विश्वमहामारीले निम्त्याएको मानसिक समस्यालाई कसरी सम्बोधन गर्ने?

वरपरको वातावरण त्रासदीपूर्ण छ। अस्पतालमा बिरामीहरुको घुइँचो बढिरहेको छ। आफ्नै परिवारका सदस्यहरुसँग अलग्गिएर बस्नु परिरहेको छ। सामाजिक अन्तरक्रिया एवं साथीहरुसँगको भेटघाट टुटेको छ। विद्यालयको पठनपाठन रोकिएको छ। कार्यथलो बन्द भएको वा बिदामा बस्नुपरेको कारण आर्थिक भविष्यबारेका प्रश्नहरु निरुत्तरित छन्।

विगत एक वर्षदेखि कोरोना भाइरस महामारीले विश्वलाई नै स्वास्थ्य संकटतर्फ धकेलिरहेको छ।

यस्तोमा अधिकांश मानिसको मनमा डर, चिन्ता एवं त्रासले डेरा जमाउनुलाई त्यति असामान्य मान्न मिल्दैन।

पछिल्लो अध्ययनहरुले हालको विश्वमहामारीका कारण अधिक संख्याका मानिसमा मानसिक समस्या बढिरहेको देखाएका छन्।

विश्व स्वास्थ्य संगठनले यस वर्षको जुनदेखि अगष्टसम्म विश्वका १३० मुलुकहरुमा गरेको सर्वेक्षणले कोभिड-१९ का कारण बढेको मानसिक स्वास्थ्य समस्याको सम्बोधनको लागि मानसिक स्वास्थ्य सेवाको मागमा अधिक बृद्धि आएको देखाएको छ।

यसै अवस्थालाई विश्लेषण गर्दै विज्ञहरुले यस विकराल समस्याको तत्काल एवं उपयुक्त सम्बोधन नभएमा कोरोना भाइरसको खोप लगाए पनि मानिसहरुले दिर्घकालसम्म मानसिक स्वास्थ्य समस्या भोग्नसक्ने औंल्याएका छन्।

उता, अमेरिकाको हस्टन विश्वविद्यालयले प्रकाशित गरेको एक जर्नलमा ‘पहिल्यैदेखि विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या झेलिरहेका जनसंख्यालाई हालको प्रकोपले दीर्घ मानसिक रोग एवं लागू वा नसालु पदार्थको सेवनको जोखिमतर्फ धकेल्नसक्ने’ उल्लेख छ।

‘भ्याक्सिनको उपलब्धताको बाबजुद पनि सहज अवस्थाको चित्रण गर्न सकिँदैन किनकी मानिसको मानसिक स्वास्थ्यमाथि यस प्रकोपले आक्रमण गरिसकेको छ’, अनुसन्धानकर्तामध्येका एक माइकल मोलेन्स्की भन्छन्।

उता हकस्थित मनोबैज्ञानिक डाक्टर एन्ड्रिउ लो इनले कोरोना भाइरसले संसारका लगभग सबै नागरिकको जीवनमा कुनै न कुनै रुपमा कष्ट ल्याएको बताउँदै सोका कारण भविष्यमा ‘पोष्ट ट्रमाटिक सिन्ड्रोम’ बिकराल समस्याको रुपमा देखा पर्नसक्नेतर्फ सचेत गराएका छन्।

‘हालको विश्वमहामारी साम्य भैसकेपश्चात पनि यसले आउँदा केही वर्षसम्म हाम्रो मानसिक स्वास्थ्यलाई प्रभावित गराइरहनसक्छ’, उनले बताए।

त्यसैगरी मानसिक स्वास्थ्यमा परेको असरलाई ब्यक्तिगत रुपमा सम्बोधन गर्न सघाउनका लागि उनले तीनवटा सुझाव दिएका छन्।

पहिला, इनका अनुसार विगतका अन्य सबै संकट झैँ कोरोना भाइरस पनि वर्तमानमा देखिएको एक प्रकोप हो र विगतका सबै संकट झैँ अहिलेको प्रकोप पनि अस्थाइ छ र यो एकदिन निश्चय नै समाप्त हुन्छ।

दोश्रो, यस भाइरसद्वारा विश्वका दसाैं लाख मानिसहरु संक्रमित भइ १० लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेता पनि यस भाइरसको संक्रमणमा नपरेका तथा ज्यान नगुमाएका मानिसको संख्या अधिक छ।

तेश्रो, हामी सबैसँग आफ्नो सोच, भावना र आवेगलाई परिवर्तन गर्ने शक्ति हुन्छ।

अमेरिकाको आयोवा विश्वविद्यालयले गत अगष्ट महिनामा प्रकाशित गरेको एउटा जर्नलले हालको महामारीको कारण सिर्जित तनाव तथा चिन्तालाई कम गर्न आफ्ना भावनाहरु प्रति खुल्ला एवं उदार रहनुपर्ने, सो भावनाहरुलाई सचेत एवं सोचपूर्वक  प्रतिक्रिया दिनुपर्ने र सचेत कदम चाल्नुपर्ने लगायतको आवश्यकतामाथि जोड दिएको छ।

यसको अलावा हालको प्रकोपका कारण सिर्जित डर, चिन्ता वा तनावलाई सम्बोधन गर्न विभिन्न अन्तर्राष्ट्रिय वेभसाइटहरुले संकलन गरेका केही उपाय तथा तरिकाहरुलाई तल प्रस्तुत गरिएका छन्।

-नकारात्मक समाचारबाट टाढा रहने

-सूचना संकलनको लागि भरपर्दो एवं आधिकारीक श्रोतमाथि निर्भर रहने

-कसैको नकारात्मक विचारबाट उद्धेलित नभइ यथार्थ के हो, सोको खोजी गर्ने

-विभिन्न उपायद्धारा आफूलाई ब्यस्त राख्ने

-आफ्ना परिवारका सदस्य, साथीसंगी एवं इष्टमित्रसँग प्रत्यक्ष वा परोक्ष रुपमा जोडिइरहने

-विगत वा भविष्यको बारेमा सोच्न छोडेर हालको अवस्थालाई कसरी सामान्य तरिकाले स्विकार गर्ने भन्नेतर्फ केन्द्रित हुने

-अत्यावशेक सामाग्री, सेवा वा बस्तुको पहुँचको उपाय खोजी कठिन अवस्थाको लागि तैयार रहने

-शारीरिक ब्यायाम, योग, ध्यान वा साधना जस्ता तनाव ब्यवस्थापनका क्रियाकलापहरुमा संलग्न हुने

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय