‘मस्कुलर डिस्ट्रोफी’ले खुम्च्याएका ललिताका सपना
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक…
लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताको यो हरफ सबैलाई कण्ठै होला र यहीअनुसार आफ्नो लक्ष्य पनि राखेका होलान्।
तर, जब लक्ष्यको कुरा हुन्छ ललिता बस्नेत अलमल पर्छिन्। उनले लक्ष्य के हो भनेर नबुझेकी पक्कै होइनन्, तर लक्ष्य राखेर के हुने हो र भन्दै निराश पनि भएकी हुन्।
२१ वर्षीया ललिता ‘मस्कुलर डिस्ट्रोफी’ बिरामी हुन्।
मस्कुलर डिस्ट्रोफी एक वंशानुगत रोग हो।
डिस्ट्रोफिन नामक प्रोटिनको कमीले माशंपेसी कमजोर हुँदै जान्छ। जति उमेर बढ्दै जान्छ, हिँड्न, हात खुट्टा चलाउन समस्या हुँदै जान्छ।
१४ वर्षको कलिलो उमेरमा ललितालाई मस्कुलर डिस्ट्रोफी भयो। यो कुरा न उनलाई थाहा भयो न उनको घरपरिवारलाई।
विस्तारै उनलाई हिँड्न समस्या भयो। उनलाई बोल्न पनि समस्या हुन थाल्यो। बहिनीको सहायतामा विद्यालय जान थालेकी थिइन्।
समस्या बढ्दै जान थालेपछि उनलाई उपचारका लागि लगियो। अनि मात्र थाहा भयो मूल समस्या। उनलाई वंशानुगत रोग लागेको रहेछ।
उनले कक्षा ६ सम्म भारत दार्जिलिङमा पढिन्।
त्यतिबेला उनलाई त्यस्तो केही समस्या भएन। आफैं विद्यालय जाने र घर आउने गर्थिन्।
त्यसपछि परिवारको आफ्नै बाध्यताका कारण वीरगन्ज आइन्।
त्यहाँ पनि आफ्नो अध्ययनलाई निरन्तरता दिइन् तर अफसोस आफैं हिँड्न सकिनन्।
विस्तारै उनलाई हिँड्न गाह्रो भयो। कसैको सहाराबिना हिँड्न सकिनन्। सधैं बहिनी या त साथीभाइको सहारामा विद्यालय गइन्।
आफैं सक्षम भएर हिँड्न पाए पो स्वतन्त्र महसुस हुने, अरूको काँधमा वजन राखेर हिँड्न अति कठिन।
सबैको व्यवहार उनीप्रति फरक हुँदै गयो। आफ्नै ठानेकी बहिनीले पनि कहिलेकाहीँ झिँजो मान्ने गरेको उनको अनुभव छ।
…
बालखदेखि हिँड्न सिकाइन् आमाले। ललिता किशोरी हुँदा पनि आमाकै हात समाएर हिँड्न थालिन्। तर, दैवको लीला, बुबाआमाको दुर्घटनामा मृत्यु भयो।
जसको सहाराले उनको जिन्दगी केही सहज थियो, त्यही सहारा पनि छिनियो। आमाबुबाले जसोतसो सबै छोराछोरीलाई बराबर माया गरेर पालेका थिए।
अभिभावक बितेपछि उनलाई त्यो घर, घर जस्तै लागेन, परिवार परिवार जस्तो लागेन।
जति हुर्किंदै गइन्, झन् समस्या बढ्दै गयो। उनले पाइलासमेत आफैं चाल्न सक्ने अवस्था थिएन। अन्ततः ह्विलचेयरको सहायता लिनुप¥यो।
सबै आफ्नै काममा व्यस्त हुन थाले। न कसैले माया गर्ने न समय निकालेर उनीसँग कसैले संवाद नै गरे।
‘एक्लो हुँदै गएँ। सबैको त्यति केयर पनि पाइनँ,’ मन अमिलो पार्दै ललिता भन्छिन्।
…
सबैका लागि बोझ भएको महसुस गर्न थालेकी उनले अन्ततः काठमाडौं आउने निर्णय लिइन्। दाजुभाइको सहयोगमा खगेन्द्र नवजीवन केन्द्रबारे सुनिन् र त्यहीँ बसोबास गर्न आफ्ना सामान बाँध्न थालिन्।
करिब दुई–तीन वर्ष भयो उनी केन्द्रको आवासमा बस्न थालेको। पाँच वर्षदेखि ह्विलचेयरको सहायता लिएर बसेकी ललिता, आफूजस्तै धेरै अपाङ्गता भएकाहरू देखेर केही राहत महसुस गर्छिन्।
अहिले उनलाई लाग्न थालेको छ– ‘मलाईमात्र यस्तो समस्या भएको होइन रहेछ।’
‘म आफ्नो अवस्था हेरेर सधैं निराश भएँ। तर, जब यहाँ मभन्दा पनि अशक्तहरू देख्छु, मेरा सबै दुःख–पीडा बिर्सन्छु,’ उनी भन्छिन्।
‘परिवार र समाजले कस्तो व्यवहार ग¥यो?,’ भन्ने प्रश्नको जवाफमा उनी कसैलाई पनि दोष दिन चाहन्नँन्।
‘मेरो यो अवस्था हुनुमा कसैको दोष छैन। मेरो आफ्नै दोष हो र यसमा कसैलाई दोष दिनु गलत छ,’ ललिता भन्छिन्, ‘मेरो परिवारले पनि मेरा लागि धेरै गरेको छ। उहाँहरूले मेरा लागि धेरै कठिनाइ भोग्नुभएको छ। मैले केही गरेनन् भन्न मिल्दैन।’
…
जब आवासको पर्खाल बाहिर निस्किन्छिन्, उनलाई आफ्नो अवस्था देखेर ज्यादै नराम्रो लाग्छ। अनि सोच्न थाल्छिन्, ‘मेरो स्वतन्त्रता यही पर्खालभित्र मात्र छ।’ अनि, उनी त्यही पर्खालभित्रै रमाउन थालेकी छिन्।
जब आफूजस्तै मानिसले विदेशमा ठुल्ठूला उचाइ चुमेको देख्छिन् तब आफू पनि पहुँच र मौका पाए त्यस्तै गर्न सक्ने सपना देख्छिन्।
‘हाम्रो देशमा कुनै अवसर नै छैन। सरकार र समाजले हामी अपाङ्गता भएकालाई जुन रूपमा हेर्नुपर्ने हो, त्यो केही पनि छैन। यसरी हामीले कसरी मौका पाउँछौं र सफल हुन?,’ उनी गुनासो गर्छिन्।
‘कुनै मौका छैन, सपनामात्र देखेर के गर्नु?’ यस्ता सोचाइले पनि उनको मन बेलाबेला विचलति गराउँछ। आफ्नो अवस्था देखेर होला, उनले केही लक्ष्य नै राखेकी छैनन्।