लक्षण देखिएर पिसिआर नेगेटिभ आएपनि सचेत बनाैं

कोरोना र निमोनियाको लक्षणसहित मंसिर ११ गते एक जना ५० वर्षीया आमा अस्पताल आउनु भयो। उहाँको पिसिआर रिपोर्ट नेगेटिभ थियो।

तत्काल गरिएको एन्टिजेन टेस्ट पनि नेगेटिभ नै आयो। एन्टिबडी टेस्ट गर्दा भने उहाँमा कोरोना पोजिटिभ देखियो। यसको अर्थ हो उहाँको शरीरमा कोरोनाको एन्टिबडी तयार भइसकेको थियो।

पिसिआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोरोना अस्पतालमा उपचार गर्ने? हामी धर्म संकटमा पर्यौं। तर, कोरोनाले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आइसियुमा राखेर उहाँको उपचार थालियो।

आइसियुमा एक साता र त्यसपछि कोभिड वार्डमा उपचारपछि उहाँ १५औं दिनमा डिस्चार्ज हुनु भयो। तर, यो घटनाले हामीलाई झक्झक्याएको छ। लक्षण देखिएका तर पिसिआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी छ।

परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।

लक्षण भएका तर अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पिसिआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ। ५० वर्षीया आमाजस्तै पिसिआर नेगेटिभ अन्य केही कोरोनाका बिरामी उपचाररत छन्। त्यसैले पिसिआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं।

विश्वव्यापी पछिल्ला अनुसन्धानले कोरोना संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जिवित भाइरस नरहने देखाएका छन्। त्यसैले कोरोना पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनुभन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं। कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं। आफू बचौं अरूलाई पनि बचाऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय