चिसोमा बच्चालाई निमोनिया र कोरोनाबाट कसरी जोगाउने?

पछिल्ला दिनमा विश्व कोरोना महामारीको चपेटामा छ। विशेषगरी संसारभरको प्रवृति हेर्दा बच्चामा कोरोना संक्रमण र मृत्यु दर पनि कम छ। नेपालमा संक्रमितमध्ये १० वर्ष उमेर समूहको हिस्सा एक प्रतिशतमात्रै छ।

युवा, दीर्घरोगी र वृद्धवृद्धामा धेरै कोरोना संक्रमित छन्। कोरोना भएर निमोनिया भएपछि झन् गाह्रो भएको छ। चिसो मौसमा अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकामा पनि अन्य खालका संक्रमणको दर बढी हुन्छ। बच्चामा हुने निमोनिया पनि चिसोमा अलि बढी हुन्छ।

निमोनिया एक वर्षमुनिका शिशुमा धेरै हुनेगर्छ। त्यसपछि दुईदेखि तीन वर्षका बच्चामा एक वर्षमुनिका बच्चामा भन्दा कम हुन्छ। त्यसैगरी चारदेखि पाँच वर्षका बच्चामा निमोनियाको जोखिम कम हुन्छ। ज्ति उमेर बढ्यो, त्यति नै निमोनिया हुने सम्भावना कम हुन्छ। बच्चामा रोगसँग लड्ने क्षमता जति कम हुन्छ त्यस्ता बच्चामा निमोनिया हुने गर्दछ।

बच्चामा अन्य निमोनिया र कोरोना कसरी छुट्ट्याउने?

नेपालमा बच्चामा हुने थुपै स्वास्थ्य समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोमा संक्रमण हुने रोग हो। रुघाखोकी बिग्रेर निमोनिया हुन्छ। निमोनिया प्रायः बच्चालाई मात्र हुने रोग भनेर बुझिए पनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। यसर्थ पनि जाडोमा निकै सावधानी अपनाउनुपर्छ।

निमोनिया र कोरोना जँचाउने बेलामात्र छुट्ट्याउन सकिन्छ। दुवैको लक्षण एउटैजस्तो देखिन्छ। श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, ज्वरो आउने सामान्य लक्षण हुन्।

बच्चामा खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने, कोखामा हान्ने (श्वास फेर्दा छाती र करङको भाग धस्सिने), श्वास फेर्न गाह्रो हुने, दूध चुस्न नसक्ने लक्षण देखिन्छन्।

कुनै–कुनै बालबालिकामा लक्षण देखिँदैन तर निमोनिया भइसकेको हुन्छ। लक्षण नदेखिएका बेला बालबालिकाको व्यवहार हेरेर थाहा पाउन सकिन्छ।

जस्तै, अल्छी हुने, खाना कम खाने, अरू बेलाभन्दा कम खेल्ने, झगडा बढी गर्नेजस्ता लक्षण पनि निमोनियाको हुनसक्छ। यस्तो अवस्थामा पनि बालबालिकालाई जँचाउन लानुपर्छ। तुलनात्मकरूपमा हेर्न हो भने कोरोना बच्चामा कम पुष्टि भएको छ।

पहिले निमोनियाका लक्षण देखिनासाथ बच्चामा उपचार सुरु गर्ने गरिन्थ्यो। महामारीका समयमा उपचारसँगै अहिले निमोनियालाई कोरोना हो कि भनेर शंका चाहिँ गर्नुपर्छ।

निमोनिया भएका बालबालिकाको पिसिआर परीक्षण भने गराउनुपर्छ। यसले गर्दा उपचार गर्न सजिलो हुन्छ।

चिसो मौसम र निमोनिया

आममानिसमा बच्चालाई निमोनिया चिसो मौसममा मात्रै हुन्छ भन्ने भ्रम पनि छ। यो सोचाइ एकदम गलत हो। निमोनियाको जोखिम र दर पनि गर्मीभन्दा जाडोमा बढी छ भन्ने चाहिँ सत्य हो।

गर्मी मौसममा भन्दा जाडोमा भाइरस एकदम सक्रिय हुने भएकाले जाडोमा निमोनिया बढी हुने गर्दछ।

गर्मी मौसममा चिसोको तुलनामा सरसफाइमा पर्याप्त ध्यान दिइएको हुन्छ। समयमा नुहाउने, हातखुटा धुने गरेको हुन्छ। जाडो मौसममा चिसोका कारण अल्छी हुने, सरसफाइ अलि कम हुने हुँदा जाडोमा बच्चालाई निमोनिया हुने हुन्छ। जाडोमा पनि सरसफाइमा ध्यान दिए बालिबालिकामा निमोनिया कम गर्न सकिन्छ।

किन दोहोरिरहन्छ निमोनिया?

कुपोषण, खोप छुटेका, कम तौल भएका बच्चामा अलि धेरै निमोनिया हुने गर्दछ। साथै मिर्गौलाको समस्या, दीर्घरोग भएका बच्चालाई छिट्टै निमोनिया हुनसक्छ। बच्चालाई चाहिने पौष्टिक तत्व दिएको खण्डमा, दुई वर्षभित्र लगाउनुपर्ने सबै खोप लगाएमा र सरसफाइमा ध्यान दिए निमोनिया हुनबाट जोगिन्छ।

बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनाले पनि निमोनियाको जोखिम घटाउन सकिन्छ। ६ महिनापछि दुई वर्षसम्म स्तनपानका साथसाथै पोषणयुक्त खानेकुरा खुवाउनाले पनि बच्चामा रोग प्रतिरोधी क्षमता राम्रो हुने र संक्रमणको जोखिम कम हुन्छ।

आमाको दूधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने गर्छ। अर्को उपाय फ्लुको खोप बालबालिकालाई लगाएर पनि निमोनियाबाट जोगाउन सकिन्छ।

तर, निमोनियाविरुद्धको खोप भने, सरकारले निःशुल्क उपलब्ध गराउने खोपको सूचीभित्र पर्दैन। यो खोपलाई शुल्क तिर्नुपर्छ। यो खोप एक महिनादेखि पाँच वर्षसम्म लगाएको खण्डमा निमोनियाबाट लड्नसक्ने क्षमता वृद्धि गराउँछ। फेरि, खोप लगाइसकेपछि निमोनिया लाग्दै नलाग्ने पनि होइन, तुलनात्मकरूपमा कम गराउँछ।

नवजात शिशु र कोरोना

गर्भवती महिला कोरोना संक्रमित भएको अवस्थामा गर्भमा रहेको बच्चामा कोरोना सर्दैन। बरु बच्चा जन्मेपछि स्याहार, हेरचाह र व्यवहार गर्दा भने शिशुमा कोरोना सर्नसक्छ। सुत्केरी महिला संक्रमित छिन् भने, बच्चा जन्मेपछि शिशु कोरोना संक्रमित आमासँगै राख्दा कोरोना सर्ने जोखिम हुन्छ।

आमा संक्रमित भएको अवस्थामा सुरक्षाका उपाय अपनाएर सावधानीपूर्वक नवजात शिशुलाई जन्मने बित्तिकैको बिगौती दूध र नियमित स्तनपान गराउने प्रयास गर्नुपर्छ।

शिशुुलाई आमाको दूध खुवाउँदा कोरोना सर्दैन। शिशुलाई लिनुभन्दा अगाडि साबुनपानीले राम्रोसँग हात धुने र दूध खुवाउने बेलामा आमाले राम्ररी मास्क लगाएर खुवाए शिशुलाई कोरोना संक्रमित हुनबाट जोगाउन सकिन्छ। स्तनपान गराइसकेपछि भने बच्चालाई आमाबाट टाढा राख्दा कोरोना सर्ने सम्भावना एकदम कम हुन्छ।

कोरोना खोप र बालबालिका

एक वर्ष लामो महामारीपछि अहिले कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ। तर, अहिलेसम्मको अवस्थामा कोरोना खोप बच्चालाई लगाउन मिल्दैन। अहिले तयार भएको खोप बयष्कका लागि मात्रै हो।

अहिले खोप आउन लाग्यो भनेर अभिभावकले कोरोनालाई बेवास्ता गरिरहेको पाइन्छ। जुन आफैंमा जोखिमपूर्ण छ। खोप आएर बयष्कले लगाए पनि बालिबालिकालाई भने स्वास्थ्य मापदण्ड अपनाएरमात्र जोगाउनुपर्छ।

कोरोना खोप लगाउन नमिले पनि कोरोना भएर सिकिस्त भएका बालबालिकालाई रेमडिसिभिर दिन मिल्छ। यसले भाइरसको वृद्धि रोक्न र रोगसँग लड्ने क्षमता बढाउँछ। हामीले विराट अस्पतालमै पनि कोरोना संक्रमित बालबालिकामा रेमडिसिभिरबाट सफल उपचार गरेका छौं।

(विराट मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. सुवेदीसँग हेल्थपोस्टकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय