कुनै पनि पालिका अस्पतालबिहीन हुँदैनन् : स्वास्थ्यमन्त्री ढकाल

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै स्थानीय पालिकामा अस्पताल स्थापना गरिने बताएका छन्। आज (सोमबार) भरतपुर अस्पतालको आकस्मिक र सरुवा रोग भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले अस्पताल नभएका सबै पालिकामा अस्पताल स्थापना गरिने बताए।

‘अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकामा कोरोनासँग लड्नका लागि कम्तिमा पाँच बेडसहितका अस्थायी अस्पताल निर्माण गर्न लागेका छौं,’ मन्त्री ढकालले भने, ‘त्यसलाई स्थायी गर्दै अब कुनै पनि पालिकाहरू अस्पताल बिहिन रहने छैनन् भन्ने कुराको सुनिश्चिता गरेका छौं।’

सबै बिरामीको स्वास्थ्य उपचारका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए। सबै बिरामीलाई अस्पतालसम्म ल्याउन सकियो भने त्यो नै एउटा क्रान्ति हुने उनले दावी गरे।

उनले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन ‘पाइलट प्रोजेक्ट’ ल्याउन लागेको जानकारी दिए। ‘एक चिकित्सक एक स्वास्थ्य संस्था ‘पाइलट प्रोजेक्ट’ को रुपमा कार्यक्रम सञ्चालन गर्ने गरि अगाडी बढेका छौं,’ उनले भने, ‘बिरामी भएको व्यक्ति घरमा होइन अस्पतालको बेडसम्म ल्याउन हामी प्रयत्नरत छौं।’ उनले सरकारी चिकित्सकहरूले बाहिर काम गर्दा सेवाका गुणस्तरमा कमी आएको बताए।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोना भाइरस नियन्त्रणमा सरकारले उत्कृष्ट काम गरिरहेको बताए। ‘कोरोनासँग यूरोप, अमेरिकालगायतका देशहरू नै घुँडा टेकेको अवस्थामा हाम्रो जस्तो राष्ट्रले दिएको सेवा तुलनात्मक रुपमा उत्कृष्ट हौं,’ उनले भने, ‘तर, यतीमा हामी सन्तुष्ट चाँही छैनौं।’

कोराना भाइरसकाविरुद्ध साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने उनको धारणा छ। कोरोनालाई पराजित गर्ने अभियानमा सरकार लागेको भन्दै सरकारले दैनीक ३० हजारसम्म पिसिआर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको बताए। तर, परिक्षण गरेर मात्र नियन्त्रण नहुनेभन्दै मन्त्री ढकालले अन्य स्वास्थ्य सुरक्षामा ख्याल गर्न आग्रह गरे।

बन्न लागेका कोरोना भाइरसका खोप खरिदका लागि ९ वटा देशसँग कुटनीतिक परामर्श भइरहेको मन्त्री ढकालले जानकारी दिए। कार्यक्रममा उनले देशभर बन्न लागेका अस्पतालहरू यो महिनाभित्र उद्घाटन भैसक्नुपर्ने बताए। नभएमा त्यसठाउँमा अस्पताल बनाउन बजेट विनियोजन गर्न नसकिने उनले स्पष्ट पारे। अस्पताल बन्नका लागि पहाडी क्षेत्रमा ९ रोपनी र तराइमा १४ कठ्ठा आवश्यक पर्ने उनले बताए।

यसैबिच, भरतपुर अस्पतालको आकस्मिक एवं सरुवा रोग विभागको भवन शिलान्यास गरिएको छ। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री ढकालले भवनको शिलान्यास गरेका हुन्।

भरतपुर अस्पतालमा नयाँ बन्न लागेको आकास्मिक कक्ष ५० बेडसहितको अत्याधुनिक हुनेछ। यसका लागि सरकारबाट ९ करोड बजेट आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। त्यस्तै सरकारको केन्द्रीय कार्यक्रम अन्तर्गत सरुवा रोग विभागको भवन निर्माणका लागि ८ करोड बजेट विनियोजन भएको छ।

सरकारले प्रत्येक प्रदेशमा प्रदेश स्तरिय सरुवा रोग अस्पताल निर्माण उपचार एवम् स्वास्थ्य विपत व्यवस्थापनको लागि बजेट विनियोजन गरेको थियो। तर, वाग्मती प्रदेशको हेटौंडा नभई चितवनमा नै बनाउन लागिएको हो।

‘प्रादेशिक सरुवा रोग अस्पताल निर्माणका लागि ३ सय सैय्याको केन्द्रीय र न्यूनतम ५० सैय्याको प्रदेश स्तरिय र अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पतालको भवनको उद्घाटन गरेका हौं,’ भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले भने, ‘सरुवा रोगका विभागका लागि भवन, प्रयोगशाला समेत छुट्टै बन्छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *