वैशाखमै भइसक्नुपर्ने पिजी परीक्षा अझै अनिश्चित, पेशी सरेको सरैं
सामान्य अवस्था भएको भए गत अप्रिल/मे महिनामै पिजी प्रवेश परीक्षा सकिए पठनपाठनसमेत सुरु भइसक्नुपर्ने थियो ।
चिकित्सा शिक्षा आयोग गठनसँगै शैक्षिक क्यालेन्डर निर्माण, साझा प्रवेश परीक्षा तयारी, कोरोना महामारी र लकडाउनलगायतका कारणबाट रोकिएको प्रवेश परीक्षण पछिल्लो समय अदालतका कारण अनिश्चित बनेको छ ।
चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर, स्नातकोत्तर अध्ययनको सिट विभाजन न्यायोचित नभएको भन्दै विद्यार्थीका नाममा अदालतमा परेको मुद्दाको टुंगो नलाग्दा परीक्षा थप अनिश्चत बनेको छ ।
पिजी पठनपाठन सुरु नहुँदा शैक्षिक कार्यक्रम संचालन गरिरहेका सरकारका ठूला अस्पतालहरुमा चिकित्सककै अभावको अवस्थासमेत आएको छ ।
सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेशपछि परीक्षा स्थगित भएको थियो।
उक्त परीक्षाको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
अदालतले मसिंर ४ गते बेञ्चले मंसिर २८ गतेको पेशी तोकेर दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
तर २८ गते पनि कुनै निर्णय हुन नसकेको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।
‘अदालतले २८ गतेको लागि पेशी तोकेको थियो। हिजोको छलफलमा टुगों नलागएपछि आज पुन पेशी सारेको थियो,’ डा. गिरीले भने, ‘आजको छलफलमा पनि कुनै निर्णय हुन सकेन।’
डा. गिरीकाअनुसार अदालतले मंगलबार पुन छलफलको लागि बोलाएको छ।
अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करारलगायतका विषयमा मुद्दा यथावत नै रहेको छ।
एक शैक्षिकशस्त्रको समय सकिँदा पनि उचित निर्णय नहुँदा विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्दै गएको परीक्षामा सहभागी डा. बिदुर खतिवडा बताउँछन्।
‘परीक्षा दिन पाउने सबैको नैसर्गिक अधिकार हो, तर ८ महिना बितिसक्दा पनि परीक्षा दिन पाएका छैनौं,’ खतिवडाले भने, ‘१० प्रतिशत विदेशी विद्यार्थीको लागि सबै नेपाली विद्यार्थीले दुःख पाउनु न्यायोचित होइन।’
‘चैतमा हुनुपर्ने परीक्षा कहिले हुन्छ भन्ने अझै अन्योल छ। एक वर्षको पूरै समय गायब हुने भएको छ। जति—जति परीक्षाको समय लम्बिदै छ, उत्तिकै मानसिक समस्या पनि थपिएको छ,’ डा. खतिवडाले भने।
सर्वोच्चको फैसाला हुने बित्तिकै परीक्षा सञ्चालनको लागि आयोग तयार रहेका डा. गिरी बताउँछन्।
‘अदालतमा छलफल चलिरहेको छ। निर्णय हुने बित्तिकै हामी परीक्षा तालिका निकाल्छौ,’ डा. गिरीले भने, ‘आयोग परीक्षा लिनको लागि तयार छ।’
एमडी/एमएस, डिएम/एमसिएच, एमपिएच, एमएन, एमएससी नर्सिङ, एमफर्मा एमएससी एमआइटीलगायतका विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन्।
Sir Hami kehi din ko samasya abdhi le exam dina payenau k Hami abb yo exam ma sahabghi hun pauchau