औरीको जनस्वास्थ्य हाँकिरहेका ‘खुट्टा नचल्ने’ राजकिशोर

राजकिशोर राय पेसाले स्वास्थ्यकर्मी हुन्।

उनी अहिले महोत्तरी औरी नगरपालिकामा जनस्वास्थ्य अधिकृत छन्। सधैं सेवामा दत्तचित्त भएर खटिरहेका हुन्छन्। समयमै कार्यालय पुग्छन्। ज्यान थाक्ला तर, उनले त्यो महसुस कमै गर्छन्।

उनी शारीरिकरूपमा अशक्त छन्। रायको एउटा खुट्टाले काम गर्दैन।

उनी बैशाखीको सहारामा दौडधुप गरिरहेका हुन्छन्।

उनी जन्मजात अपाङ्ग भने होइनन्।

रायको जन्म सर्लाहीको एउटा सामान्य परिवारमा भएको थियो। दुई वर्षकै उमेरमा उनी एक्कासि बिरामी परे। ज्वरो तथा खोकी लाग्यो। गाउँले जीवन। परिवारका सदस्यले ज्वरो र खोकीलाई सामान्य लिए।

विस्तारै उनलाई रोगले च्याप्दै लग्यो। बाल शरीर शिथिल हुँदै गयो। गाउँमा अस्पताल थिएन।

कमजोर आर्थिक अवस्थाका कारण टाढा लैजान सक्ने परिवारको अवस्था थिएन। उनका बुबाले गाउँमै ‘मेडिकल प्राक्टिस’ गरेका एकजनालाई बोलाए।

ती व्यक्तिले दिएको एक सिरिन्ज रायका लागि अभिशाप भयो। जसले गर्दा उनको खुट्टा सुक्यो। हिँड्न नसक्ने भए। उनी सानैमा अपाङ्ग बने।

उमेर बढ्दै गयो। उनी स्कुल जाने भए। स्कुलमा साथीसँग बस्न रायलाई निकै गाह्रो हुन थाल्यो। उनी साथीहरूसँग कदम मिलाएर हिँड्न पनि सक्थेनन्। शौचालय प्रयोग गर्न, भर्‍याङ चढ्न, झर्न, सबैमा उनले सास्ती खेप्नु।

स्कुले दैनिकी उनका लागि निकै पीडादायी हुन्थ्यो। उनी कहिले घिस्रिँदै हिँड्थे। कहिले लठ्ठीको साहारामा।

असहजतालाई सहजतामा परिणत गर्दै उनी आफ्नो दैनिकी सहज बनाइरहेका हुन्थे। स्कुलमा खेल्दा होस् वा अन्य बेला शिक्षक तथा साथीभाइले गर्ने नराम्रो व्यवहारले उनको मन कटक्क काट्थ्यो। उनलाई गरिएको हेयको व्यवहार अहिले पनि उनको मानसपटलमा ताजै छ।

‘स्कुले जीवनमा साथीभाइले लठ्ठी लुकाइदिन्थे, खेल्दा जिस्काउँथे, त्यही इखले मलाई पढाइमा सधैं अब्बल बन्नुपर्छ भनिरह्यो। मैले सधैं पढाइमा ध्यान दिइरहेँ र पढाइमा म सधैं राम्रै थिएँ,’ उनी भन्छन्।

घरबाट तीन किलोमिटर टाढा रहेको किशोर मावि पुग्न पनि उनलाई निकै धौ–धौ हुन्थ्यो। तर, उनले कहिले अल्छी मानेनन्, कहिले हार खाएनन्। जसको परिणाम एसएलसीमा राय पहिलो श्रेणीमा पास भए।

जागिरे यात्रा

एसएसलीपछि उनले वीरगन्जमा सिएमएमा नाम निकाले।

करिब दुई वर्ष अध्ययन गरे। उनले अपाङ्ग कोटाबाट नाम निकालेका थिए। त्यहाँ पनि उनी प्रथम श्रेणीमा पास भए।

तत्कालीन समयमा पढेकाले जागिर पाउने सम्भावना निकै हुन्थ्यो। उनको घरको आर्थिक अवस्था पनि निकै कमजोर थियो।

सिएमए पढ्नासाथ उनले सर्लाहीको सैलनपुरमा २०३९ सालमा करारमा नियुक्ति पाए।

कामसँगै लोकसेवा तयारी पनि गरे। पोखराबाट अहेवका लागि विज्ञापन आह्वान गरिएको थियो। उनले आयोग लडे। नाम पनि निस्क्यो।

आफ्नै घरमा रहेर काम गरिरहेका उनी अब स्याङ्जा जानुपर्ने भयो। काम गर्छु भन्ने हिम्मत जुटाएर राय जागिरको सिलसिलामा स्याङ्जा पुगे। उनले त्यहाँ दुई वर्ष काम गरे।

त्यसपछि उनको सरुवा नारायणी उपक्षेत्रीयमा भयो। केही समय उनले त्यहाँ काम गरे।

पछि उनी सर्लाहीको भक्तिपुर हेल्थपोस्टमा सरुवा भए।

उनमा अध्ययन इच्छा छँदै थियो। एचए पढ्ने इच्छासाथ केही समय अध्ययन बिदा लिएर उनी त्रिवि शिक्षण अस्पताल भर्ना भए।

हेल्थ असिस्टेन्ट डिग्रीमा लोकसेवा लडे। उत्तीर्ण भए। र, बहादुरगन्जमा पोस्टिङ भएर गए।

तीन–चार महिना काम गरे। त्यसपछि महोत्तरीको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुखको भूमिका निर्वाह गरे।

हाल उनी औरी नगरपालिकामा जनस्वास्थ्य अधिकृतका रूपमा कार्यरत छन्।

जागिरको सिलसिलामा भोग्नुपरेका उनीसँग थुप्रै तीता–मिठा अनुभव छन्। ‘अपाङ्गलाई समाजमा कहलिएका राजनीतिक नेताले पटक–पटक सरुवा गरिरहेका हुन्थे। हामीले सेवा गर्ने हो। राम्रोसँग सेवा गर्दागर्दै पनि राजनीतिक लाभका लागि छोटो–छोटो समयमा सरुवा हुँदा मन खिन्न हुन्थ्यो,’ उनले भने।

उनी आफू अपाङ्ग हुँ भनेर कहिले हिनताबोध नभएको बताउँछन्। ‘म कसैभन्दा कम छैन,’ उनी भन्छन्, ‘सवलाङ्गले नगर्ने काम म अपाङ्ग भएर गरिरहेको छु।’
बलियो आत्वविश्वाससाथ सधैं सेवामा तल्लिन रहेकै कारण अहिले उनी सर्लाहीका उदाहरणीय व्यक्तिका रूपमा परिचित छन्।

उपचारले काम गरेन
स्याङ्जामा काम गर्दा तालिम दिन पोखरा गएका थिए।

जुनबेला लन्डनबाट प्रोफेसर उट आएका थिए।

उनको अपाङ्ग शरीर देखेर उटले शल्यक्रिया गर्ने समय दिएका थिए।

पहिला उनको सामान्य शल्यक्रिया भयो। तर, उपचार लागेन। त्यसपछि पुनः शल्यक्रिया भयो। तर, पनि सफल भएन।

शल्यक्रियाकै कारण खुट्टा केही सिधा भए पनि जोर्नी चल्न छाडे। उनले खुट्टा खुम्च्याउन नमिल्ने भयो। लामो समय अस्पतालको बेडमा बिताउनुपर्दा धेरै कष्ट भोग्नुपरेको बताए।

‘जोर्नी खुम्च्याउन नमिल्दा बस्न समस्या भयो। शौचालय प्रयोग गर्न पनि समस्या भयो,’ उनी भन्छन्।

बैशाखीको सहारामा भए पनि कहिलेकाहीँ बाटो चिप्लो भएर लड्ने गरेका छन्। खट्टामा चोटपटक पनि लाग्छ।

‘तर, शारीरिक रूपमा अपाङ्ग भए पनि मानसिक रूपले स्वस्थ नै छु,’ राय भन्छन्, ‘मैले गरेको काममा कसैले पनि दोष दिने ठाउँ राख्दैन।’
हाल उनी तीनपाँग्रे मोटसाइकलको सहारामा ओहोर–दोहोर गर्छन्।

औरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रहेका रायले स्वास्थ्यका सबै कार्यक्रम सम्हाल्ने गरेका छन्।

‘एक डाक्टरले व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गर्दछन्। व्यक्तिको शरीरमा भएको रोग निको पार्दछन्,’ उनी भन्छन्, ‘एक स्वास्थ्यकर्मीले समुदायलाई नै स्वस्थ बनाउने काम गर्नुपर्छ र गर्छ।’

उनी सरकारी तवरबाट नै अपाङ्लाई साथ र सहयोग हुनुपर्ने बताउँछन्।

‘अपाङ्गहरू शारीरिक रूपले अस्वस्थ हुन्छन्, झन् त्यमाथि समाजले हेपिरहेको हुन्छ,’ उनी भन्छन्, ‘सरकारले अपाङ्गलाई पूरै पढाइ निःशुल्क गरोस्।’



One thought on “औरीको जनस्वास्थ्य हाँकिरहेका ‘खुट्टा नचल्ने’ राजकिशोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *