भरतपुर अस्पतालमा नयाँ संरचना बनाउन जग्गा अभाव

भरतपुर अस्पतालको नाममा रहेको जग्गा बाँड्दै गएपछि अहिले गुरुयोजना अनुरुप काम गर्न अस्पताललाई नै जग्गाको अभाव देखिएको छ ।

अस्पतालको नाममा रहेको करिव ३१ बिगाहा जग्गा बाँड्दा बाँड्दै अस्पतालसँग अहिले ११ बिगाहा जग्गा मात्र बाँकी रहेको छ । अहिले गुरुयोजना अनुसार काम गर्न नसकिएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

“अस्पतालमा आकस्मिक कक्ष र सरुवा रोग विभागका लागि डि बलक भवन बन्दै छ,” भरतपुर अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट जगन्नाथ तिवारीले भने, “हामीसंग भएको जग्गाले डि बल्क बनाउन पनि पुग्दैन ।”

अस्पतालको गुरुयोजनाअनुरुप काम गर्न कम्तीमा १५ बिगाहा जमीन आवश्यक पर्ने अस्पतालका इन्जिनियर विभाग प्रमुख इन्जिनियर चन्द्रमणी बस्यालले बताए । २० बिगाहाभन्दा बढी जमीन निजी, गैरसरकारी र सरकारी संस्थालाई भोगचलन गर्न दिइएको छ।

अस्पतालका अनुसार यहाँको सबैभन्दा बढी नौ बिगाहा कलेज अफ मेडिकल साइन्सेजले न्यूनतम भाडामा प्रयोग गर्दै आएको छ । कलेजले वार्षिक रुपमा प्रतिबिगाहा एक लाख रुपैयाँ तिर्दै आएको छ ।

स्कूल अफ हेल्थ साइन्सले ६ बिगाहा १९ कट्ठा १० धुर, भरतपुर आँखा अस्पतालले तीन बिगाहा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर जग्गा उपभोग गर्दै आएका छन् । मेडिकल कलेजसँगै साझाले न्यूनतम भाडा तिरेको छ भने अन्यले उपभोग मात्रै गर्दै आएका छन् ।

भरतपुर अस्पताललाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न निर्माण गर्नुपर्ने पूर्वाधारका लागि जग्गाको अभाव हुने बस्यालले बताए ।

गुरुयोजना अनुसार ए, बि ब्लक बनेका छन् । सि ब्लक अन्तिम तयारी छ भने, डि ब्लकको शिलान्यास मात्र भएको छ । डि ब्लक निर्माणका लागि सिटिभिटिले प्रयोग गर्दै आएको जग्गा आवश्यक पर्ने उनले बताए ।

भरतपुर अस्पतालको नाममा रहेको जग्गा निःशुल्क वा सशुल्क रुपमा प्रयोग गरिरहेका संघसंस्थाहरुसँग बाँकी बचेको जमीन अस्पतालले उपयोग गर्ने गरी अस्पतालले गुरुयोजना निर्माण गरेको हो ।

अस्पतालमा स्वाथ्य सेवा प्रवाह गर्ने क्षेत्र, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने क्षेत्र र आवास क्षेत्र गरी तीन भागमा बाँडेर गुरुयोजना तयार गरिएको थियो । भरतपुर अस्पताललाई एक हजार शैययाको अस्पताल बनाउने लक्ष्य छ ।

अहिले अस्पतालमा प्रयोग भएको जग्गा मध्ये दुई विघा आभासका लागि छुट्टाईएको छ । अस्पतालको गुरुयोजना अनुसार भवन बनाउनका लागि सिटिभिटि र आखा अस्पतालले प्रयोग गरेको जग्गा फिर्ता ल्याउनुपर्ने बस्यालले बताए ।

तर, मेडिकल कलेजले प्रयोग गरेको जग्गामा गुरुयोजना अनुसार नै भवन निर्माण भइरहेको उनले दावि गरे । “पुरानो मेडिकल कलेजको सम्झौता ५० बर्षको हो । २५ बर्ष पुगिसकेको छ ।अझ २५ बर्षमा त्यो संरचना नेपाल सरकारकै हुन्छ ।” उनले भने, त्यहाँ गुरुयोजना अनुसारकै भवन निर्माण छन् ।”

अहिले बनाउन लागिएको सरुवा रोग भवन निर्माणका लागि जग्गा अभाव पछि सिटिभिटिसंग परामर्श थालिएको छ । विभिन्न सरोकारवालासंगको रोहवरमा सम्झौता फिर्ता गर्ने तयारी गर्नुपर्ने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

“नयाँ संरचना बनाउनका लागि हामीले गरेका सम्झौता पुनरावलोकन गर्नुको विकल्प छैन ।” उनले भने, “यसमा माथिबाट नै कुरा अगाडी बढाउनुपर्छ ।” अहिले अस्पतालमा संरचना बनाउने जग्गाको खोजिमा जिल्ला प्रशासन कार्यालयसंग छलफल भैरहेको छ ।

जग्गा आवश्यकता र उपयोगिताका आधारमा पुनः व्यवस्थापन गर्नुपर्ने पुर्व मेसू कृष्णप्रसाद पौडेलले बताए । हामीलाई जग्गाको अभाव छ । अव नयाँ संरचना बनाउने ठाउँ नै छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई अनुरोध गर्दै उनले भने, बेलैमा नसोच्ने हो भने वीर अस्पताल जस्तो साँघुरो बन्नेछ।”

मन्त्री भानुभक्त ढकालले भरतपुर अस्पताल धनी बाऊको सुकुम्बासी छोरा जस्तो भएको प्रतिक्रिया दिएका छन् । तत्काल जग्गा फिर्ता हुने नहुने विषयमा भने उनी बोल्न चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय