कोरोनापछि बच्चामा देखिनसक्ने ‘एमआइएस–सी’ रोग निदान र उपचार

कोरोना भाइरस डिजिज (कोभिड–१९) का कारण विश्ले विभिन्न आर्थिक सामाजिक र विशेषगरी स्वास्थ्य जटिलताको सामना गरिरहेको छ।

प्रत्यक्ष रूपमा कोभिड–१९ संक्रमणबाट उत्पन्न हुने स्वास्थ्य समस्या र उपचारबाट संसारभर विभिन्न अध्ययन र अनुसन्धान भइरहेका छन्। कोरोना भाइरस संक्रमण भएर मुक्त भएकामा भविष्यमा कस्ता समस्या देखिनसक्छ भन्नेबारे पनि अध्ययन भइरहेका छन्।

वयष्कहरूमा जस्तै बालबलिकामा पनि कोभिडको अल्पकालीन र दीर्घकालीन असर देखिइरहेको छ। भलै, संक्रमणका कारण तत्काल उत्पन्न जटिलता, लक्षण र मृत्युदर पनि बालबालिकामा कम देखिएको किन नहोस्।

पछिल्ला दिनमा कोरोना संक्रमण र संक्रमणमुक्त भइसकेको अवस्थामा बच्चामा देखिएको जटिल स्वास्थ्य समस्या ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ (एमआइएस–सी)बारे अहिले चर्चा गर्नु सान्दर्भिक छ।

छोटकरीमा एमआइएस–सी भनेर चिनिने यो रोगबारे छलफलको प्रारम्भ हामीले उस्तैउस्तै लाग्ने वा चिकित्सक पनि झुक्किन सक्ने पुरानो रोग ‘कावासाकी’ को चर्चाबाट सुरु गर्दा उपयुक्त हुन्छ।

बालरोग उपचारमा संलग्न हुने चिकित्सकका लागि कावासाकी रोग त्यति नौलो होइन। धेरै विशेषज्ञले कावासाकीलाई देखेका, पढेका र उपचार पनि गरेका छन्।

यद्यपि, यो बालबालिकामा कहिलेकाहीँ मात्रै हुने स्वास्थ्य समस्या हो। हामीमध्ये धेरैले यो रोगको उपचार गर्ने मौका नपाएको हुन पनि सक्छौं।

व्यक्तिगत रूपमा मैले मेरो तालिमका क्रममा बेलायतमा सन् २००४ मा कावासाकी देखेको र उपचार गर्ने मौका पाएको थिएँ। बेलायतपछि तालिमका लागि अमेरिका आएपछि यसरोग लागेका धेरै बच्चाको उपचारमा संलग्न भए।

के हो कावासाकी?

कावासाकी रोग बच्चामा लाग्ने एकप्रकारको दुर्लभ र विशेष अवस्था हो। यो रोगको प्रमुख लक्षणका रूपमा बालबालिकामा ज्वरो देखिन्छ। ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढीमात्रामा यो रोगको जोखिममा रहन्छन्।

यो रोगको निदान पनि सहज छैन। कुनै विशेष एउटामात्रै परीक्षण गरेर यो रोग भएको हो भन्ने निर्क्यौल गर्न सकिन्नँ। बच्चामा देखिने लक्षणका आधारमा परीक्षणका क्रममा देखिने क्लिनिकल संकेत, रगतको जाँच, अल्ट्रासाउन्डका आधारमा यो रोगको पहिचान हुन्छ।

लक्षणका आधारमा यो रोगमा बच्चालाई लगातार तीन दिनसम्म वा त्यसभन्दा बढी ज्वरो देखिन्छ। ज्वरोसँगै बच्चाको आँखा रातो हुने, तर चिप्रा नलाग्ने हुन्छ। त्यसैगरी बालबालिकाको छालामा विभिन्न प्रकारका धब्बा, बिमिरा देखिन्छ। यस्ता धब्बा कुनै पनि प्रकारका हुन सक्दछन्।

बिमिराजस्तो देखिने, सुन्निएको जस्तो हुने मात्र पनि हुन सक्दछ। त्यसैगरी, हात र औंला सुन्निने पनि हुन्छ। सुन्निएको ठाउँमा प्रायः रातोपना देखिँदैन। एर्कातिरको घाँटीको ग्रन्थी (unilateral cervical lymphadenopathy) सुन्निएको हुनसक्दछ। यिनीहरू प्रमुख लक्षण हुन्।

त्यसैगरी, अन्य लक्षणमा झाडापखला, बान्ता हुने, पेट दुख्ने र खान मन नलाग्ने, पहेँलोपना देखिने आदिसमेत हुन्छ। ज्वरो र माथिका लक्षण देखिएको अवस्थामा बच्चाको ओठ, तथा जिब्रो रातो भएको हुन्छ।

यी लक्षणसँगै क्लिनिकल जाँच पनि आवश्यक पर्छ। यी लक्षण र विभिन्न परीक्षणबाट मात्रै संक्रमण भएको वा नभएको पहिचान गर्नुपर्दछ। रगतको परीक्षण गर्दा इम्फ्लेमेसन (Inflammation) बढेको अवस्था वा अन्य कुनै संक्रमण नदेखिएको अवस्थामा माथिका लक्षणसँगै राखेर परिचान गर्ने कोसिस गर्दछौं।

कतिपय अवस्थामा ज्वरो छ तर, अन्य कुनै लक्षण छैन भने पनि रगतमा इम्फ्लेमेसन धेरै बढेको अवस्था र अरू संक्रमण देखिएन भने पनि क्लिनिकल रूपमा कावासाकी भनेर शंका गर्नुपर्ने हुन्छ।

कावासाकी उपचार पद्धति स्थापित भइसकेको छ। यसको प्रमुख औषधी इमिनोग्लोबिन हो। यसले पनि भएन अन्य औषधीको प्रयोग गरिन्छ।

000

कावासाकी रोगबारे हामीले सुनेका पनि थियौं। उपचार पनि गरेका थियौं। कोरोना महामारीसँगै हामीले कावासाकीजस्तै देखिने तर, अझै भयानक, सिकिस्त बालबालिका अस्पतालमा भर्ना हुने क्रम बढ्न थालेको देख्यौं।

यस्ता केसहरू मार्च, अप्रिलमा इटाली र बेलायतमा देखियो। त्यही समयमा यस्ता केस रहेका बालबालिका न्युर्योकमा भर्ना भएका थिए।

बेलायतले अप्रिल २८ मा आफ्ना स्वास्थ्य निकायलाई कावासाकीजस्तै देखिने तर, धेरै गम्भीर भएका बालबालिका भर्ना क्रम बढिरहेको छ भन्ने अलर्ट जारी गर्यो।

मे ६ मा यो प्रकाशनमा पनि आयो। त्यसको एक हप्तापछि इटालीका चिकित्सकले यस्तै खालको केस रिपोर्ट प्रकाशित गरे।

अन्तर्राष्ट्रिय समुदायले यो प्रकाशितका साथै अलर्ट गराउँदै गर्दा मे १२, १३ मा मैले काम गर्ने अस्पतालमा पनि कावासाकीजस्तै लाग्ने लक्षण लिएर केही बच्चा भर्ना भएका थिए।

मे १४ अमेरिकाको स्वास्थ्य निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसि) ले मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम भनेर नामकरण गर्यो।

सिडिसीको परिभाषाअनुसार २१ वर्षभन्दा मुनिकालाई कावासाकीजस्तै लक्षण देखिन्छन् र गम्भीर भएर अस्पताल भर्ना गनुपर्ने अवस्था र तिनीहरूमा दुई वा दुईभन्दा बढी अगंमा असर भएको पाइएको र चार हप्ता अगाडि कोरोना संक्रमण भएको प्रमाणित वा शंका लागेमा त्यसलाई एमआइसी भएको मान्न सकिने बतायो।

जुन पिसिआर वा एन्टिबडी परीक्षण पोजिटिभ आएको हुनुपर्ने छ। विशेषगरी बालबालिकामा तीन दिनसम्म ज्वरो नभएको अवस्थामा कावासाकी शंका गरिँदैन। तर, मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम हुँदा ज्वरो २४ घन्टासम्म भए पनि शंका गर्नुपर्ने हुन्छ।

चार हप्ताभन्दा अगाडि कोरोना संक्रमण भएको पुष्टि पिसिआर तथा एन्टिबडी परीक्षणबाट गर्दछौं। तर, यदि पिसिआर र एन्टिबडी पोजिटिभ नभए पनि कोभिडका लक्षण देखिएका थिए भने पनि त्यसलाई आधार मान्न सकिन्छ।

कस्ता लक्षण देखिन्छन्?

मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम भएका बालबालिकालाई २४ घन्टाभन्दा बढी समयसम्म ज्वरो निरन्तर हुनु, वाकवाकी लाग्नु, पखाला लाग्नु, पेट दुख्नु, छालामा बिमिरा आउनु, थकाइ लाग्नु, मुटुको धड्कन छिटोछिटो हुनुजस्ता समस्या देखिन्छन्।

यसैगरी, आँखा रातो हुनु, जिब्रो र ओठ सुन्निनु र रातो देखिनु, हात खुट्टा पनि रातो देखिएर केही सुन्निएजस्तो हुनु र टाउको दुख्ने पाइएको छ।

यस्ता बिरामीमा जाँच गर्दा प्रायः मुटुको धड्कन ज्वरोको मात्राभन्दा अत्यधिक बढेको हुन्छ। यस्ता बिरामी माथि उल्लेख गरेका जस्ता लक्षण लिएर आए रगत परीक्षण गरिन्छ। रगत परीक्षणको मुख्य उद्देश्य बच्चामा अन्य कुनै संक्रमण छ कि छैन भनेर यकिन गर्न र शरीरमा इन्फ्लेमेसनमार्फत हेर्न हो।

मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमको शंका गरिसकेपछि इकोकार्डियोग्राम गर्छाैं। यदि यो अवस्था हो भने इकोकार्डियोग्राममा मुटुको पम्प गर्ने क्षमता कम भएको देखिन सक्छ। मुटुको ‘कोरोनरी आर्टिररी डाइलेटेड’ देखिन सक्छ।

मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम उपचार कसरी गर्ने?

मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमको उपचार कावासाकीभन्दा धेरै फरक छैन। यसको उपचार पद्धतिमा पहिलो चरणमा इमिनोग्लोबिन वा पल्स स्टेरोयड कुन दिने भन्ने कुरामा खासै ऐक्यबद्धता त छैन तर, इमिनोग्लोबिन अत्यधिकमात्रामा प्रयोग भएको छ।

इमिनोग्लोबिन वा पल्स स्टेरोयडको मुख्य काम इन्फ्लेमेसनलाई रोक्ने प्रयास हो। यस्ता बालबालिकाको शरीरमा रगत जम्न नदिने औषधी प्रयोग गरिन्छ। बच्चा धेरै गम्भीर बिरामी हुने भएकाले आइसियुमा उपचार गर्नुपर्ने हुनसक्छ। तर, हामीले यो बुझ्नुपर्ने हुन्छ कि सबै एमआइएस–सी बिरामीलाई आइसियु नै चाहिन्छ भन्ने छैन।

बच्चाको ब्लड प्रेसर कम भएमा ब्लड प्रेसर बढाउने औषधी प्रयोग गरिन्छ। अक्सिजन दिनुपर्ने अवस्था पनि आउँदा अक्सिजन दिनुपर्छ। मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमको केही बालबालिकालाई आइसियुमा अन्य औषधी चलाउँदा चलाउँदै ‘इन्ट्युबेसन एन्ड भेन्टिलेसन’ गर्नुपर्ने हुन्छ। त्यसबाट पनि सुधार नभएको खण्डमा ‘एक्मो’ मा राख्नुपर्ने हुनसक्छ।

फलोअप कसरी गर्ने?

बच्चाहरूमा संक्रमण कम भएपछि कावासाकीजस्तै फलोअप गर्दै आएका छौं। तर, यो रोग भर्खरै आएको हुँदा हामीले कुनै पनि बच्चालाई पूर्णडिस्चार्ज गरिसकेका छैनौं। हामीले उनीहरूलाई फलोअपमा राखेका छौं।

(अमेरिकाको भर्जिनियास्थित चिल्ड्रेन्स हस्पिटल अफ रिचमन्डका प्याडियाट्रिक कार्डियोलोजिस्ट डा. भुर्तेलसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको भर्चुुअल कुराकानीमा आधारित)

टिचिङमा पहिलो पटक बच्चामा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ सफल उपचार

One thought on “कोरोनापछि बच्चामा देखिनसक्ने ‘एमआइएस–सी’ रोग निदान र उपचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय