सुरू भएको दुई दिनमै किन रोकियो एन्टिजेन टेष्ट?
काठमाडौं उपत्यकामा सुरु भएको एन्टिजेन टेष्ट दुई दिनमै रोकिएको छ।
सोमबार र बुधबार गरी दुई दिनमा १५ सय जनाको एन्टिजेन परीक्षण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए।
‘१ हजार ५ नमुना संकलन गर्दा १ सयको हाराहारीमा संक्रमण पोजेटिभ आयो,’ डा. पाण्डेले भने , ‘अब कसरी परीक्षणलाई थप विस्तार गर्ने उदेश्यले अहिलेलाई परीक्षण रोकिएको हो।’
डा. पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयको थप निर्देशन भएपछि मात्रै परीक्षण सुरू हुनेछ।
‘स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले परीक्षणको अध्यक्षता गरिराख्नु भएको छ। अहिले आएको परीक्षणको रिर्पोटलाई विश्लेषण गरेपछि मात्र के गर्ने निर्णय होला,’ डा . पाण्डेले भने, ‘कुन समूह जोखिममा रहेको छ? सबै रिर्पोटको विश्लेषण गरेर विज्ञ तथा स्थानीय सरकारको समवन्य थप निर्णय होला।’
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्थानीय तहहरूसँग मिलेर एन्टिजेन परीक्षण गरिएको थियो।
सोमबार कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो भने बुधबार १०, १४ र १६ वडाको परीक्षण गरिएको थियो ।
‘पिसीआर गर्दा १५ प्रतिशत संक्रमण देखिएको बेला एन्टिजेनमा ८ प्रतिशत मात्र देखियो। थारै संख्यामा संक्रमण देखिएकोले अहिलेलाई परीक्षण रोकिएको हो,’ डा. पाण्डेले भने।
उनका अनुसार स्थानीय तहले सिफारिस गरेका व्यक्तिलाई मात्रै परीक्षण गरिएको थियो।
‘हामीले स्थानीय तहले सिफारिस गरेका व्यक्तिको मात्र परीक्षण गरेका हौ,’ डा. पाण्डेले भने, ‘कन्ट्रायक ट्रेसिङमा परेको, फलफूल, तरकारी पसलमा बस्ने व्यक्ति रहेका थिए।’