कोरोनामुक्त युवामा दीर्घलक्षण

झन्डै साढे २ लाखहाराहारी नेपाली कोरोना संक्रमित भइसकेको तथ्यांकले देखाउँछ। तीमध्ये युवा सबैभन्दा बढी प्रभावित छन्। केहीमा कोरोना भाइरसमुक्त वा उपचार (कोभिड–१९) पछि पनि स्वास्थ्यमा निरन्तर ‘लङ’ कोभिड (लामो समय) हुने गरी लक्षण देखिने गरेको अर्थात् अर्को शब्दमा भन्दा संक्रमितहरू पहिलेजस्तै गुणस्तरीय जीवनमा फर्कन सकेको देखिँदैन। यसलाई ‘पोस्ट कोभिड’ असर वा ‘लङ कोभिड’ नामले पनि चिनिन्छ।

कोभिड–१९ का बिरामीमामा लक्षण सामान्य भए दुई हप्ता र कडा भए पाँच हप्तामा पूर्णरूपमा स्वास्थलाभ हुने तथ्यांकले देखाउँछ। तर, केही समययता नेपालमा पनि कोरोना भाइरसमुक्त भइसकेका वा कोभिड–१९ उपचार गरी फर्केकाले पनि स्वास्थ्यमा निरन्तर समस्याले ‘ल्याङ ल्याङ’ गर्ने गरेको भनेर पंक्तिकारसँग बताउने गरेका छन्।

तर, आश्चर्य के छ भने उनीहरू १८ देखि ३० वर्ष उमेरका हुन्। उनीहरूमा श्वासप्रश्वासदेखि मानसिक समस्यासम्म देखिएका छन्। उनीहरू अलि हतोत्साही र चिन्तित पनि छन्, जुन स्वाभाविक हो किनभने भाइरसमुक्त भइसकेपछि जो कोही पनि पूर्ववत दैनिकीलाई निरन्तरता दिन चाहन्छन्।

अमेरिकी स्वास्थ्य संस्था सिडिसीका अनुसार अमेरिकामा गरिएको एक अध्ययनले ‘पोस्ट कोभिड’ असर भएकामा सतप्रतिशतमा एकभन्दा बढी स्वास्थ्य समस्या देखिएका थिए। सबैभन्दा धेरैमा थकान महसुस हुने र त्यसपछि खोकी देखिएको थियो। त्यस्तै टाउको दुख्नु, जिउ दुख्नु, शरीर तात्तिनु, गन्ध र स्वाद थाहा नपाउनु, छाती दुख्नु र श्वासप्रश्वासमा समस्यालगायत पोस्ट कोभिड अवधिमा देखिएका थिए।

यो पंक्तिकारले पनि पोस्ट कोभिड असर भएकामा अत्यधिक थकान हुने, शरीर तातेको महसुस गर्ने, खोकी लाग्ने, संक्रमणपूर्वमा जस्तै शारीरिक शक्ति नभएको, छाती भारी र दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने, मुटुको धड्कन अनियमित देखिने, पेट दुख्ने र मानसिक समस्या हुने गरेको देखेको थियो।

पंक्तिकारले सानो संख्यामा मात्र देखेको भए पनि नेपालमा वास्तवमा कति प्रतिशतमा कोरोना भाइरसमुक्त भएपछि वा उपचारपछि यस्ता लक्षणले ‘ल्याङ ल्याङ’ गरिरहेको वा गणस्तरीय जीवन बिताउन नसकिरहेको होला भनेर यकिन तथ्यांक भने छैन।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार कोरोना भाइरसमुक्त वा उपचारपछि पनि अस्वस्थ महसुस वा लक्षणबाट ग्रस्त हुनेमा ठूलो संख्याका युवा छन्। सामान्य लक्षण भएकामा पनि संक्रमणमुक्त भएपसछि आफ्नो दैनिकी पहिलेजस्तो गुणस्तर र सहज नभएको भन्ने प्रशस्त छन् ।

झन्डै ३ लाख ५५ हजार अमेरिकी संक्रमित तीन हप्ता पछि आफ्नो कार्यस्थल फर्कन सकेका थिएनन्। तीमध्ये १८ देखि ३४ वर्षका युवा संक्रमित ९२ हजार ५० थिए। सन् २००३ मा देखिएको सार्स भाइरसबाट संक्रमितमा २४ महिना वा त्यसभन्दा पनि शारीरिक कार्य क्षमता ह्रास भएको र ४ सय ५ भन्दा बढी संक्रमित साढे तीन वर्षसम्म थकानको समस्याबाट ग्रस्त भएका थिए।

पछिल्लो समय नेपालमा कोभिड–१९ का कारण तुलनात्मक रूपमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको मृत्यु बढी हुँदै गइरहेको देखिन्छ। युवाहरू कोरोना संक्रमित भई तुलनात्मक रूपमा अस्पताल नै भर्ना हुनु नपरेको र जटिल नदेखिए पनि पोस्ट कोभिड असरले गाँज्दै गएको देखिन्छ।

विशेषतः मुटु, फोक्सो, स्नायु प्रणाली, मानसिक, मांशपेसी लगायतसँग सम्बन्धित समस्या देखिने गरेको पाइन्छ। तर, कसलाई कुन अंगमा किन समस्या देखिन्छ? देखिने छ भनेर अनुमान भने गर्न सकिँदैन। देखिएकामा पनि यी समस्या कति लामो समयसम्म रहन्छ भन्न सकिन्नँ।

पंक्तिकारसँग संक्रमणमुक्त वा कोभिड–१९ उपचार गरेकामा केही हप्ताको अन्तरालमा समेत यस्ता समस्या देखिन सुरु गरेको अनुभव छ। अर्थात्, उपचार गरी स्वस्थ्यलाभ गरिसकेपछि पनि केही हप्ताको अन्तरालमा शरीर पहिलेजस्तो फुर्तिलो नभएको र स्फूर्ति नआएको अथवा स्वास्थ्य समस्याले गाँजिएर ल्याङ ल्याङ गरेको देखिन्छ।

धेरैले यस्ता लक्षण देखेपछि स्वास्थ्य परीक्षण (चिकित्सकसँग सल्लाह गरी होल बडी चेकअप) समेत गरेका तर परीक्षणबाट खासै त्यस्ता समस्या नदेखिएका छन्। हाल पोस्ट कोभिड असरका लागि निश्चित औषधी वा समाधानका उपाय निस्किसकेको छैन। हाल लक्षणमा आधारित उपचार नै गर्ने गरिन्छ। उपचार निर्देशिका पनि उपलब्ध छैन।

पंक्तिकारको अनुभवमा पोस्ट कोभिड असर देखिएर पूर्ण शारीरिक जाँच (प्रयोगशाला परीक्षणसहित) पछि पनि समस्या नदेखिएको अवस्थामा विस्तारै शारीरिक व्यायामलाई प्राथमिकता दिँदै जाने, ध्यान गर्ने र आफ्नो काममा केन्द्रित हुने गर्दा समयक्रममा पोस्ट कोभिड असर सुधार हुँदै गएको देखिन्छ।

कोरोनामुक्त भैसकेपछि पनि युवामा लक्षणहरूले ल्याङ ल्याङ गर्ने गरेको र काम एकाग्रताबाट विचलित हुने गरेको पाइन्छ। हाल यस्ता समस्याबाट गुज्रिरहेकाले उन्मुक्ति पाउन विभिन्न अस्पताल धाइरहेका पनि छन्।

कोरोना विश्वकै लागि नौलो भाइरस भएकाले यसले स्वास्थ्यमा कस्तो दीर्घकालीन असर पार्छ भन्ने पर्याप्त ज्ञान छैन। भाइरसमुक्त हुनु भनेको शरीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ हुनु हो भन्ने होइन।

तसर्थ, युवा हुँ भनेर कोरोना संक्रमणबाट बच्न हेलचेक्र्याँइ गर्नुहुँदैन। हालका लागि कोरोनाबाट बच्ने उत्तम उपाय भनेको जनस्वास्थ्यका मापदण्ड हुन् र यसको सही तरिकाले पालना गर्नुपर्छ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय