छाती रोग विशेषज्ञ डा. ढुंगानाको संक्रमण अनुभूति –‘शारीरिकभन्दा मानसिक थकान बढी’

‘तपाई कोरोना संक्रमित हुनुहुन्छ!’

डा. अशेष ढुंगानाको गत १० गते मोबाइलमा म्यासेज आयो।

प्राप्त म्यासेजपछि उनलाई आफ्नो ख्याल भयो न त कुनै डर नै!

दिमागमा एउटै कुरा घुम्यो

छोरा!

कतै छोरालाई पनि संक्रमण स¥यो कि!

दिमागमा सानो छोराको चित्र घुमिरह्यो।

छोरा न केही बोल्न सक्ने न त,   केहि बुझ्ने ।

‘छोरालाई संक्रमण भई गाह्राे–साह्राे  भयो भने उनले आफ्ना कुरा राख्न सक्दिनन्।’

ठूला मान्छेले पो समस्या भन्न सक्छ र त्यो अनुसार गर्न सकिन्छ ।

दुई वर्षको फुच्चेले समस्या कसरी अभिव्यक्त गर्लिन र?

आशंका मिश्रित भावहरु पैदा हुन थाले मनमा।

भलै उनी आफै र श्रीमतीसमेत  डाक्टर हुन।

म्यासेज पढेरपछि लामो सास फेरे।

र श्रीमतीलाई पोजेटिभ रिपोर्ट आएको खबर सुनाए।

उनी छोरा र श्रीमतीबाट अलगै बस्न थाले ।

केही दिनपछि श्रीमती र छोरामा पनि भाइरस पोजेटिभ देखियो ।

तीनै जना होम आइसोलेसनमा बसे।

डा. ढुंगानाको मनमा छोराको चिन्ताले डेरा जमाइरहन्थ्यो।

तर, उनीलाई कोरोनाको कडा लक्षण देखियो। अस्पतालमा बसेर निगरानी र हेरचाह गर्नुपर्ने भयो।

‘ज्वरोका साथै शरीर दुख्ने, थकान महसुस हुन्थ्यो,’ छाती रोग विशेषज्ञ डा. ढुंगाना भन्छन्, ‘तर, श्वासप्रश्वास समस्या तथा अक्सिजन दिनुपर्ने अवस्था आएन।’

४—५ दिनपछि ती समस्या बिस्तारै कम हुँदै गए। तर,अस्पताल बस्दा पनि उनको मन छोरामा हुन्थ्यो।

‘अस्पतालको बसाईभर मन संधै छोरा माथि मात्र गयो। कुन बेला के हुन्छ थाहा हुँदैन। ६—७ दिनसम्म केही समस्या नदेखिएपछि बल्ल ढुक्क भएँ,’ डा.ढुंगानाले सुनाए ।

‘बेला—बेलामा सामाजिक सञ्जालमार्फत कुरा हुन्थ्यो। फोनबाट नै सल्लाह सुझाव दिने दिन्थे,’ उनी भन्छन्, ‘शारीरिक भन्दा पनि मानसिक थकान बढी भयो।’

वीर अस्पतालमा ४ दिनको उपचारकोपछि उनी थप ७ दिन होम आइसोलेसनमा बसे।

१३ दिनको पछि पुन परीक्षण गर्दा सबैलाई नेगेटिभ देखिएपछि उनी पुनः काममा फर्किएका छन्।

०००

नेपालमा कोरोना भाइरसको परिचाहन भएदेखि नै उनी वीरको व्यवस्थापन तथा उपचारमा खटिएका छन्।

यसरी संक्रमितको उपचार र व्यवस्थापन लागेको महिनौं बितिसक्यो।

संक्रमितको चाप बढेसँगै सरकारले वीरलाई कोभिड अस्पताल बनाएपछि कामको चाप झन् बढ्न थाल्यो।

विधागत रुपमा पनि छाती रोग विशेषज्ञ र कामको सक्रियताका आधारमा अस्पतालले उनलाई कोभिड व्यवस्थापनको संयोजक तोक्यो।

उनी बिरामीलाई कसरी राम्रो सेवा दिने र अस्पताल आएका बिरामीलाई फर्काउन नपरोस् भन्ने हिसाबले दिनरात काममा तत्लिन रहे।

‘बिरामीलाइै बेड नपाएर पठाउनु पर्दा मन खिन्न हुन्थ्यो।’ उनी सम्झिन्छन्, ‘स्वास्थ्यकर्मी उपचार गर्न सक्षम र तल्लिन भएपनि बेडको अभाव हुन्थ्यो,’

क्वारेन्टाइन, आइसोलेसन, तयारीदेखि, सामान तथा उपकरणको उपलब्धताको समन्वय, अनुगमन र मूल्यांकनको जिम्मेवारीमा उनी अहोरात्र खटिए।

उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी जोखिम नै रहन्छन्।

उनलाई पनि कुनै दिन संक्रमित हुने अवस्था आउँला भन्ने त थियो नै।

‘हरहमेसा सावधानीअपनाएर काम गर्दा पनि संक्रमित हुन पुगेँ’ उनी भन्छन् ।

सहकर्मी तथा साथि—भाई संक्रमित हुँदा उनले दिनरात लागिपरेर उपचार गरे।

उनको जिम्मेवार स्वभाव,  मिलनसार बानी, व्यवहारले गर्दा दुखमा साथीहरुले पनि उनैसँग साथ खोज्थे।

‘मलाई पर्दा पनि धेरै साथी र शुभेच्छुकको हौसला र साथले मनोवल बढायो’ उनले भने ।

एकपटक संक्रमण भइसकेपछि पुनः संक्रमण हुन सक्ने सम्भावना हुने भएकोले सावधानी अपनाउनुपर्ने उनी बताउँछन्।

‘धेरै स्वास्थ्यकर्मीमा पुन संक्रमणका केसहरू देखिरहेका छन्। जसले गम्भीर अवस्थामा सम्म पुर्याउने गरेको छ,’ डा. ढुगांना भन्छन्, ‘ संक्रमण जितेपछि पनि ढुंक भएर बस्ने अवस्था छैन।’

होम आइसोलेसनमा बस्दा सामान्य व्यायाम, खानपान र सामान्य औषधिको सेवन गरेको उनले बताए।

‘ज्वरो आएको बेलामा सिटामोल, भिटामिन सि र डि सेवन गरे,’ उनले भने, ‘फलफूलहरू धेरै खाए, सन्तुलित खाना, तातो तथा झोलिलो पदार्थको सेवनमा ध्यान दिएँ ।’

०००

पछिल्ला दिनमा बिरामीको चाप केही कम भएको छ। तर पनि फेरी संक्रमण बढ्ने जोखिम उस्तै छ।

अहिले नर्मल बेडहरू पाउन केही सहज भएको छ। तर अस्पतालका आइसियु भरिभराउ नै छन् ।

ठूलो महामारीका समयमा उपचार सेवामा प्रर्याप्त व्यवस्थापन गर्न नसक्दा नागरिकले पाएको दुःख सम्झेर उनी तरंगित हुन्छन् । यति ठूलो महामारीमा पनि राज्य प्रणालीले प्रयाप्त रेस्पोन्स गर्न नसकेको उनको बुझाई छ ।

अस्पतालमा संक्रामक रोगको लागि सेटअप भएको भए महामारीमा राज्य प्रणाली यति कमजोर देखिने थिएन । बिरामीले यति सास्ती खेप्न नपर्ने उनको अनुभव छ।

अझै पनि संक्रमणको जोखिम कायम नै रहेकोले सुरक्षा—सावधानी ध्यान दिनुपर्ने सुझाव उनी दिन्छन् ।

अहिले पनि जसरी बजारमा भीडभाड भइरहेको छ। संक्रमणको जोखिम झन बढिरहेको छ।

यसै पनि चिसो मौसमसँगै श्वासप्रश्वास र अन्य संक्रमण बढ्छ ।

‘यो समयमा फोक्सो तथा श्वासप्रश्वासससम्बन्धी अन्य रोग र कोरोनाको संक्रमण एवं जटिलताको जोखिमसमेत बढ्छ।’ उनले भने ।

यहि परिस्थितिमा संक्रमणको दोस्रो लहर आएमा झन् चुनौतीपुर्ण हुने उनीको बुझाई छ ।

‘अमेरिका, युरोपमा दैनिक लाखौं संख्यामा नयाँ संक्रमण पहिचान भएका छन्। यही आधारमा पनि हाम्रो देशमा महामारीको अर्को लहर पनि आउनसक्छ,’ उनी भन्छन्,  ‘अहिले नै संक्रमणको लहर सकियो भनेर ढुक्क बसेर बस्नुपर्ने अवस्था छैन। अर्को लहरको तयारीमा जुट्न पर्दछ।’

अहिले एक पटक संक्रमण भएकाहरु पुनः संक्रमण हुँदैन भन्ने हिसाबले लापरबाही गरिरहेका छन्। जसले ठुलो खतरा निम्ताउने छ,’ डा. ढुंगाना थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय