नेपालले कोरोना संक्रमणको दोस्रो लहर पनि धान्छ

हेल्थपोस्ट नेपाल

विश्वका केही देशमा कोरोना नियन्त्रण भयो। तर एकपटक नियन्त्रण भएका देश पनि कोरोनाको दोस्रो लहरको सामना गरिरहेका छन्। नेपालमा असोज मध्यदेखि चर्किएको महामारीले कात्तिकभरि भयवह रूप लियो। मंसिरसँगै परीक्षण संक्रमण घटेको देखिएको छ। भरिभराउ अस्पताल विस्तारै खाली हुँदै गएका छन्।

तर, यतिका भरमा विज्ञहरू कोरोना घटेको मान्न तयार छैनन्। स्वास्थ्य मन्त्रालयकै अधिकारीहरू पनि कम्तिमा दुई सातापछि संक्रमणको दोस्रो लहर आउने आँकलन गरिरहेका छन्।

नेपालमा संक्रमणको दोस्रो लहर आउन सम्भावना कत्तिको छ? त्यसका लागि मन्त्रालयले कस्तो तयारी गरिहेको छ। नेपालमा कोरोना खोप आउने सम्भावना र तयारी के छ? यी र यस्तै विषयमा जनस्वास्थ्य विज्ञसमेत रहेका स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीसँग हेल्थपोस्ट नेपालले गरेको कुराकानी :

नेपालमा संक्रमणको दर घटेको देखिएको छ। तर, विश्वका केही देशमा संक्रमण घटेपछि पुनः संक्रमणले अर्को गति लिएको थियो। नेपालमा संक्रमणको दोस्रो लहर आउने सम्भावना कत्तिको छ?

नेपालमा पनि दोस्रो संक्रमणको लहर आउने सम्भावना बलियो छ। विश्वव्यापी रूपमा हेर्दा युरोप, अस्टे«लिया, न्युजिल्यान्डमा कोरोना संक्रमण कन्ट्रोल भएको थियो। तर, पुनः संक्रमण दर बढ्यो।

अन्य देशमा हेर्दा नेपालमा पनि संक्रमणको दोस्रो लहर आउँदैन भन्न सकिन्नँ। अन्तर्राष्ट्रिय रूपमा कोरोना भाइरस संक्रमण तलमाथि भइरहेको छ। त्यस्तो परिस्थिति नेपालमा पनि आउन सक्छ भन्ने आधारमा हामी तयार भएर बस्नुपर्छ। अहिले संक्रमण दर घटिरहेको छ। तर, कन्ट्रोल नै भयो भनेर बस्ने अवस्था छैन। हामीले ठूला चुनौति सामना अझै गर्नुपर्ने छ।

धेरै लक्षण देखिएका मानिससमेत होम आइसोलेसन बसेर परीक्षण गराएका छैनन्। त्यसकारण पनि संक्रमण दर कम भएको होला। तपाईं भन्नुहुन्छ अहिले संक्रमण नियन्त्रणमा रहेको छ। तर, मृत्युदर किन कमी भएको छैन?

अहिले नेपालमा कोरोना संक्रमण दर विस्तारै नियन्त्रण भएको देखिन्छ। ठूला सहरमा संक्रमण बढेपछि मृत्यु बढेको छ। सहरमा ज्येष्ठ नागरिकलाई संक्रमण पहिलाको भन्दा बढिरहेको छ। जसलाई दीर्घरोग छ। यस्ता मानिसको मृत्यु बढिरहेको छ।

यसको खतरा भनेकै ज्येष्ठ नागरिकलाई संक्रमणबाट जोगाउनप¥यो। जो मानिस बाहिर वा बजार जान्छ, त्यस्ताले मास्क लगाउने तथा जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना ग¥यो भने घरमा संक्रमण जाँदैन।

त्यसैले चलायमान पेसा, व्यवसायमा लागेकाहरूले जनस्वास्थ्य मापदण्ड कडाइसाथ अपनाउनुपर्छ। यहाँ समस्या नै यही हो।

मलाई केही भएको छैन भन्नेहरूले नै बाहिरबाट रोग भित्र लिएर आउने गरेका छन्। त्यस्ता मानिसलाई लक्षण नदेखिन सक्छ। तर, घरमा भएका ज्येष्ठ नागरिकलाई रोगले संक्रमण गर्न गर्दछ।

सरकार अहिले संक्रमण घटेको छ भनिरहेको छ, तर आइसियु खोजीमा बिरामी भौंतारिनुपर्ने र आइसियु नै नपाएर ज्यान जाने घटना भइरहेकै छन् नि!

कसले भन्यो आइसियु बेड पाइएन भन्ने कुरा? मन्त्रालयको रिर्पोटमा हेनुहोस् न, उत्तिकै हल्ला गरेरमात्र हुन्छ। अहिले वीर अस्पताल जानुहोस् त आइसियु बेड खाली छ। प्रमाणमा कुरा गर्नुहोस्।

आइसियु बेड कति छन्, कति भरिभाउ भएका छन। कुनै मानिसलाई ‘ए’ भन्ने अस्पताल जान मन थियो। उक्त अस्पतालमा आइसियु खाली थिएन। उसले देशभरि नै आइसियु खाली छैन भन्यो।

अहिले पनि स्वाभाविक रूपमा जहाँ संक्रमण बढेको हो त्यहाँ चाप छ। अहिले देशभरका ८० प्रतिशतमात्रै आइसियु बेड भरिभाउ छन्। बाँकी २० प्रतिशत खाली नै छन्।
आइसियु बेड नै नपाउने कुरा सत्य छैन। स्वास्थ्य मन्त्रालयले धेरै अस्पताल आकस्मिक रूपमा घुमेरै यसको अनुगमन गरिरहेको छ।

नेपालमा संक्रमणको दोस्रो लहर आएको अवस्थामा त्यसको सामना गर्न के कस्तो तयारी भएको छ?

दोस्रो लहरले चुनौति थप्छ नै भनेर हामीले ६ हजार अक्सिजनसहित बेड तयार गर्दै छौं। ६ हजार हाइ डिपेन्डेन्सी युनिट बेड देशभर थपिएपछि उपचार अझै सहज हुन्छ। त्यसका लागि सबै प्रदेशमा पैसा पठाएका छौं।

आवश्यक उपकरण त सम्बन्धित अस्पतालले नै खरिद गर्नुपर्छ। अहिले देशमा तीन तहमा सरकार छ। सबै सरकारले आ–आफ्ना जिम्मेवारी त पूरा गर्नुप¥यो नि। सबै काम स्वास्थ्य मन्त्रालयले मात्रै गर्ने होइन होला! केन्द्रको स्वास्थ्य मन्त्रालयको मुख्य काम भनेको नीति बनाउने हो। मापदण्ड बनाउने हो।

यस्तो खालको महामारीमा स्रोत परिचालन गर्ने हो। हामीले के गर्ने भन्ने कुराको योजना र त्यसको लागि चाहिने स्रोत सबै अस्पताल पठाइसकेका छौं। उहाँहरूले पनि काम गर्नुप¥यो। त्यसैले हाम्रो काम अनुगमन गरिरहेका छौं। स्रोतको सुनिश्चितता गरेका छौं।

६ हजार एचडियुको तयारी हुँदा देशमा दोस्रो लहर आयो भने पनि धान्न सक्ने गरी हाम्रो स्वास्थ्य प्रणाली मजबुत बन्छ। अहिलेको हाम्रो संक्रमण हेर्दा घट्दै गएको छ। अहिलेको लागि केही समस्या छैन।

नेपालले कोरोनाविरुद्धको खोप ल्याउने तयारी पनि भइरहेको छ कि?

विश्वव्यापी रूपमा खोप अन्तिम अवस्थामा पुगेको छ। खोप प्रमाणित हुनेबित्तिकै हाम्रो स्वास्थ्य प्रणालीमा सहज हुने खालको खोप ल्याउने छौं। अहिले फाइजरको खोप बेलायतले लगायो।

जुन खोप माइनस ७० डिग्रीमा राख्नुपर्छ। त्यो नेपालको लागि सम्भव छैन। नेपालको लागि २ देखि ८ डिग्री सेल्सियसको भण्डारण गर्ने खालको खोप आयो भने ल्याउन सक्छौं। त्यसकारण एक खालको प्रभावकारी, किन्न सकिने मात्रै खोप ल्याउँछौ।

जुन देशमा उत्पादन भयो। त्यो देशले स्वीकृति दिएको र त्यहाँ प्रयोग भएको खोप ल्याउन हामीले तयारी गरिरहेका छौं।

खोप प्रमाणित भएर नेपालले ल्याउन सक्दा खोप दिने र पाउने नीति कस्तो हुन्छ?

हामीले खोपको कार्ययोजना बनाएका छौं। यसका लागि अर्थ, परराष्ट, स्वास्थ्य सचिवले हेरिराख्नुभएको छ। पहिला त फ्रन्टलाइनमा काम गर्ने जनशक्तिलाई दिनुपर्छ। जसमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी हुन्छन्।

त्यसपछि ज्येष्ठ नागरिक ६५ वर्षभन्दा माथि भएकालाई दिने हो। त्यसपछि कम जोखिम भएका समूहका मानिसले खोप पाउँछन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *