नौ महिनादेखि रोकियो मिर्गौला प्रत्यारोपण, बिरामीलाई जोखिममाथि सास्ती

कोरोना भाइरस रोग (कोभिड–१९) महामारीका कारण सिर्जित प्रतिकूल अवस्थामा नेपालमा गति लिएको मिर्गौला प्रत्यारोपण नौ महिनादेखि ठप्प छ।

प्रत्यारोपण रोकिँदा सयौं बिरामी डायलासिसका भरमा जीवन धान्न बाध्य छन् भने डायलासिसमा रहेका थुपै्र संक्रमितले ज्यानै गुमाइसकेका छन्।

नेपालमा ३० हजारभन्दा बढीमा मिर्गौला रोग छ भने ३ हजारजतिमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अनुमान छ। तीमध्ये अधिकांश बिरामी डाइलासिसका भरमा छन्।

डायलाइसिस सेवा दिइरहेका ठूला सरकारी अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दा मिर्गौला बिरामीमा जोखिम बढेको छ भने सास्ती थपिएको छ।

कोरोना महामारीसँगै प्रत्यारोपण सेवा दिइरहेका अधिकांश अस्पतालमा यो सेवा बन्द भएको छ।

सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा केही दिन अघिबाट न्यून संख्यामा सेवा पुनः सञ्चालमा आएको छ।
नौ महिनामा दुईवटा मात्रै प्रत्यारोपण भएको अस्पतालले जनाएको छ।

भक्तपुरपछि सबैभन्दा बढी प्रत्यारोपण गर्ने त्रिवि शिक्षण अस्पतालमा पनि यो सेवा अहिले बन्द छ। वीर, ग्रान्डी, निदान, सुमेरु र चितवनको पुरानो मेडिकल कलेजमा अहिले प्रत्यारोपण सेवा ठप्प छ।

किन सञ्चालन हुन सकेन मिर्गौला प्रत्यारोपण सेवा?

मिर्गौला बिरामीलाई कोरोना संक्रमण भएको अवस्थामा जोखिम धेरै हुने भएका कारण सेवा प्रभावित भएको शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. पवन चालिसे बताउँछन्।

‘कोरोना प्रत्यारोपण गरेका बिरामीमा संक्रमण भए जोगाउन एकदमै मुस्किल हुन्छ,’ डा. चालिसे भन्छन्, ‘अन्य संक्रमितको तुलनामा प्रत्यारोपण गरेका बिरामीको मृत्युदर एकदमै बढी छ।’

डा. चालिसेको अनुसार कोरोना मृत्युमध्ये ३३ प्रतिशतभन्दा बढी मिर्गौला बिरामी नै छन्।

प्रत्यारोपण गर्नुपर्ने बिरामीको लागि रोग प्रतिरोधात्मक क्षमता घटाउने इम्युनोसप्रेसन औषधी चलाउनुपर्ने र उक्त बिरामीमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले यस्तो बेला प्रत्यारोपणमा जाँदा थप जोखिम हुने वीर अस्पतालका युरोलोजी विभाग प्रमुख डा. रोविन बस्नेत बताउँछन्।

‘प्रत्यारोपण गर्न धेरै सर्जनको आवश्यकता पर्दछ। उनीहरूमध्ये कोही व्यक्तिमा मात्रै संक्रमण रहेछ भने बिरामीमा सर्ने जोखिम धेरै हुन्छ,’ डा. बस्नेतले भने, ‘नेपालमा मात्रै होइन विश्वका अधिकांश देशमा प्रत्यारोपण रोकिएको अवस्था छ। कारण, एउटै छ संक्रमणको जोखिम।’

सकसपूर्ण पर्खाइ

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा निःशुल्क डायलासिस सेवाअन्तर्गत ५ सय २५ वटा मेसिन सञ्चालनमा छन्।

मानिसको मिर्गौलाले काम गर्न छाडेपछि ऊसँग दुईमात्र विकल्प हुन्छन्, प्रत्यारोपण र डायलासिस।

डायलासिस पनि बाँचुन्जेल सातामा दुईदेखि तीन पटकसम्म गर्नुपर्ने हुन्छ। मेसिनको सहायताले शरीरमा जम्मा हुने विकार र तरल निकाल्ने उपचार विधिलाई डायलासिस भनिन्छ।

हाल प्रत्यारोपण सेवा ठप्प हुँदा धेरै बिरामीलाई डायलासिस सेवा पनि सहज रूपमा दिन नसकेको डा. चालिसेले बताए।

‘मिर्गौला बिरामीले पालो पाउन सजिलो छैन। किनभने पालो पाउन कसैले मिर्गौला प्रत्यारोपण गरेको हुनुप¥यो,’ डा. चालिसे भन्छन्, ‘बिरामीको तुलनामा प्रत्यारोपण गर्ने संख्या पनि थोरै छ। प्रत्यारोपणपछि पनि नियमित खाने औषधी महँगो छ।’

काठमाडौंमा निःशुल्क डायलासिस सेवा दिने सरकारी अस्पतालमध्ये भक्तपुरको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा यतिबेला २ सयजना जति प्रतीक्षा सूचीमा छन्।
त्यसैगरी वीरमा १ सय बढी र त्रिवि शिक्षण अस्पतालमा २ सयभन्दा माथि प्रत्यारोपणको पर्खाइमा छन्।

कहिलेबाट नियमित हुन्छ प्रत्यारोपण सेवा?

नियमित रूपमा प्रत्यारोपण सेवा सञ्चालन आउन अझै धेरै समय लाग्ने विज्ञ बताउँछन्।

प्रत्यारोपण केन्द्रले सेवा सञ्चालन गरेता पनि अझै चुस्त रूपमा सञ्चालन गर्न समय लाग्ने भएको हो।

शिक्षण अस्पतालले सेवा सञ्चालन सुरुवात गर्न अझै दुई हप्ता लाग्ने जनाएको छ।

सेवा सञ्चालन गर्न मापदण्ड बनाउने लागेका छौं,’ डा. चालिसेले भने, ‘दुई हप्तापछि प्रत्यारोपण गर्न थाल्ने योजना छ।’

अस्पतालमा कोभिड अगाडि हप्तामा दुईजनाको प्रत्यारोपण हुँदै आएको थियो।

अस्पताल प्रशासनका अनुसार हालसम्म ७ सयभन्दा बढीको प्रत्यारोपण गरिसकिएको छ।
वीर अस्पताल

वीर अस्पतालमा अन्तिमपटक गत फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। तर, कोभिडका साथसाथै अस्पतालमा भौतिक संरचना नभएर प्रत्यारोपण हुन नसकेको डा. बस्नेतले बताए।

२०७२ सालको भूकम्पले वीरको प्रत्यारोपण वार्डमा क्षति पुगेको थियो।

‘त्यसपछि प्रत्यारोपण गर्ने बिरामीलाई न्यून मेडिकल वार्डमा राख्दै आएका थियौं। अन्य बिरामीसँग राख्दा थप कोभिडको जोखिम हुने भएकाले पनि सेवा सञ्चालन गर्न सकिरहेका छैनौं,’ डा. बस्नेतले भने।

वीरमा केहि समय अघि पुरै कोभिड अस्पतालमा बनाइएको थियो। त्यस समयमाा पनि प्रत्यारोपण सेवा दिन सहज नभएको डा. बस्नेतको भनाई छ।

वीरमा मिर्गौला प्रत्यारोपणका लागि छुट्टै अप्रेसन कक्ष छैन। चिकित्सकले आलोपालो गरेर शल्यकक्ष लिने र प्रत्यारोपण गर्दै आएका थिए।

अहिले पनि अस्पतालले प्रत्यारोपण सेवा कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड तयार नभएको हुँदा प्रत्यारोपण सेवा सञ्चालन गर्न सम्भव नभएको चिकित्सकको भनाइ छ।

कोभिड अगाडि वीरमा दुई हप्तामा एउटा प्रत्यारोण हुँदै आएको थियो। हालसम्म वीरमा १ सय ३५ जनालाई मिर्गौला प्रत्यारोपण भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय