नर्सिङ संघकी महासचिव थापा भन्छिन् : कोरोनाले निकै गाह्राे पार्दोरहेछ

त्रिभूवन विश्व विद्यालय टिचिङ अस्पतालको कोभिड वार्डका नर्सिङ सुपरवाइजर र नेपाल नर्सिङ संघकी महासचिव नर्वदा थापा महामारी प्रारम्भका दिनदेखि नै सेवारत थिइन् ।

अस्पतालको जिम्मेवारीदेखि नर्सका समस्या समाधानका लागि उतिकै खट्नुपर्थ्र्यो । यस अवधिमा उनका थुपै सहकर्मी संक्रमित भइसकेका थिए ।

जोगिएर काम गर्दागर्दै कार्तिक ७ गते उनको पनि कोरोना पोजेटिभ रिपोर्ट आयो । नर्सिङ सुपरवाइजर एवं नर्सकी नेता उनले कोरोना भाइरस कसरी परास्त गरिन छ ? थापाले हेल्थपोष्टकर्मी रेणु त्वानाबासुसँगै आफ्नो अनुभूति यसरी साटिन।

मैले नर्सिङ क्षेत्रमा २०४४ देखि काम सुरु गरेकी हुँ । ५५ वर्षको उमेर र लामो सेवा अवधिमा अन्यजस्तै थुपै विभिन्न सरुवा रोगका बिरामीको उपचार, हेरचाह र स्याहार गरियो । नियमित पूर्वसावधानीले कुनै पनि रोग सरेको थाहा भएन ।

पछिल्ला एक वर्ष संसारकै लागि भयवह रह्यो । हामी पनि सकेसम्म जोगिएरै सावधानीका उपायहरु अवलम्बन गरेरै काम गरिरहेकै थियौं । उच्च संक्रामक रोग भएकाले सावधानी अपनाउँदा अपनाउँदै पनि थुप्रै सहकर्मी संक्रमित बन्न पुगे ।

ममा संक्रमण देखिनुअघिको कुरा हो । केही समय अगाडि कोभिड वार्डकी सहकर्मी बहिनीलाई कोरोना पोजेटिभ भएको थियो। उनका श्रीमानसमेत पिसाआर गर्दा रिर्पोट पोजेटिभ आएको थियो।

दुबैको पोजेटिभ भएकाले हामी पनि संगै काम गर्ने भएर ४ जनाको कोरोना परिक्षण गराएका थियौं। जसमा म एकजनाको मात्र पोजेटिभ आयो । कार्तिक ७ मा पोजेटिभ आएपनि मैले आइसोलेसमा बस्न सुरु गरेँ।

मलाईं साधारण रुघाखोकी मात्र भएको थियो । कोेरोनाको वार्डमा काम गर्न थालेपछि घरमा भौतिक दुरी, मास्क अनिवार्य, अनि स्यानिटाइजर र साबुन पानीले हात धुने नियमहरु कडा रुपमा पालना गर्दै आएको थिएँ।

अलि नजिक सम्पर्कमा श्रीमान् हुनुहुन्थ्यो । त्यसैले मेरो रिर्पोट पोजेटिभ भएपछि श्रीमान्को पनि पिसीआर परीक्षण गराएका थियौं।

उहाँको रिपोर्ट नेगेटिभ आयो। श्रीमानकै नेगेटिभ आएपछि परिवारका अन्य सदस्यको पिसीआर परिक्षण गराइएन ।

कसैलाई पनि केही लक्षण थिएन। अनि फेरी अस्पतालमा काम गर्दा नै सरेको भन्ने भएरै पनि अरु सदस्यको पिसीआर गराइन्।
…..
सुरुमा कोरोना पोजेटिभ रिर्पोट सुनेको बेलामा त मलाई विश्वास नै लागेन । विश्वास नलागेर प्रयोगशालामा सोध्नसमेत गएको थिएँ। प्रयोगशालाका सहकर्मीहरुले पुनः दिदी तपाईको पोजेटिभ नै हो भनेपछि पत्याएँ ।

कोरोना लागिसकेपछि थाहा नभएसम्म केही हुर्दैन रहेछ। कोरोना पोजेटिभ भनेपछि मानसिक रुपमा तनाव हुने रहेछ। त्यो मलाई आफैले लागेपछि महसुस गरेँ।

कोरोना पोजेटिभ भनिसकेपछि एकछिन त हड्बढाएँ। के गरौं, के गरौं भयो। सबै कुरा थाहा भएता पनि त्यस्तो महसुस हुने रहेछ। सायद आत्मबल नै कमजोर बनाउने रहेछ कोरोना पोजेटिभ भएको थाहा भएपछि चाहिँ।

होम आइसोलेसन भएको ५औ दिन एकदम गाह्रो महसुस भयो। श्वास फेर्न गाह्रो भएको महसुस भयो । तत्काल अक्सिजन लेवल नापेँ ।

अक्सिजन ८० मा झरेछ। म आत्तिएर सहकर्मी साथीलाई फोन गरेँ। समस्या भएको कुरा सुनाएँ।अक्सिजन लेभल घटेको भए अस्पताल आइहाल्नु घरमा नबस्नु भन्ने सुझाब पाएँ ।

आइसियू नै भर्ना हुनुपर्छ कि भन्ने पनि लाग्यो । डर लाग्न थाल्यो। फेरी मैले आफुले विरामीलाई अक्सिजन लेभल घट्ने बेलामा घोप्टो पारेर सुत्न लगाएको सम्झें। आफू पनि

कोठाको झ्याल नजिकै गएर लामो लामो श्वास फेरेर घोप्टो परेर सुतेँ। यसरी दुई दिन गाह्रो भयो। दुई दिनपछि अक्सिजन लेभल नरमल भयो।
….
कोरोनाको लक्षणमा खोकी लाग्ने, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने र रुघाखोकी देखियो। तर ज्वरो आउने चाहिँ भएन।

सुरुमा स्वाद थाहा नपाउने बेलामा तरकारीमा नुन नै नहालेको जस्तो हुन्थ्यो । स्वाद नै नभएपनि यस्तो बेलामा झन खानुपर्छ भनेर खान्थेँ। अहिलेसम्म पनि जिव्रोले राम्रोसँग स्वाद थाहा पाएको छैन्।
….
कोरोना लागिसकेपछि १६ दिनमा फेरी डिउटी सुरु गरँे। कोरोना निको भएपनि यसको असरचाँहि निको भएको छैन्। अहिले पनि खोकी लाग्ने, भ¥याङ चढ्दा स्वास्वा आउने, ठूलोठूलो स्वारले कसैले केही भन्यो भने चिड चिडावट हुने जस्ता असर भएका छन्।

साथै पहिला पनि अलिअलि बिर्सिने त गथ्र्यो तर कोरोना भएपनि झन् धेरै बिर्सन थालेको महसुस गरेको छु।
……
कोरोना लागिसकेपछि सबैबाट माया र सदभाव पाएँ । सुरुसरुमा कोरोना वार्डमा काम गर्न थाल्दा बेलामा कतिपय सहकर्मीबाटै भेदभाव भोग्नुपर्यो। केही काम विशेषले

केही विभागीय प्रमुखहरुका कोठामा जाँदा हामी छिर्ने बित्तिकै खाइराखेको पानी पनि छोडेर कोठाबाट निस्की हाल्थे।

स्वास्थ्यकर्मीबाटै यस्तो व्यवहार देख्दा अचम्म लाग्थ्यो । अहिले सबै स्वास्थ्यकर्मीहरु जोखिममा छन्।

कोरोनाको उपचारमा लागेकी म कोरोना के हो भनेर कोरोना लागिसकेपछि अहिले महसुस गर्दैछु। यसले निकै गाह्रो पार्दो रहेछ । अहिले समाजमा कोरोना केही होइन भनेर वेवास्ता गर्ने र मास्क पनि नलागइकन हिडिरहेको देख्छु।

कोहीले मास्क लगाएको छ भनेपनि राम्रोसँग लगाएका छैनन्। कसैको नाक छोपिएको छैन्, कसैले चिउडोमा मास्क राखेको छ । यसरी मास्क लगाएर हुदैन् । लागेर कोरोना के हो भनेर बुझ्नु वा पछुताउनुभन्दा समयमै सावधान हुन म सबैसँग आग्रह गर्छु ।

दिनदिनै दश रुपैँया खर्च गर्न नसकिने अवस्था छ भने कपडाको मास्क नै भएपनि लगाउनुपर्छ ।

सकेसम्मम भौतिक दुरी कायम गरेर, हात स्यानिटाइजर वा साबुन पानीले हात धोएको खण्डमा आफू, परिवार र समाजलाई बचाउन सकिन्छ भने कि नगर्ने ?

सावधनी अपनाएको अवस्थामा संक्रमणबाट बच्न सकिन्छ, अस्पताल धाउनु पर्ने समस्याबाट जोगिन्छ भन्दा पनि किन नगर्ने?

मापदण्ड अपनाएर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई त कोरोना सरेको छ भने केही स्वास्थ्य सुरक्षा नअपाउने व्यक्तिहरुको अवस्था पछि के होला ? आफै सोच्ने बेला भएको छ। अरुको लागि होइन आफ्नो लागि मापदण्डको पालना गर्नुस्।

घरमा स्वास्थ्य मापदण्ड अपनाएकै कारण मेरो परिवारमा म बाहेक अरु सदस्य कोरोना पोजेटिभ हुनबाट जोगिए । आफूलाई कोरोना पोजेटिभ भएपछि अहिले झन् बढी सुरक्षामा ध्यान दिन थालेकी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय