चितवन कारागारमा बिरामी कैदीबन्दीको चाप

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २३ गते ११:५३

कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् ।

यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् ।

उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेलेका अनुसार नवलपुर, नवलपारसी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका जिल्लाबाट बिरामी कैदीबन्दी पठाउने गरिएको छ ।

अहिले कारागारमा उच्च रक्तचापका ७३, मधुमेहका ६२, थाइराइडका ११, मुटुरोगी छ, एचआइभी एड्स सङ्क्रमित तीन, छारेरोगका दुई, पक्षघातका दुई, नसा, कुष्ठरोग र क्षयरोगका एक/एक जना रहेको काफ्लेले जानकारी दिए ।
उनका अनुसार बिरामीमध्ये सबैभन्दा धेरै चितवनका छन् ।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहाँ पठाउने गरिएको उनले बताए ।

अहिले यस कार्यालयमा क्षमता झण्डै तेब्बर कैदीबन्दी छन् ।

दुई सय ५५ जना पुरुषको क्षमता रहेको कारागारमा ६४४ पुरुष, २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५५ महिला र दुई आश्रित बालबालिका छन् ।

उनीहरूको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४८ लाख ७५ हजार खर्च गरेको थियो भने अहिले कोभिड–१९ सङ्क्रमणका कारण बजेट कटौती गरेको छ ।

अहिले उपचारका लागि रु २२ लाख विनियोजन गरेको उनले बताए ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय