‘कति बिरामी बचाउन नसक्दा पछुताे लाग्छ’

म सोफिया प्रधान। कोभिड नर्सको रुपमा वीर अस्पतालमा कार्यरत छु।

कोरोना महामारीको पहिलो दिनदेखि नै मैले कोरोनासँग लडिरहेका बिरामीहरूको सेवा गर्ने अवसर पाए।

चिनबाट संक्रमण फैलिएको खबर आउन आइरहेको थियो। रोग बिस्तारै बिभिन्न देशमा फैलिँदै गयो। र, जहाँ फैलियो त्यहाँको दर्दनाक अवस्थाबारेका समाचार बाहिरिन थाले।

विस्तारै नेपालमा पनि फाट्टफुट्ट संक्रमित फेला पर्नथाले। ममा पनि संक्रमणको सुरुआति दिनमा नयाँ भाइरस भएकाले डर थियो। तर, मनमा पेसाप्रतिको जिम्मेवारी बोध पनि।

आफूले सिकेको ज्ञानले कसैको ज्यान बच्नसक्छ भन्ने मनमा लागिरह्यो। र, मनमा रहेको डरलाई परास्त गर्दै उपचारमा खटिने बाटो रोजेँ।

हरेक दिन कोरोनासँग लडिरहेका बिरामीको उपचारमा दिनभर खटिँदा बेलुकीसम्म पुरै शरीर थकित हुन्थ्यो। घरमा पुग्दा आमाको सधै आमाको अनुहार मलिन देख्थे।

उहाँका आँखामा एक किसिमको त्रास देखिन्थ्यो। उहाँलाई लाग्थ्योहोला यस्तो महामारीमा संक्रमितको उपचारमा खटिएकी छोरीलाई कतिबेला केपो हुने हो?

म घर पुग्दा सधै नुहाएर छुट्टै कोठामा जान्थे। चाहेर पनि परिवारसँग घुलमिल हुन मिल्दैनथ्यो। कोरोनाको कहर बड्ने क्रममा थियो। संक्रमण परिवारमै सर्नसक्ने जोखिम भएकाले हामी स्वास्थ्यकर्मीलाई होटेलमा सारियो।

अब त झन आफ्नै परिवारसँग चाहेर पनि भेट्न सक्ने अवस्था थिएन। हरेक दिन आमाको फोन आइरहन्थ्यो। म पनि डिउटीपछि कतिबेला आमाको फोन आउला भनेर प्रतिक्षामा बसिरहेकी हुन्थे।

एउटा स्वास्थ्य्कर्मी भएर आफ्नै अगाडी तड्पिरहेको बिरामी हेर्न पक्कै सहज हुँदैन। केहि बिरामीसँग त उपचारकै क्रममा निकै लगाव हुन पुग्दो रहेछ। ममा कतिपय विरामीलाई बचाउन नसकेकोमा धेरै दिनसम्म पछुतो भएको अनुभूति छ।

समय बित्दै गयो। केहि हदसम्म कोरोनासँगै जीवन अगाडी बडाउने कोशिसमा लागेका थियौं। एक दिनको कुरा हो, सधै झै डिउटी समयमा सुरक्षा सामग्री लगाएर बिरामी वार्डमा पुगे।

धेरै लामो समयसम्म सुरक्षा कवज लगाएर काम गर्न निकै असहज हुने गर्छ। र, त्यो दिन मलाई निकै कमजोरी महशुस भइरहेको थियो। एकजना बिरामीलाई औषधी दिन लाग्दा मलाई अझ कमजोरी महसुस भयो।

मन आत्तियो। घरमा फोन गर्न सम्भब थिएन। र, साथीहरूलाई समस्या सुनाउने माहोल पनि थिएन। आत्तिएको मनसहित कसैलाई केही नभनि एकछिन आराम गरे। र, फेरी एकै छिनमा काम गर्न थाले।

घर फर्किन सम्भव थिएन। त्यसैले हामी होटल मै फर्कियौं। शरीर थकित थियो र तातो पनि। मन चिसियो। तर, हौसला राखेर अगाडी बड्नु बाहेक मसँग अरु कुनै बिकल्प थिएन। पानीको बाफ लिँदै थिए।

घरबाट आमाको फोन आयो। आफूले चाहेर पनि आफ्नु पीडा सुनाउन सकिन। मैले घरमा आफ्नो स्वास्थ्यवस्थाका बारे भने अरु पनि आत्तिने छन् भन्ने मनमा डर थियो।

आमासँग म एकदमै ठिक भएझै कुरा गरे। बेलुका समयमै सुते। बिहान उठ्दा शरीर हल्का भएको महशुस भयो। र, त्यो दिन पनि डिउटीमै जानु थियो। मनमनै सोचे आज बिश्व भर कोरोना कहरका बीच लाखौं स्वास्थयकर्मी आफ्नो घर परिवार त्यागेर अपरचित ब्यक्तीको जीवन बचाउन उद्दत छन्।

थुप्रै स्वास्थ्यकर्मीले आफ्नो ज्यान गुमाइसके। तर, पनि भाइरसलाई परास्त गर्न थुप्रै स्वास्थ्यकर्मी लागिपरेका छन्। यहि योगदानले त स्वास्थ्य सेवकको सही परिचय दिएको छ।

हामीले सिकेको ज्ञानले हामी कसैको जीवन बचाउन पाउँदा मन जति खुशी हुन्छ त्यो खुशी सायदै पैसाले किन्न सकिएला। र, यस्तो कठिन परिस्थितीमा पनि स्वास्थयकर्मी माथी भएको अमानविय व्यवहार देख्दा र सुन्दा मन खिन्न हुन्छ।

कुनै एउटा स्वास्थ्यकर्मीले गरेको नकरात्मक व्यवहारलाई फैलाउन धेरै मेहेनत गर्छौं। तर, कयौ असल स्वास्थ्यकर्मीका योगदानको चर्चा नै गर्दैनौं। त्यसैले सधै स्वास्थ्यकर्मीलाई साथ दिउ।

स्वास्थ्यकर्मीको एकल प्रयासले मात्रै कोरोनालाई परास्त गर्न पक्कै सम्भव छैन। अझै पनि जोखिम हटिसकेको छैन। हिजो जति सावधानीको आवश्यकता थियो आज त्योभन्दा बढी छ। त्यसैले सजग बनौं। र, सबै सावधानीका साथ एक भएर अगाडी बढौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय