कोरोना पोजेटिभ आएन, तर ४५ दिन संक्रमितसँगै उपचार

हेल्थपोस्ट नेपाल

‘खाएको विष पो लाग्छ, नखाएको लाग्दैन’ भन्ने उखान भक्तपुर ब्यासीका ४९ वर्षीय दीलिपकुमार सुवालमाथि ठ्याक्कै चरितार्थ भएको छ।

उनी सम्भवतः एकमात्र यस्ता ‘बिरामी’ हुन्, जो कोरोना भाइरस संक्रमण पुष्टि नै नहुँदा पनि डेढ महिनाभन्दा बढी अवधि कोरोना संक्रमितसँगै अस्पताल बसेर उपचार गराए।

अब यिनै सुवाललाई सोध्नुस् कोरोना के हो भनेर?

सुवाल एक साताअघि संक्रमण नै पुष्टि नभएको कोरोना जितेर अस्पततालबाट घर फर्केका हुन्। कोरोनाकै कारण उनले ४५ दिन अस्पतालको आइसोलेसन बेडदेखि आइसिसियु र एमआइसियु पुगेर ‘निको’ भएका हुन्।

सुवाल २७ वर्षदेखि भक्तपुर नगरपालिका काम गरिरहेका छन्। अहिले उनी स्यानिटेसन उपशाखा प्रमुख छन्। कोरोना महामारीमा उनी दिनरात काममा खटिए। धेरै सहकर्मीलाई कोरोना संक्रमण भयो।

उनलाई पनि असोज २७ गते सञ्चो भएन। सायद, कामको बोझले होला भन्ने सोचे। तर, तुरुन्तै कोरोना हो कि भन्ने शंका लागेर होम आइसोलेसन बसे।

बिनालक्षण पिसिआर परीक्षण नगराउनू भन्ने सरकारको निर्णय उनले पनि माने। भोलिपल्ट भक्तपुर जनस्वास्थ्य पुगेर छातीको एक्से गरे,  तर खराबी देखिएन। डाक्टरले ‘चिन्ता नलिनू, कामको चापले गाह्रो भएको हुनसक्छ, आराम गरे निको हुन्छ’ भने।

केही दिन होम आइसोलेस बसे तर कात्तिक १ गते झन् गाह्रो भएपछि पिसिआर परीक्षण गराउन आफैं मोटरसाइकल हाँकेर भक्तपुर अस्पताल गए। त्यहाँ अक्सिजन र ज्वरो नापेपछि पिसिआर नगराइ घर फर्काइदिए।

त्यसपछि सुवालले भाइको सहयोगमा सल्लाघारीस्थित इवामुरा अस्पतालमा सःशुल्क पिसिआर परीक्षण गराए।

‘रिपोर्ट नेगेटिभ आएको थियो। निजी भएर पनि होला एकै दिनमा रिपोर्ट दियो,’ उनले भने, ‘तर पनि मलाई विश्वास लागेन अनि अस्पताल भर्ना गरिदिनस् भनेँ। अस्पतालले कोरोनाका बिरामी राख्ने गरेको छैन भने पनि मेरै जिद्दीले भर्ना भएँ।’

कात्तिक १ गते।

मध्याह्न करिब १२ बजेदेखि उनको ज्वरो एक्कासि बढेर १०३ देखि १०४ डिग्री फरेनहाइटसम्म पुग्यो। त्यसमाथि अक्सिजन लेभल पनि धेरै नै कम हुन थाल्यो। सुवाल बोल्न नसक्ने अवस्थामा पुगे।

श्रीमानको अवस्था देखेर उनकी श्रीमती दिलकेशरीले आँशु थाम्न सकिनन्। जति उपचार गर्दा पनि सुवालको स्वास्थ्यमा सुधार भएन।

त्यसपछि स्वास्थ्यकर्मी र परिवारको सल्लाहमा भोलिपल्ट श्रीमती र छोराको पिसिआर परीक्षण गरियो। तर, दुवैको रिपोर्ट पोजिटिभ आयो।

सुवालको अवस्था सुधार नभएपछि कात्तिक ३ गते भक्तपुर क्यान्सर अस्पतालमा सिटिस्क्यान गराए। रिपोर्टमा कोरोना नेगेटिभ देखाए पनि उनको फोक्सोमा भने कोरोना भाइरसले असर गरिसकेको थियो।

त्यसपछि सुवाललाई काठमाडौं बलम्बुको सशस्त्र प्रहरी अस्पताल लगियोे। त्यसको लागि पनि धेरै हन्डर खानुपरेको दिलकेशरी  सुनाउँछिन्। आफू पनि कोरोना संक्रमित भएकाले श्रीमानसँगै बलम्बु गइन्।

सुरुमा अक्सिजन दिएर राखिएको थियो। दुई दिन अलि सञ्चो भएको थियो। ‘तर, एक दिन शौचालय बाहिर एक्कासि बेहोस भएर पछारिनुभयो,’ दिलकेशरीले भनिन्, ‘केही बेरमा होस आयो। मैले रुँदै मलाई चिन्नुभयो भनेँ। अनि उहाँले मेरो नाम भन्नुभयो।’

त्यसपछि सुवाललाई दुई गुणा बढी अक्सिजन दिनुपर्ने डाक्टरले बताए। १० दिन पछि फेरी उनी अचेत भए र आइसियुमा राखियो। दिलकेशरी आफैं कोरोना संक्रमित भएका कारण उनलाई आइसोलेसन राखियो।

‘म आइसोलेसन वार्डमा गएर ह्वाँह्वाँ रोएँ। त्यो वार्डमा महिला म एक्लै थिएँ। कसैले पनि किन रोएको भनेनन्। सायद, मलाई कोरोना भएको वा श्रीमानको अवस्था देखेर हो,’ उनले भनिन्, ‘त्यसपछि म जिद्दी गरेर घर फर्कें। माइती गएर आइसोलेसन बसेँ।

सुवाललाई आइसियु भेन्टिलेटरमा राखेको आठौं दिनमा बाहिर निकालियो। केही दिनमै स्वास्थ्यमा सुधारको महसुस भएको सुवाल बताउँछन्।

‘भेन्टिलेटरमा हुँदा अब त बाँच्दिन होला भन्ने मनमा लागेको थियो,’ सुवाल भन्छन्, ‘त्यतिखेर आँखा चिम्लेर हात मुठी पारेर आफैंलाई सम्हालेँ।’

बलम्बु अस्पतालमा जनशक्ति अभावले राम्रो सेवा दिन नसकेको उनको अनुभव छ। खाना खाँदा पानी माग्दा स्वास्थ्यकर्मी नहुने, कुनै बेला १ घन्टापछि आउने गरेको उनी बताउँछन्। खाना नरुचे पनि शरीर बलियो बनाउन जबर्जस्ती खाना खान्थे उनी।

बलम्बुमा थप उपचार हुन नसक्ने भएपछि सुवाललाई ललितपुर किस्ट अस्पताल पठाइयो। बलम्बुको आइसियुबाट बाहिर निकाल्दा उनको पछाडि भागमा घाउ नै घाउ थियो, उनी चल्न, चटपटाउन सक्ने अवस्थामा थिएनन्। उनको अवस्था थप बिग्रिँदै गए पनि किस्टका डाक्टरले ‘यहाँ सकिँदैन, अन्तै लैजानुस्’ भने।

‘पहिल्यै किन नभनेका् भनेर म कड्किएँ, तर उनीहरूले मान्दै मानेनन्,’ श्रीमती दिलकेशरीले भनिन्, ‘त्यसपछि अनेक उपाय लगाएर काठमाडौं टिचिङ अस्पताल लग्यौं।’

दिलकेशरीलाई अहिले एउटा प्रश्नले घर गरिरहेको छ- ‘मेरो श्रीमानलाई के कारण कोरोना पोजिटिभ देखाएन?’

सुवालले टिचिङ पुगेपछि बाँचिन्छ भन्ने आसा पलाएको बताए। दुईजनाले दुई बिरामी हेर्न व्यवस्था मिलाइको र केही चाहिए नर्सहरूले तुरुन्तै ल्याइदिने गरेपछि उनलाई थप आत्मविश्वास जाग्यो।

‘सबै अस्पतालमा यस्तै सुविधा भए आइसियुमा गएका बिरामी पनि घर फर्किन पाउने चान्स हुन्छ,’ सुवाल भन्छन्।

सुवालले २१ दिन एमआइसियुमा, तीन दिन आइसिसियु, तीन दिन वार्ड र २ दिन सामान्य वार्डमा बिताए।

भित्रभित्रै कोरोनाले खाए पनि सुवाललाई ४५ दिनसम्म कहिल्यै पनि कोरोना पोजिटिभ देखिएन। ‘लक्षण सबै कोरोनाको भए पनि रिपोर्ट सधैं नेगेटिभ आयो,’ सुवाल भन्छन्, ‘म अचम्भित छु।’

खोकी लाग्ने, ज्वरो बढी आउने, अक्सिजन लेभल घट्ने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिए पनि कोरोना पोजिटिभ नभएका व्यक्ति हुन् उनी।

‘त्यसैले कोरोना नेगेटिभ रिपोर्ट आएको छ भनेर ढुक्क र बेवास्ता नगर्नुस्,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीले भने जसरी नै पिसिआर परीक्षणमा सय प्रतिशत विश्वास गर्नु हुँदैन।’

अस्पताल लगेदेखि डिस्चार्ज नभएसम्म उनी बेडबाट आफैं उठ्न सकेनन्। अस्पताल अवधिभरि डाइपरमा दिसापिसाव गर्नुपर्ने अवस्था थियो। ‘यस्तो अवस्था कसैलाई पनि नहोस्। मृत्युलाई पछाडि पारेर आएको छु अब कहिले पनि अस्पतालको आइसियुमा जान नपरोस्,’ सुवाल भन्छन्, ‘दीर्घरोगीलाई मात्र धेरै गाह्रो हुन्छ भन्ने नसोच्नुस्।’

कसरी लाग्यो कोरोना?

स्यानिटेसन उपशाखा प्रमुख भएका कारण अफिसबाटै सरेको हो कि भन्ने सुवालको अनुमान छ। उनकै शाखाका धेरैलाई कोरोना लागेका थिए भने केही निको भएर काममा पनि आइसकेका थिए। संक्रमितसँगको सिधा सम्पर्कबाट सरेको उनको अनुमान छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *