टिचिङमा पहिलो पटक बच्चामा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ सफल उपचार

उपचारपछि सिजन खरेल ।

टिचिङमा पहिलो पटक एकजना बालकमा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ देखा परेको छ। यसको बैज्ञानिक नाम एमआइएस–सी हो।

यो रोग बालबालिकामा किन लाग्छ भन्ने कुराको यकिन त छैन तर, अहिले यो बालबालिकामा कोरोना भाइरससँगै जोडिएर देखिएको छ।

यद्यपि सुरुमा बालबालिकामा कोरोनाका लक्षण वा संक्रमण नभए पनि बालबालिकाको मुटु, फोक्सो, किड्नी, दिमाग, छाला, आँखालगायतका अंगहरूमा त्यसको असर देखिन्छ।

चिकित्सकहरूले यसलाई बालबालिकामा कोरोनाको कुनै लक्षण वा संक्रमण नभएपनि ‘एन्टिबडी’ बनिसकेको अवस्थामा यस्तो रोगले आक्रमण गर्छ, भन्ने विश्लेषण गरेका छन्।

चितवन घर भएका ८ वर्षीय सिजन खरेललाई मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम पुष्टि भएको छ।
०००

मंसिर १ गते खरेललाई बारम्बार वाकवाकी आउने भएको थियो। तर, परिवारले चिसोले होला भन्दै समान्य रूपमा लिए।

बच्चालाई ३ गते बेलुकीबाट ज्वरो आयो। विभिन्न मेकिडल फार्मेसी जाँच गरेर औषधी पनि दिइयो। तर, ज्वरो कम भएन।

‘रातिको समय धेरै ज्वरो थियो,’ सिजन आमा शोभा खरेल भन्छिन्, ‘त्यहीँका अस्पतालमा भर्ना गरेर राख्यौं तर रोगै पत्ता लागेन।’

बच्चालाई ६ गते नारायणी अस्पताल भर्ना गरियो। ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भयो। अक्सिजन नै दिनुपर्ने अवस्था आयो।

८ गते सिर्जनको अवस्था झन खराब हुँदै गयोर। आइसियुमै राख्नुपर्ने भयो। त्यो बेलासम्म पनि उनलाई के भएको भन्ने यकिन चिकित्सकहरूले गरिसकेका थिएनन्।

त्यसपछि परिवारले काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याए।

अस्पतालमा ल्याउने बित्तिकै आकस्मिक कक्षमा भर्ना गरियो।

कोरोना रिर्पोट नेगेटिभ आएसँगै बच्चालाई पिआइसियुमा भर्ना गरियो। त्यसपछि उनलाई भेन्टिलेटरमै राख्नु पर्यो।

प्रा.डा. सिर्जना बस्नेत

०००
उपचारमा संलग्न बाल रोग विशेषज्ञ  डा. सिर्जना बस्नेतका अनुसार सिजन ‘हार्ट फेलियर’ अवस्थामा आइपुगेका थिए। अर्थात् उनको मुटुले राम्रोसँग काम गर्न सकिरहेको थिएन।

‘बाबुको लक्षणको आधारमा हामीले हार्ट फेलियर भएको अनुमान लगाएका थियौं,’ डा. बस्नेतले भनिन्, ‘बच्चाको अवस्था एकदमै सिरियस भइसकेको थियो।’

त्यसैको आंकलनमा चिकित्सकहरूले उपचार सुरु गरे।

अवस्था झनझन् बिग्रदैं गयो र भेन्टिलेटरमा नै राख्नुपर्ने अवस्था आयो।

‘त्यतिबेला मुटुले राम्रोसँग काम गरेको थिएन। शरीरमा रगत सन्चालन एकदमै कम मात्रामा भएको थियो,’ डा. बस्नेत भन्छिन्, ‘ब्लड प्रेसर कम भएको थियो, धड्कन एकदमै बढिरहेको थियो।’

मुटुले काम नगर्ने अवस्था विभिन्न कारणले हुन्छ। चिकित्सकहरू त्यसको कारण पत्ता लगाउन जुटे। तर पनि कारण पत्ता लागेन।

‘हार्ट फेलियर हुने अवस्था भाइरसको कारणले हो। इन्फ्लुन्जा, स्क्रप टाइपसजस्ता विभिन्न कारण पत्ता लगाउन परीक्षण गरियो,’ डा. बस्नेत भन्छिन्, ‘तर, रोग परिचाहन हुन सकेन। हामी सबै अचम्मै भयौँ।’

यसबीचमा इकोकार्डियोग्राम पनि भयो। जसमा मुटु रक्तसन्चारको अवस्था बुझ्न सकिन्छ। औषधी गर्दागर्दै पनि बच्चाको स्वास्थ्य अवस्था बिग्रदैं गयो।
सबै चिकित्सक छलफल र अध्ययन अनुसन्धानमा लागे।

धेरै अध्ययन (विभिन्न जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन) र बिरामी बालकको लक्षणको आधारमा चिकित्सकहरू सिर्जनको शरीरमा ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ भएको निश्कर्षमा पुगे।

‘यहाँ भएका सबै जाँच गर्दा कुनै पनि रोग तथा किटाणु देखिएन। कोरोनाको एन्टीबडी परीक्षण गर्दा पोजेटिभ आयो। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप परीक्षण गर्दा बच्चामा मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम भएको पत्ता लगाउन सकियो,’ डा. बस्नेतले भनिन्।

त्यसपछि एमिनोग्लोनि औषधी दिइयो। यो औषधीले बिरामी सिर्जनमा सकारात्मक परिवर्तन आउन थाल्यो।

‘यो औषधी अलि महंगो छ। अरु रोगमा पनि प्रयोग हुन्छ’ डा. बस्नेत भन्छिन्, ‘यो औषधी चलाएपछि बाबुको ज्वरो धेरै कम भयो। सकारात्मक लक्षण देखा पर्न थाल्यो।’

केही सुधार देखाएपछि बच्चालाई भेन्टिलेटरबाट बाहिर निकालियो। अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य छ।

भेन्टिलेटरमा हुँदा प्रत्येक पल रोएर बित्यो

शोभा खरेल र साथमा छोरा

अस्पतालमा चिकित्सक तथा नर्सको केयर एकदमै राम्रो भएको शोभा बताउँछिन्।

‘उहाँहरुकै मिहेनतले गर्दा आज मेरो बाबु काखमा छ। यहाँ हुनुभएका चिकित्सक अनि नर्सहरुले राम्रो केयर गर्नुभयो’ उनले भनिन्।

‘भेन्टिलेटरमा बाबुको उपचार हुँदा रोएरै बिताएकी थिएँ। अहिले यो अवस्थामा देख्दा धेरै खुसी छौं,’ उनी भन्छिन्, ‘यस्तै समस्या भएका हाम्रो बाबु जस्ता अरु बालबालिका होलान्। यस्तो समस्याको बारेमा अरुले पनि जान्नुपर्छ।’

उपचार टोली

उनको उपचारका लागि डा.अरूण कुमार शर्मा,डा.सिर्जना बस्नेत, डा.सूर्यबाहदुर थापा, डा. डिल्ली भुतेल (अमेरिका) डा. विजय खरेल लगायत बालरोग विभाग सम्पुर्ण टोली सहभागी भएका थिए।

कस्ता लक्षण देखिन्छन्?

चिकित्सकहरूका अनुसार यो यस्तो बिरामीमा निम्न लक्षण देखा पर्छन्–
• चौबिस घण्टाभन्दा बढी समयसम्म ज्वरो निरन्तर हुनु
• वाकवाकी लाग्नु
• पखाला लाग्नु
• पेट दुख्नु
• छालामा बिबिरा आउनु
• थाकाइ लाग्नु
• मुटुको धड्कन छिटोछिटो चल्नु
• स्वास छिटो छिटो चल्नु
• आँखा रातो हुनु
• जिब्रो र ओंठ सुन्निनु र रातो देखिनु
• हात खुट्टा पनि रातो देखिएर केही सुन्निएजस्तो हुनु
• टाउको दुख्नु

कोभिड नयाँ प्रकारको संक्रमण भएका कारण सबैजना सचेत हुनुपर्ने डा. बस्नेत बताउँछिन्।

यो रोगको बारेमा चिकित्सकलाई पनि कम जानकारी हुने भएका कारण उनीहरूले पनि यसका बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने डा. बस्नेतको भनाइ छ।

डा. बस्नेतका अनुसार बालबालिकामा देखिने यो प्रकारको रोग पहिलो हो।

टिचिङमा यो केस देखिएको पहिलो हो।

यसको असर पछिसम्म पनि देखा पर्नसक्छ वा त्यसको प्रभाव शरीरका अन्य अंगहरूमा धेरैपछि पनि देखिन्छ।

गत अक्टोबरसम्ममा अमेरिकाका करिब १ हजार २ सय भन्दा बढी बच्चामा मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम देखिएको थियो।

त्यसैगरी, भारतको तामिलनाडुमा पनि केही संख्यामा यस्तो रोगको पहिचान भएको पाइएको छ।

‘यो त हाम्रो देशमा पनि होला तर पहिचान हुन नसकेको हो’ डा.बस्नेत भन्छिन्,‘बच्चाहरू अस्पतालसम्म आइपुग्न नसकेर पनि हुनसक्छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *