एचआइभी संक्रमित हुनेमा व्राह्मण-क्षेत्री बढी

माेहन जाेशी
प्रकाशित
२०७७ मंसिर १६ गते १५:५६

कैलालीमा घट्दो क्रममा रहेको एचआइभी संक्रमण दर पुनः बढेको छ।

तीन वर्षयता कैलालीमा एचआइभी संक्रमण दर घट्दो क्रममा रहेको भए पनि गत आर्थिक वर्ष २०७६/७७ मा भने संक्रमितको संख्या पुनः बढेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा कैलालीमा नयाँ संक्रमितको संख्या १ सय ७ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा भने १ सय ५२ पुगेको छ।

स्वास्थ्य अधिकारीहरूले समुदाय स्तरमै गएर एचआइभी परीक्षण गर्दा परीक्षण दर बढेको र त्यसले संक्रमित संख्या बढेको दावी गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले अघिल्लो वर्ष गाउँ-गाउँमा नागरिकको एचआइभी परीक्षण गर्नुकासाथै भारतबाट आउने नागरिकको स्वास्थय परीक्षण अनिवार्य गरिएका कारण एचआइभी संक्रमितको संख्या बढेको बताए।

‘यसअघि आर्थिक वर्ष २०७३/७४ देखी २०७५/७६ सम्म कैलालीमा एचआइभी संक्रमितको संख्या क्रमसः घट्दोक्रममा रहेको थियो’, उनले भने, ‘तर यस वर्ष समुदाय स्तरमै गएर परीक्षण गर्दा संक्रमितको संख्या बढेको हो, यसले हामीलाई थप चिन्तित बनाएको छ।’

उनका अनुसार गत आर्थिक वर्ष कैलालीमा मात्रै १ सय ५२ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा ४५ जना बढीमा एचआइभी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष २०७५/७६ मा कैलालीमा १ सय ७ जनामा एचआइभी संक्रमण पुष्टि भएको थियो। त्यस अघिका तीन वर्षमा भने कैलालीमा लगातार संक्रमितको संख्या घट्दै आएको थियो।

आर्थिक वर्ष २०७३/७४ मा कैलालीमा १ सय २५ जना नयाँ संक्रमित थपिएका थिए। आर्थिक वर्ष २०७४/७५ मा सो संख्या घटेर १ सय १५ मा झरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा १ सय ७ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो।

जिल्ला स्वास्थय कार्यालय कैलालीका प्रमुख धामीले बोरोजगारी र अशिक्षा एचआइभी संक्रमण हुनुको प्रमुख कारण रहेको बताए। देशमा रोजगारी नपाउँदा सुदूरपश्चिमका धेरै नागरिक भारत तथा अन्य मुलुकमा श्रम गर्न जाने गरेका छन्,’ उनले भने, ‘त्यहाँ विभिन्न कारणले संक्रमित भएका नागरिकले शिक्षा अभावका कारण परिवारमा पनि संक्रमण फैलाउने गर्दछन्, अनि परिवार हुँदै समुदायमा संक्रमण फैलने गरेको छ।’

जनस्वास्थय प्रमुख धामीले कैलालीमा एचआइभी परिक्षण गर्ने प्रयोगशालाको संख्या थपिएका कारण पनि संक्रमितको संख्या बढेको हुनसक्ने बताए। ‘पहिला सेती अस्पतालमा मात्रै एचआइभीको परीक्षण हुँदै आएको थियो,’ उनले भने, ‘अहिले टिकापुर र अत्तरियाको मालाखेतीमा पनि परीक्षण हुँदै आएको छ। जसले स्वास्थय परीक्षण गराउनेको संख्या बढेको छ।’

कैलालीमा हाल सम्म २ हजार ८ सय ८५ जनामा एचआइभी पुष्टि भएको छ। जसमध्ये १ हजार ४ सय ४६ जनाले निशुल्क एआरटी (रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी) सेवा प्रयोग गर्दै आएका छन्। अघिल्लो वर्ष कैलालीमा एचआइभी संक्रमितक भएका ३५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

८ संक्रमित महिलाले जन्माए शिशु

कैलालीका आर्थिक वर्ष २०७६/७७ मा ८ जना एचआइभी संक्रमित महिलाले शुशु जन्माएका छन्।

संक्रमित महिलाबाट जनिमएका बालबालिकामा भने एचआइभी संक्रमण नरहेको सेती प्रादेशिक अस्पतालका बरिष्ठ जनरल फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। संक्रमित महिला गर्भवति भएपछि नियमित स्वास्थयकर्मीको संपर्कमा रहेका कारण औषधीको सहायताले शिशुमा संक्रमण हुन नपाएको उनले बताए।

संक्रमित हुनेमा व्राह्मण-क्षेत्री बढी

आर्थिक वर्ष २०७६/७७ मा कैलालीका एचआइभी संक्रमण हुने मध्य व्राह्मण-क्षेत्रीको संख्या एक तिहाई रहेको छ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष कैलालीमा १ सय ५२ जनामा एचआइभी संक्रमण पुष्टि हुँदा ७४ जना व्राह्मण-क्षेत्री छन्। यसै गरी ३९ जना दलित, २२ जना जनजाती, १ जना मुस्लिम र २ जना अन्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय