कोरोना विरुद्धको खोप लगाउन सुरु
रुसले आफ्नै देशमा उत्पादन भएको कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ।
राजधानी मस्कोमा रहेका कोभिड क्लिनिकहरूमा खोप लगाउन आवश्यक १८ देखि ६० वर्ष उमेर समूहका मानिसले अब अवश्यकताअनुसार खोप लगाउन सक्नेछन्।
रुसले उत्पादन गरेको स्पुत्निक–५ नाम दिइएको यो खोप गत अगस्टमै दर्ता भएको थियो। करिब ९५ प्रतिशत प्रभावकारी मानिएको यो खोप रुसका राष्ट्रपति भ्लादमिर पुटिनकी छोरीमा समेत परीक्षण गरिएको थियो।
आम रुपमा गरिएको अन्तिम परीक्षणका सबै एकिन विश्लेषणहरू आइनसक्दै रुसले खोप लगाउन सुरु गरेको हो।
हज्जारौं मानिसले यो खोप लगाउनका लागि हप्तादिन अघि नै आफ्नो नाम दर्ता गराइसकेका छन्।
उत्पादक कम्पनीहरूले यो वर्षको अन्त्य सम्ममा करिब २० लाख डोजमात्रै खोप उत्पादन गर्नसक्ने बताएका छन्।
राजधानी मस्को सहरका मेयर सर्गे सोब्यानिनका अनुसार सबैभन्दा पहिला स्कुल, स्वास्थ्य संस्था तथा सामाजिक क्षेत्रमा खटिएकाहरूलाई खोप लगाउने प्राथमिकतमा राखिएको छ। मस्को सहरमा करिब १ करोड ३० लाख मानिस बसोबास गर्छन्।