज्छ।’

डा. कायस्थले जीवनकालमा धेरै बिरामीबाट यस्तो सम्मान तथा आर्शिवाद पाएका छन्।

त्यही सम्मानबाट उनलाई अझै बिरामीको सेवा गर्न प्रेरित गर्छ।

‘यस्तो सम्मान पाउँदा प्रोफेशनल हिसाबले धेरै सन्तुष्टि लाग्छ, उनी भन्छन्, ‘जुन सम्मानको आत्म सन्तुष्टिको तुलना अन्य चिजबाट पाउन सकिँदैन।’

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *