नेपालमा यसरी बढ्दैछ कोरोनाबाट मृत्यु

असोजसम्म नेपालका अस्पतालका बेड भरिभाउ थिए।

बिरामीले बेड नपाएरै मर्नुपर्ने अवस्था आइसकेको थियो।

तर, अहिले त्यसको ठ्याकै उल्टो भएको छ। काठमाडौंका ठूला कोभिड अस्पतालमा आइसोलेसन वार्ड खाली हुँदै गएका छन्। गम्भीर बिरामीको चाप बढ्दै गएको छ।

कात्तिकमा हेर्ने हो भने सरदर दैनिक १० देखि १२ जनाको संक्रमणले मृत्यु हुने गरेको थियो। तर, मंसिरको तथ्यांक हेर्दा दैनिक ३० भन्दा बढीले ज्यान गुमाइरहेका छन्।

सोमबारको तथ्यांकअनुसार २ लाख ३४ हजार ७ सय ५६  जना संक्रमित हुँदा १ हजार ५ सय २९ जनाको मृत्यु भएको छ।

पछिल्लो एक सातामा मात्र १ सय ७१ जनाको मृत्यु भएको छ।

अहिलेको मृत्युदर हेर्दा अब कोरोना महामारीले झन् विकराल रूप लिने विज्ञहरूको आँकलन छ।

संक्रमितमध्ये ९० प्रतिशतभन्दा धेरैलाई अक्सिजनको आवश्यकता छ।

अस्पताल पुगेका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
देशको एकमात्र सरुवा रोग अस्पतालमा ५० आइसोलेसन बेडमध्ये ४० मा मात्रै बिरामीको उपचार भइरहेको छ।

आइसियु तथा भेन्टिलेटरमा सबै बिरामी भरिभराउ नै रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।

‘अहिले अस्पताल आएका बिरामीलाई धेरै समय राख्नुपरेको छ। बिरामीलाई जति लामो समयसम्म आइसियु तथा भेन्टिलेटरमा राख्नुपर्छ, त्यति नै समस्या बढ्दै जान्छ,’

डा. राजभण्डारीले भने, ‘पहिला आठदेखि १० दिनमा घर पठाउने बिरामी हुन्थे। तर, अहिले दुईदेखि तीन हप्तासम्म राख्नुपरेको अवस्था छ।’

उनका अनुसार अधिकांश बिरामी घरबाट श्वासप्रश्वासको समस्या, अक्सिजन लेभल घटेर आउने गरेका छन्।

‘घरबाट आएका बिरामी निमोनियाले ग्रसित बनाएर आएका हुन्छन्। उनीहरूलाई रिकभर गर्न धेरै समय लाग्छ,’ उनले भने, ‘त्यस्ता बिरामीको मृत्युदर बढी हुने गरेको पाइएको छ।’

४० दिनसम्म पनि बिरामीलाई आइसियु भेन्टिलेटरमा राखेर निको बनाएर पठाएको उनले बताए।

अस्पतालको तथ्यांकअनुसार हाल ७० वर्षभन्दा बढी उमेरकाको मृत्यु हुने गरेको छ।

हालसम्म कोरोना संक्रमणले टेकु अस्पतालमा २७ जनाको मृत्यु भएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

पाटनमा पनि पहिलाको तुलनामा जनरल बिरामीको संख्या घटेको छ। तर, गम्भीर खालका बिरामी संख्या बढिरहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए।

हाल अस्पतालमा १ सय ८० जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

‘पहिला २ सय ५० भन्दा बढी बिरामीको उपचार गरिएको थियो। तर, अहिले पिसिआर गर्ने संख्या सँगै आइसोलेसनमा आउने बिरामीको संख्या पनि घटेको छ,’ शाक्यले भने, ‘आइसियुमा सिरियस बिरामीको चाप बढेको छ।’

हाल अस्पतालमा १६ जना आइसियुमा उपचारत छन्।

अस्पतालको तथ्यांकअनुसार दैनिक दुईजना संक्रमितको मृत्यु हुने गरेको छ।

‘हामीकहाँ ६ जनासम्म मृत्यु भएको तथ्यांक छ,’ शाक्यले भने, ‘यो तथ्यांकले पनि अहिले बिरामीको मृत्युदर बढाएको देखिन्छ।’

अस्पतालले गरेको अध्ययनमा भेन्टिलेटरमा उपचार गराएका ९८ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ।

‘स्वचालित मेसिनबाट अक्सिजन दिएका मानिस बाँच्न सक्ने सम्भावना कम देखिएको छ। १ सय २ मध्ये दुईजना मात्रै बाँचेको पाइयो,’ डा. शाक्यले भने।

हालसम्म अस्पतालमा १ सय १० जनाको संक्रमणका कारण मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पतालमा हाल ४० जना आइसोलनमा उपचाररत छन्। जसमध्ये १५ जना आइसियुमा छन्।

अस्पतालका कोरोना फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार सामान्य लक्षण भएका बिरामी अस्पताल भर्ना हुने गरेका छैनन्।

‘अक्सिजन चाहिने बिरामी आए पनि चार–पाँच दिन बसेर जाने गरेका छन्। त्यसकारण अहिले आइसोलेसन बेड खाली छ,’ डा. दासले भने, ‘एउटै बिरामी १५–२० दिन आइसियु बस्ने भएकाले भरिभाउ नै छ।’

उनका अनुसार जाडो सुरु भएपछि दम, फोक्सो तथा मिर्गाैलाका बिरामीलाई बढी गाह्रो हुने गरेको छ। त्यसका कारण मृत्युदर बढेको छ।

हालसम्म अस्पतालमा १ सय २५ जनाको संक्रमणबाट मृत्यु भएको छ।

‘जाडोले दीर्घरोगीलाई गाह्रो बनाएको छ। त्यसमाथि पनि कोरोना संक्रमण हुँदा थप गम्भीर समस्या देखिएको छ,’ डा. दासले भने, ‘दोहोरो समस्या पर्दा मृत्युदर बढ्दै गएको छ।’

उनका अनुसार आइसियुमा गएका ५० प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ।

‘जाडो, प्रदुषणले पनि संक्रमणबाट मृत्यु हुन मद्दत पु¥याइरहेको छ। १५ देखि १७ प्रतिशत सम्म प्रदुषणका कारण मृत्यु भएको पाइएको छ,’ दासले भने, ‘दुवैले फोक्सोलाई असर गर्ने भएकाले अब मृत्युदर बढ्ने नै देखिन्छ।’

नेपाल एपिएफ अस्पताल

नेपाल एपिएफ अस्पतालमा हाल ७४ संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जना भेन्टिलेटरसहित १२ जना आइसियुमा रहेको अस्पतालका फोकल पर्सन डा. प्रविण नेपालले बताए।
उनका अनुसार अस्पताल आएका ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन चाहिने गरेको छ।

‘१० प्रतिशतमात्रै अक्सिजन नचाहिएको अवस्था छ,’ डा. श्रेष्ठले भने, ‘अघिल्लो महिनाको मृत्यु भएको संख्या तुलना गर्ने हो भने अहिले मृत्युदर बढेको छ।’
अस्पतालमा हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ।

उनका अनुसार घरबाट आउने बिरामी लगातार ६–सात दिनसम्म ज्वरो आएका, श्वासप्रश्वासमा समस्या तथा अक्सिजन लेभल कम भएका छन्।

‘घरबाट आउँदा आउँदै स्याचुरेसन लेभल ६०–६५ रहेको हुन्छ। त्यस्ता बिरामीलाई डाइरेक्ट अक्सिजन दिनुपर्ने हुन्छ,’ श्रेष्ठले भने।

उनका अनुसार अहिले ६० वर्षभन्दा बढी उमेरका अस्पताल भर्ना हुने गरेका छन्।

‘पहिला ३० देखि ४० वर्षका बढी हुन्थे। अहिले समुदायस्तरमा संक्रमण फैलिएसँगै अस्पताल भर्ना हुनेमा ६० वर्षभन्दा माथिका छन्,’ उनले भने, ‘यस्ता बिरामी आउँदा हामीलाई स्रोतसाधन नै बढी चाहिने गरेको छ।’

अस्पतालको तथ्यांकअनुसार ७४ जनामध्ये ८० वर्षभन्दा माथिका १२ जना संक्रमित उपचारमा छन्।

किन बढ्दैछ कोरोनाबाट मृत्यु?
– होम आइसोलेसनबाट गम्भीर समस्या लिएर अस्पताल जानु
– जाडो महिनामा कोरोना संक्रमित दीर्घरोगीलाई निमोनिया, वायु प्रदुषणको दोहोरो संक्रमण हुनु
– संक्रमण समुदायस्तरमा पुग्दा वृद्धवृद्धामा गम्भीर समस्या थपिनु
– अक्सिजन चाहिने संख्यामा वृद्धि नहुनु
– जटिल प्रकृतिका बिरामी थपिँदै जानु

पछिल्लो एक सातामा मृत्यु भएकाको संख्या
मंसिर ९ : २४
मंसिर १० : २८
मंसिर ११ : २३
मंसिर १२ : २३
मंसिर १३ : १९
मंसिर १४ : २५
मंसिर १५ : २९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय