‘कोरोनालाई खेलाँची नगर्नुस्, ज्यान लिन सक्छ’

मलाई गएको असोज १९ गते कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो। केही दिन ज्वरो आएकोजस्तो थकान महसुस भइरहेको थियो। मैले समान्य होला भनेर वास्ता गरिनँ।

कामको प्रेसर र थकानका कारण यस्तो भएको होला भन्ने सोचेँ। फेरि मेरो काम पनि त्यस्तै ठुल्ठूला व्यक्तिहरु भेटघाट भइराख्ने स्वास्थ्यकर्मीहरूसँग भेटघाटमा गइरहनुपथ्र्र्यो।

साथै ललिपुर महानगरका मेयर चिरी बाबु महर्जनसँग पनि दिनदिनै भेटघाट हुने गथ्र्यो। उनलाई पनि कोरोना पोजिटिभ भएको थियो। मैले भेटेका अधिकांशलाई पोजिटिभ आइसकेको थियो।

कोरोना संक्रमण हुनुका तीन मुख्य कारण

‘इन्डाइरेक्ट कन्ट्याक्ट’ बाट सरेको हो कि भन्ने शंका थियो। कोरोना संक्रमित भएका चिरी बाबु महर्जनसँगको बैठकमा भेटघाट, देशका विभिन्न ठाउँ जानुपर्ने, राजविराजमा ल्याबका प्राविधिकहरूसँग भेटेर पनि आएको थिएँ।

त्यसको दुई दिनपछि मलाई ज्वरो आउन थालेको थियो। तिनीहरू नै कोरोना संक्रमित रहेछन्। त्यसै पनि संक्रमण थपे होला सायद। बेलुका भने शरीरमा चिटचिट पसिना आउन थाल्यो। सुख्खा खोकी निरन्तरण लाग्न थालेको थियो।

त्यसपछि चार दिन पल्स चेक गर्दा दुई–तीन घन्टाको फरकमा ९८ बाट ह्वात्तै घटेर ८५ मा पुगेको थियो। कि मलाई कोरोना लाग्यो, कि अब चाहिँ मेरो फोक्सोले काम गर्न छाड्यो जस्तो लाग्यो।

यस्तै गतिमा अक्सिजनको मात्रा घट्यो भने म बाँच्दिनँ होला भन्ने मनमा लागेको थियो। त्यसपछि बाँच्नका लागि छिटेछिटो सास लिनुपर्‍यो भनेर सास फेर्न थालेँ। त्यसपछि घर बसेर भएन अब त अस्पताल नै जानुपर्‍यो भनेर टेकु अस्पतालमा फोन गरेँ।

अस्पतालमा सिट छैन भने डाक्टरले। मैले आफ्नो अवस्था सबै भनेपछि यहाँ त सिट छैन तर घरमै चाहिँ नबस्नू, अस्पताल गइहाल्नू भनेँ।

मैले अरू निजी अस्पतालका डाक्टरहरूलाई पनि चिनेको थिएँ, तर कोरोना उपचार सरकारी अस्पतालमै राम्रो भनेर मैले टेकु अस्पतालको इमर्जेन्सी वार्डमा राखेर भए पनि उपचार गर्नू भनेर भनेँ।

त्यहाँका डाक्टर पनि सबैले चिनेका थिए। त्यसपछि त्यही दिन टेकु अस्पताल पुगेँ। सुरुमा सिटी स्क्यान गराए, जसमा ४० प्रतिशत फोक्सोमा निमोनिया भएको रिपोर्ट आयो। समयमै अस्पताल आइपुगेछु जस्तो महसुस भयो।

त्यसपछि भाग्यले साथ दिएको भन्छु म, एउटा आइसियुको बेड खाली भयो।

आइसियुमा लगिसकेपछि मेरो अवस्था झन्झन् जटिल भएपछि रेमडेसिभिर वा प्लाज्मा थेरापी कुन गर्ने भन्नेजस्ता कुरा भयो। मैले समाचार तथा अरू रिसर्चका आधारमा अहिले प्लाज्मा थेरापीभन्दा रेमडेसिभिर उपयोगी भएको हुनाले त्यसै दिन मेरो रेमडेसिभिरको उपचार सुरु भएको थियो।

रेमडेसिभर पनि दुईथरीको हुन्छ। एउटा बट्टामा पाँच डोज हुन्छ, अर्कोमा १२ डोज हुन्छ। जुन बिरामी एकदम क्रिटिकल अवस्थामा छ भने प्रयोग गरिन्छ। तर, मलाई भने पाँच डोजको प्रयोग भयो। डोज दिन थालेपछि दिनप्रतिदिन स्वास्थ्यमा सुधार आउन थाल्यो।

कोरोना संक्रमण भएको श्रीमती र छोरालाई थाहा दिएँ

मलाई कोरोना लाग्यो भनेर श्रीमती र छोराबाहेक कसैलाई भनिनँ। अरूलाई थाहा भएको भए फोनमा बोलेर हैरान हुन्थेँ होला। साथै, सबै डाक्टर आजभोलि त यो गर, यो औषधी खाउ, यताउता १० थरी उपचार भन्थे होला।

त्यसैले त्यो टेन्सनबाट छुट्कारा पाउन मैले कसैलाई पनि थाहा दिइनँ। अस्पतालमा बस्दा कसैको फोन आयो भने म बिजी छु, मिटिङमा छु भन्न लगाउँथे। पत्रकार साथीहरूले पनि थाहा नपाउन् भनेर केही न केही लेख्ने गर्थें।

त्यसलाई पनि निरन्तरता दिएँ, थाहा नहोस भनेर। पाँच दिन आइसियु बसेपछि विस्तारै ठिक हुँदै गएँ। मैले डाक्टरलाई अब म घरमै आइसोलेस बस्छु, श्रीमती पनि डाक्टर नै हुन्, केही भयो भने उनले हेरिहाल्छिन् भनेँ।

बिरामीले बेड पाएनन् भनेर समाचार आएको छ। म गएँ भने एकजनाले त सिट पाउँछ। तर, डाक्टरले हुँदैन भनी आइसियुबाट क्याबिनमा दुई दिन राखे। दुई दिनपछि म घर फर्कें। म सात दिनमा घर फर्केको थिएँ। मेरो नेगेटिभ रिपोर्ट आएको थिएन।

तर, होम आइसोलेस बस्छु भनेपछि डाक्टरले माने र म घर फर्किंए। निको भएँ। सरकारले पनि यदि लक्षण देखिएको छैन भने १४ दिन होम आइसोलेसन बसे पुग्छ, पिसिआर परीक्षण गर्नुपर्दैन भनेका थिए। त्यसैले मैले पनि गराइनँ।

तर, पछि कोरोना लागेको भन्ने अफिसका साथीभाइलाई थाहा थाहा भएपछि सबैले एउटै प्रश्न गर्थे, पिसिआर रिपोर्ट नेगेटिभ आयो? यहि प्रश्नले दिक्क भएर आखिर मैले पिसिआर परीक्षण गराएँ। जुन नेगेटिभ आएको थियो।

कोरोना पोजिटिभ भएर पनि हामीलाई किन नभनेको भनेर साथीहरूले गाली गरेका थिए। मैले कोरोना उपचारका लागि सबै सरकारले व्यवस्था गरेको छ। त्यही भएर नभनेको भनेँ। फेरि, भनेर पनि तिमीहरू भेट्न आउन पाउँदैनौं। त्यही भएर नि साथीहलाई नभनेको हुँ।

कोरोना संक्रमण हुनबाट कसरी बच्ने?

अहिलेको अवस्थामा कोरोनाबाट बच्ने उपाय मेरो विचारमा हामी जहाँ हिँडे पनि भेटेका व्यक्तिहरूलाई कोरोना छ है वा हुनसक्छ भनेर भौतिक दुरी कायम गरेर र मास्क लगाएर मात्र कुराकानी गर्नुपर्छ।

त्यसपछि अर्को भनेको मिटिङ गर्ने बेलामा चिया खाने चलन हटाउनुपर्छ। अरू बेलामा मास्क लगाए पनि चिया खाने बेलामा त खोल्नुपर्‍यो। त्यतिबेला सबैले मास्क खोल्छन्। त्यतिबेला पनि संक्रमित हुनसक्ने सम्भावना बढी छ।

साथै, सबैको शरीरमा फरक–फरक जिन हुन्छ। परिवारमा एकजनालाई लागेन भनेर सबैलाई लाग्दैन भनेर नसोच्नुहोला। कोरोना रिपोर्ट नेगेटिभ आयो भनेर लखरलखर बाहिर हिँड्नु हुँदैन।

पिसिआर रिपोर्ट पनि ७० प्रतिशतमात्र मिल्छ, ३० प्रतिशत मिल्दैन। त्यसैले कोही पोजिटिभ भए पनि नेगेटिभ देखाउन सक्छ। त्यसैले यदि लक्षण देखिएको छ वा कन्ट्याक्ट टे«सिङमा पर्नुभएको छ भने १४ दिन होम आइसोलेसन बस्नुपर्छ। यस्तो गरेको खण्डमा मात्र कोरोना संक्रमण नियन्त्रण हुन्छ।

निःशुल्क पिसिआर सिस्टम

मेरो विचारमा फिल्डमा हिँडिरहने पत्रकार, स्वास्थ्यकर्मी, बैंकका कर्मचारीलाई निःशुल्क परीक्षण गराउने सिस्टम हुनुपर्ने हो। किनभने, उनीहरू दिनदिनै छुट्टाछुट्टै व्यक्तिसँग सम्पर्कमा हुने भएकाले परीक्षण गराउनुपर्छ। यसले गर्दा पनि कोरोना फैलिन नियन्त्रण गर्छ जस्तो लाग्छ।

त्यस्तै घरमा कोही दीर्घरोगी छन् भने अक्सिजन सिलिन्डर घरमा राखिराख्नुपर्छ। साथै, यो कसरी प्रयोग गर्ने भनेर सिकिराख्दा सजिलो हुन्छ। दीर्घरोगी छैनन् भने अक्सिजन नाप्ने पल्स मिटर र ज्वरो नाप्ने थर्मामिटर राख्नुपर्छ।

यो भएको खण्डमा समय–समयमा जाँच्दा आफ्नो शरीरको अवस्था कस्तो छ भनेर थाहा हुन्छ। केही लक्षण देखिए समयमै उपचार गर्न पाइन्छ। नभए अन्तिम स्टेजमा बिरामी अस्पताल पुग्छन्। अनि अस्पतालमा पिसिआर टेस्ट गराएर रिपोर्ट नआएसम्म बिरामीले उपचार पाउँदैन।

कोरोना असर

कोरोनाले निको भइसकेपछि पनि असर चाहिँ नछाड्ने रहेछ। अहिले पनि मलाई भर्‍याङ चढ्ने बेलामा स्वाँस्वाँ आउने, थकान महसुस हुने भएको छ। प्हिला त्यस्तो हुन्थेँन। त्यसैले कोरोना लागिसकेपछि पनि यसले पछिसम्म असर गर्ने रहेछ भनेर पढेको मात्र थिएँ, अहिले आफैं भोगिराखेको छु।

(डा. बुढाथोकी स्वास्थ्य सेवा विभागका इएनटी विभाग प्रमुख हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय