अक्सिजन किन्न करोडौं खर्च गर्दै वीर, आफ्नै प्लान्ट बन्ने टुङ्गो छैन

हेल्थपोस्ट नेपाल

गत चैतमा बिग्रिएको वीर अस्पतालको अक्सिजन प्लान्ट कहिले बन्ने अझै टुङ्गो लागेको छैन।

अक्सिजन प्लान्ट मेसिन बेच्ने कम्पनीले धोका दिएपछि सञ्चालन गर्न समस्या भएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।

मेडिअक्सी फर्मले उक्त अक्सिजन प्लान्ट निर्माण गरेको थियो।

‘अक्सिजन प्लान्टको बनाउनको लागि हामीले ३ हप्ताको समय दिएको थियौँ,’ डा.सेञ्चुरीले भने, ‘समय सकिसकेको छ। कम्पनीले धोकाबाजी गरिरहेका जस्तो लागिरहेको छ।’

उक्त मेसिनको वारेन्टी सकिएको हुनाले बनाउनको लागि थप समस्या भएको डा. सेञ्चुरीले बताए।

३५ लाखमा बन्न सक्छ, तर बनाएन

डा. सेञ्चुरीका अनुसार उक्त मेसिन ३५ लाखमा बन्छ। तर, अस्पतालमा कोभिड महामारीबीच पनि अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजनका सिलिन्डर खरिदमा करोडौँ रकम खर्च भइरहेको छ।

चलिरहेको मेसिन बिगारेर करोडौंको अक्सिजन खरिद गर्दै वीर

वैशाख ०७४ मा दुई करोड ६६ लाख रुपैयाँमा खरीद गरेर जडान गरिएको अक्सिजन प्लान्ट गत चैतमा बिग्रिएको थियो।

दैनिक एक सय ५१ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने सो प्लान्ट अहिले अस्पताल परिसरमा अलपत्र छ।

उक्त मेसिनको सामान फ्रान्सबाट ल्याउनुपर्ने अस्पतालले जनाएको छ।

‘अहिले सबै हवाईमाग पनि खुलिसकेको छ। समान ल्याउन पर्ने हो,’ डा. सेञ्चुरीले भने, ‘३ हप्तामा बनाउछुँ भनेर सम्झौता गरेको थियो। अब पनि गरेन भने कारबाहीको चिठी पठाउने तयारीमा रहेका छौं।’

डा. सेञ्चुरीका अनुसार केही दिनभित्र उक्त कम्पनीले नबाएर टेन्डरको तयारी भइरहेको छ।

१ सय ७५ रुपैयाँको प्रतिसिलिन्डरलाई ४ सयमा किन्दै हाल अस्पतालमा ९० देखि १ सयवटा सिलिन्डर खपत हुने गरेको प्रशासनको तथ्यांक छ।

‘पहिलाको टेन्डरमा १ सय ७५ रूपैयाँ प्रतिसिलिन्डर थियो। अहिले बजारमा सजिलै उपलब्ध छैन। एक सिलिन्डरकै ४ सय भन्दै आएका छन,’ डा. सेञ्चुरी भन्छन्, ‘अहिलेसम्म पुरानो दरमा ल्याइरहेका छौं। तर, सप्लायर्सले हामीले ल्याउन सक्दैनौं भनेर निवेदन दिएका छन।’

अस्पताल प्रशासनका अनुसार मेसिनले वार्षिक १ करोड रुपैयाँबराबरको अक्सिजन उत्पादन गर्दै आएको थियो।



Leave a Reply

Your email address will not be published.