हैजा ‘हटस्पट’ काठमाडौं र कैलालीमा निवारण विशेष परियोजना सुरु

हेल्थपोस्ट/काडमाडौं
प्रकाशित
२०७७ मंसिर १८ गते १७:०३

जनस्वास्थ्य समस्याका रूपमा रहेको हैजा (कलेरा) निवारणका लागि सर्भिलेन्स, खोप र सरसफाई कार्यक्रमसहितको विशेष परियोजना सुरु भएको छ।

नेपालमा ‘इन्डेमिक’ रूपमा रहेको हैजा पहिचान, रेस्पोन्स र रोकथामसम्बन्धी क्षमता अभिवृद्धिका लागि कोरियन इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) नेतृत्व र अन्य साझेदार संस्थाको सहकार्यमा यस्तो कार्यक्रम सुरु भएको हो।

अधिकांश देशमा निवारण भइसकेको हैजा नेपालको राजधानीसहित थुपै जिल्लामा विभिन्न समयमा देखिने गरेको छ।

हैजा निवारणसम्बन्धी दीर्घकालीन र वृहत अभियानमा जानुअघि यसका समस्या रहेका क्षेत्र पहिचानसँगै त्यहाँ प्रभावकारी हस्तक्षेप गर्ने परियोजनाको उद्देश्य छ।

काठमाडौंमा बुधबार उच्च स्वास्थ्य अधिकारी र विज्ञसहितको उपस्थितिमा प्रारम्भिक चरणको छलफल गरियो। त्यस क्रममा कोइकासहित इन्टरनेसनल भ्याक्सिनेसन इन्स्टिच्युट, जोन हप्किन्स युनिभर्सिटी र कलेरामा अनुसन्धान गरिरहेका अन्तर्राष्ट्रिय विज्ञले कार्यक्रमले दिने अवसर र चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा नेपालकै विभिन्न जिल्लामा रहेका स्वास्थ्य अधिकारीसहित कोरिया, अमेरिकामा रहेका परियोजनासम्बन्धी अनुसन्धानकर्ता एवं विज्ञ भर्चुअल रूपमा सहभागी थिए।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हैजा निवारणका लागि विगतमा भएका प्रयास र सिकाइसमेत ध्यानमा राखेर वृहत र सघनखालका परियोजना विकास गरिएको बताए।

डा. पाण्डेले काठमाडौंसहित विशेषगरी तराई र मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा हैजाका बिरामी भेटिने गरेको बताए। उनले समस्याका आधारमा पहिचान, उपचार र अभियान हुने गरे पनि हैजाको व्यवस्थित सर्भिलेन्स अभाव रहेको जानकारी दिए।

उनका अनुसार परियोजनाले नमुना जिल्लामा हैजा सर्भिलेन्स गर्ने, जिवाणुको सेरो प्रिभ्यालेन्स गर्ने, आवश्यकताका आधारमा रिङ वा मास भ्याक्सिनेसन गर्ने र खानेपानी र सरसफाइसम्बन्धी विशेष कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिने छ।

तोकिएका जिल्लामा यी गतिविधि जनस्वास्थ्य प्रणाली सवलीकरण गरी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, निदानका क्षमता निर्माणलगायत कार्यक्रमसमेत सञ्चालन गरिने पाण्डेले जानकारी दिए।
महाशाखाका अनुसार नेपालमा प्रत्येक वर्ष १० देखि २५ वटासम्म प्रयोगशालाबाट विभिन्न ठाउँका हैजाका ‘कन्फर्म केस’ देखापर्ने गरेको छ।

सन् २००९ मा मध्य तथा सुदूरपश्चिममा १ सय ९ कन्फर्म हैजासहित ६७ हजार झाडापखालाको प्रकोप प्रमुख थिए।

त्यसबाहेक २०१० मा मध्यपश्चिम, २०११ धुलिखेल र २०१२ काठमाडौं उपत्यकामा हैजा भेटिएको थियो।

२०१४ मा रौतहटमा १ हजार ५ सय झाडापखालासहित ११ जनामा हैजा, २०१५ मा ८० र २०१६ मा १ सय ६९ मा हैजा कन्फर्म भएको थियो।

खानेपानी र सरसफाइसम्बन्धी समस्यासँग जोडिएको हैजा भेटिनुलाई अन्तर्राष्ट्रियरूपमा सामाजिक विकासमा पछाडि परेको मानिन्छ। विकसित देशले सय वर्षभन्दा अघि नै हैजा निवारण गरिसकेका छन्।

नेपालमा पनि कोइका, रोटरीलगायत संस्थाका सहयोगमा सरकारले केही वर्षदेखि बढी जोखिम भएका जिल्लाका पालिकामा भ्याक्सिनेसन कार्यक्रम चलाउँदै आएको छ।

भूकम्पलगत्तै २०१५ मा धादिङ र नुवाकोटका केही पालिकामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको थियो।

डा. पाण्डेका अनुसार २०१७–१८ मा कोरोना ‘हटस्पट’ काठमाडौ र ललितपुरसहित पाँच जिल्लामा कलेरा सर्भिलेन्स कार्यक्रम चलिरहेको छ।

बुधबारको सुरुवात बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले इको–नेपाल परियोजना नेपालमा हैजा निवारणका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय