खोप निर्मातालाई ५० करोड डलर अनुदान दिने चीन सरकारको घोषणा, ६० करोड डोज उत्पादनको लक्ष्य

चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ।

सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ। हाल देशभर २ सय ८१ जना सक्रिय संक्रमित छन्।

तर, चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

हङकङमा मेडिकल अनुसन्धान फर्मका रुपमा सूचीकृत सिनो बायोफर्मास्यूटिकल लिमिटेडले सोमबार एक विज्ञप्ती जारी गरी कोरोनाभ्याकको विकास र उत्पादनका लागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको छ।

सिनोभ्याकले कोरोनाभ्याकको विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकम खर्च गरिने जनाएको छ ।

सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने जनाएको छ। सम्झौता बमोजिम सिनो बायोफर्मास्यूटिकलले सिनोभ्याकमा १५ प्रतिशत शेयर प्राप्त गर्नेछ ।

चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपतकालीन प्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ। जुलाई यता मात्र ठूलो संख्याका सरकारी कर्मचारीदेखि विदेशी विद्यार्थीहरुले यो खोप लगाइसकेका छन्।

कोरोनाभ्याक खोप ब्राजिल समेतका धेरै देशमा परीक्षण भइरहेको छ। गत नोभेम्बरमा खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण पुनः सुरु गरिसकेको छ।

सिनोभ्याकका प्रमुख कार्यकारी यिन वाइदोङले एसिया र दक्षिण अमेरिकी मुलुकमा जारी क्लिनिकल परीक्षण अन्तिम चरणमा प्रवेश गरेको बताए। कम्पनीले यसअघि आफ्ना सबै कर्मचारी र उनीहरुका परिवारका सदस्यले खोप लगाइसकेको जनाएको थियो।

चीनको अर्को भ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले आफ्नो खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो।

गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकमा बेलायत पहिलो राष्ट्र भइसकेको छ।  (रासस/सिन्ह्वा) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय