कोठामा कोइला र हिटरको प्रयोग गर्दै हुनुहुन्छ? अपनाउनुस् यस्ता सावधानी

देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल÷ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ ।

जाडो मौसममा कोठा तताउनका लागि प्रयोग गरिने सामग्रीका कारण प्रतिवर्ष सयौँले ज्यान गुमाइरहेका छन् ।

हिटिङ उपकरण वा सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा नै यस्ता पीडादायी घटना घट्ने गरेका छन् । त्यसैले यस्ता सामग्रीको पूर्ण विवेक र सावधानीपूर्वक मात्र प्रयोग गर्नु आवश्यक छ ।

कोठा तातो पार्न झ्याल–ढोका बन्द गरेर ग्यास वा इलेक्ट्रिक हिटर, कोइला, ब्रिकेटलगायत सामग्री बालेर सुत्नु आत्महत्या गर्नुसरह हो ।

यस्ता सामग्री बाल्दा कोठाको अक्सिजन नष्ट हुन्छ र श्वासप्रश्वासमा समस्या हुन्छ । बन्द कोठामा लामो समय यस्ता सामग्री बालेर छोड्दा कोठाको सम्पूर्ण अक्जिसन नष्ट हुने र बाहिरबाट आउन नपाउने हुँदा कोठाभित्रको मानिस सुरुमा बेहोस हुने र पछि थाहै नपाई उसको मृत्यु हुने गर्छ ।

हिटरलगायत बल्ने सामग्री प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुने र कार्बनडाइअक्साइडको मात्रा बढ्ने डा. अनुप बास्तोला बताउँछन् ।

‘लामो समयसम्म बन्द कोठामा आगो बाल्दा तथा तापक्रम बढ्दा अक्सिजन घट्नुका साथै कार्बन मोनोअक्साइडसमेत बन्छ ,’ डा. बास्तोला भन्छन्, ‘यसले रगतमा अक्सिजनको मात्रामा कमी आई मानिस बेहोस हुन्छ र उसको मृत्युसमेत हुन्छ ।’

राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यस्ता दुर्घटना निम्तिने गर्छन् । यसबाट निस्किने धुवाँमा कार्बन मोनोअक्साइड ग्यास हुन्छ ।

यसले अक्सिजनको मात्रा कमी आई मुटुको चालसमेत बन्द भएर मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । कार्बन मोनोअक्साइडले मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्नेजस्ता समस्या हुन्छन् र निस्सासिएर मानिस बेहोस हुन्छ ।

हिटर तथा कोठा तताउन प्रयोग गरिने अन्य सामग्री बालेर कहिले पनि निदाउन नहुने सुझाब डा. बास्तोलाको छ ।

‘यस्ता साम्रगी बालेर सुत्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ,’ डा. बास्तोला भन्छन्, ‘छालाका लागि पनि हिटर राम्रो मानिँदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुक्खा हुने हुन्छ ।’

हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ । तर, लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकाशले हाम्रो आँखालाई असर पुर्याउँछ । यसले आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा सुक्खासमेत बनाउने चिकित्सक बताउँछन् ।

नजिकै बसेर हिटर ताप्नुहुँदैन । सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ ।

 हिटर तथा अन्य सामग्री बाल्दा अपनाउनुहोस् यस्ता सावधानी

१. आफूबाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । बन्द कोठामा हिटरबाट उत्पन्न हुने कार्बन मोनोअक्साइड ग्यास मानिसका लागि निकै हानिकारक हुन्छ ।

२. हिटरनजिकै बसेर ताप्दा आँखाको ज्योति कमजोर हुनुका साथै आँखा तथा छाला सुक्खा हुन्छ । त्यसैले नजिकै राखेर हिटर नताप्नुहोस् । कम्तीमा १० सेन्टिमिटर टाढा राख्नुहोस् ।

३. हिटरनजिक छिटो जल्नेखालका कुनै पनि सामग्री नराख्नुहोस् । कागज, ब्ल्यांकेट, कपडा, दाउरालगायत सामग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

४. हिटरलाई एकोहोरो नबालेर समय–समयमा बन्द गर्नुहोस् । हिटर बालेका वेला ढोका र झ्याल खुला राख्नुहोस् ।

५. हिटर, कोइला, आगो, गुइँठालगायत कोठा तताउने कुनै पनि सामग्री बालेर ननिदाउनुहोस् । यसले तपाईंको ज्यानै लिने खतरा हुन्छ । ६. सम्पूर्ण रूपमा बन्द कोठाभित्र कहिल्यै हिटर नबाल्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय