नागरिक अगुवाहरूले भने- काेभिड खोपमा पारदर्शिता नअपनाए संकट झनै लम्बिन सक्छ
नागरिक अगुवाहरूले कोभिड-१९ विरुद्धको खोप खरिद तथा आयात प्रकियामा पारदर्शिता अपनाउन अपिल गरेका छन्।
महामारीका बेला अनियमितता भएका खबर बाहिर आइरहेका बेला नागरिक अगुवाहरुले मंगलबार एक अपील जारी गरी खोप छनोट, आयातदेखि वितरणको प्राथमिकता निर्धारणमा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न सरकारसँग आग्रह गरेका हुन्।
‘त्यसो गर्न सके महामारी नियन्त्रणमा बल पुग्ने मात्रै हैन सरकारको आफ्नै विश्वसनीयता बढ्नेछ,’ अपीलमा भनिएको छ।
विश्वव्यापी कोभिड-१९ महामारीले सिर्जना गरेको चौतर्फी संकट र निराशाबीच पछिल्लो समय खोप विकास, परीक्षण र वितरणसम्मका खबर आइरहेका छन्।
‘नेपालले आफैं खोप विकास नगरेकाले हामीकहाँ भ्याक्सिन खरिद, आयात र वितरणको विषय अहिले महत्वपुर्ण बनेको छ। राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौं,’ अपीलमा भनिएको छ, ‘अर्कोतिर महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैं अब पनि अव्यवस्था र अनियमितता भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्नेछ।’
यसरी अपील जारी गर्नेमा सुशीला कार्की, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मलिक, अनुराधा कोइराला, विमल कोइराला, नोवेलकिशोर राई, मोहना अनसारी, रमेश खरेल र केदारभक्त माथेमा रहेका छन्।