नेपालमा वर्षदिनमै एचआइभी संक्रमणबाट ७३९ को मृत्यु, १० हजार बढी उपचार बाहिर

नेपालमा एचआइभी नियन्त्रणका कार्यक्रम सुरु भएको तीन दशक नाघिसकेको छ।

नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार हालसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान छ।

२३ हजार ६ सय २ जनामा असुरिक्षत यौन सम्पर्कबाट एचआइभी सरेको हो।

केन्द्रले सार्वजनिक गरेको यो तथ्यांकले नेपालमा यौनकर्मीले किनाकन्डम यौनसम्पर्क गरिरहेका कारण भाइरसको प्रशार भइरहेको निश्कर्ष निकालेको छ।

केन्द्रका निर्देशक डा. सुधा देवकोटाका अनुसार सबैभन्दा बढी एचआइभी संक्रमणमा यौनकर्मी, तेस्रोलिंगी र सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू परेका छन्।

‘यौनकर्मी धेरैलाई ग्राहकले नै कन्डम नलगाइ असुरक्षित यौनसम्पर्क राख्न बाध्य बनाएका छन्,’ डा.देवकोटाले भनिन्, ‘सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमण दर अन्य जोखिम समूहभन्दा बढी छ।’

सन् १९८८ मा पहिलो पटक नेपालमा चार यौनकर्मीमा फेला परेको एचआइभीबाट अहिले हरेक दिन सरदर दुईभन्दा बढी संक्रमणमा पर्ने गरेको केन्द्रको तथ्यांक छ।

आर्थिक वर्ष २०७६–७७ मा ७ सय ९० नयाँ संक्रमित पहिचान गरिएको थियो। पछिल्लो एक वर्षमा ७ सय ३९ एचआइभी संक्रमितको मृत्यु भएको केन्द्रले जनाएको छ।
दैनिक सरदर दुईभन्दा बढीको एचआइभी संक्रमणका कारण मृत्यु हुने गरेको छ।

१० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर

हाल २९ हजार ५ सय ३ जनामा एचआइभी भएको अनुमान छ। तर, सरकारी सेवामा आएर परीक्षण गराउनेमा भने जम्मा १९ हजार ४ सय १० मात्र छन्।

सरकारी सेवा बाहिर रहेका १० हजार ९३ संक्रमित कहाँ छन्, स्वयं केन्द्रलाई पनि थाहा छैन। सेवा बाहिर रहेका ती संक्रमितले समेत रोग फैलाइरहेका छन्।

एचआइभी संक्रमित रोगले होइन, लाञ्छना र विभेदले मरिरहेका छन् : डा. बास्तोला

नेपालमा एचआइभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीबाट पनि नराम्रो रूपमा हेर्नेलगायत कारण संक्रमित रगत परीक्षण गराउन आउन नसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्।

एचआइभी एड्ससँग रहेको लाञ्छना, विभेद, अशिक्षाका कारण एचआइभी संक्रमित जोखिममा भए पनि परीक्षण गर्न डराउने गरेको उनले बताए।

‘अझै एचआइभी संक्रमित पत्ता लागे पनि लुकेर बस्ने गर्छन। समाजिक हेँलाका कारण औषधी खान छाड्ने र लागूपदार्थ सेवन गर्नेजस्ता काम गर्छन्,’ डा. बास्तोलाले भने, ‘देशैभरि एआरटी साइड, घर नजिकै केन्द्र भए पनि कसैले देख्छ कि, थाहा पाउँछ कि, लाञ्छना, विभेद गर्छन कि, अथवा गरेका कारणले एचआइभी संक्रमित बाहिर गएर औषधी लिने गरेका कारण सरकारी पहुँचमा समावेश नभएका हुनसक्छन्।’

उनका अनुसार यसबीच बाँकी पहिचान भएका कहाँ गए, त्यसको खोजी हुनु जरुरी छ। औषधी सेवन गर्न आएका संक्रमित खान सुरु गरेपछि हराएका छन्। कोहीको मृत्यु भयो कि, विदेश पो गए कि, औषधी प्रयोग गर्नै छाडे कि, यसको तथ्यांक स्पष्ट हुनु जरुरी छ। पहिचान गर्ने जति पनि कार्यक्रम बनाएका छौं, तिनको युद्धस्तरमा स्थानीय तहसम्म कार्यान्वयन गर्नु जरुरी छ।

‘एचआइभी संक्रमितलाई निन्दा नगर्नुहोस्। एचआइभी भएको व्यक्ति अन्य स्वस्थ व्यक्तिसरह नै बाँच्नसक्छ,’ डा. बास्तोला भन्छन्, ‘जबसम्म हामी संक्रमितलाई लाञ्छना लगाउँछौं, विभेद गर्छौं, त्यतिबेलासम्म ऊ बाँचेर पनि मृत्युको मुखमा पुगेको फिलमा हुन्छ। एचआइभी एड्सका कारणले मानिस मर्दैन, समाजबाट पाएको लाञ्छना र भेदभावका कारण मनमनै मरिरहेको हुन्छ।’

एचआइभी संक्रमितले सन्तुलित खाना खाने गरे लामो समय बाँच्न सक्छ। उनका अनुसार एचआइभी÷एड्सबाट संक्रमित भएकामा रोग प्रतिरोधत्मक क्षमता कम हुने भएकाले पोषिलो खानेकुरामा ध्यान दिनुपर्छ।

संक्रमितले स्वस्थ र तन्दुरुस्त रहन नियमित हलुका व्यायाम गर्ने, प्रशस्तमात्रामा आराम गर्ने, ध्यान गर्ने तथा पोषणयुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरे आयु लम्ब्याउन सक्ने उनको भनाइ छ।

यसवर्षको नारा : एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी

प्रत्येक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइने भएको छ।

‘एड्सविरुद्ध विश्व अभियान’ कार्यक्रममा ऐक्यबद्धता जनाउँदै विश्वभरका सरकारी, गैरसरकारी तथा निजी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै क्षेत्र र वर्ग एकजुट भई मनाइने विश्व एड्स दिवस एचआइभी पत्ता लागेको सात वर्षपछि १९८८ देखि मनाउन थालिएको हो।

एचआइभी र एड्स के हो?

एचआइभी एक प्रकारको भाइरस हो। यही भाइरसले शरीरमा पार्ने गम्भीर प्रभावको अवस्था नै एड्स हो।

यो अवस्थामा अरु सामान्य रोगले पनि मानिसको शरीरलाई निकै गलाउँछ।

एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न दसौं वर्ष लाग्छ। समयमै पहिचान भई उपचार भए एड्सको अवस्था आउँदैन। एचआइभी संक्रमणका कारण शरीरको रोगसँग लड्ने फेलुलर इम्युनिटी (सिडी कोषिका) ह्रास गराउँदछ। यसको संख्या ५ सयदेखि १ हजार ५ सयहाराहारी हुन्छ।

यो संक्रमण भएको आठदेखि १० वर्षपछि सिडी४ कोषिका २ सयभन्दा कम भएको अवस्थामा एड्सका लक्षण देखिन थाल्छन्।

यी कोषिकाले हाम्रो शरीरमा रोगसँग लड्ने एक किसिमको शक्तिका रूपमा काम गर्दछ।

यो कम भएको अवस्थामा टिभी, पिसिपी निमोनिया, क्रिप्टोकोकल मेनिन्जाइटिस, क्रोनिक डाइरिया, मुख, घाँटी तथा आन्द्रामा क्यान्डिडा (ढुसी) को संक्रमण, लामो समयसम्म पखाला लाग्ने, शरीरको तौल घट्दै जाने, महिनौं दिनसम्म ज्वरो आउने, साह्रो किसिमका अन्य ब्याक्टेरियाको निमोनिया, सेप्टिसिनिया हुने र विभिन्न किसिमका सोलिड क्यान्सर, रक्तकोषिका क्यान्सर देखिन्छन्।

कुनै व्यक्तिलाई एचआइभी संक्रमण भइसकेपछि त्यसका कारणले एड्सको अवस्थामा पुग्न १०औं वर्ष लाग्नसक्छ।

यसबीच मानिस बिनालक्षणको हुने गर्छ। मानिस स्वस्थ देखिन्छ। यस अवधिमा विवाह गर्न सक्छ, अन्य पार्टनरलाई एचआइभी संक्रमण गराउन सक्छ। रूपरङ हेरेर एचआइभी छ कि छैन थाहा हुँदैन।

जबसम्म रगत परीक्षण गराउँदैनौं, तबसम्म एचआइभी छ कि छैन थाहा हुँदैन। विशेष गरेर जोखिमपूर्ण व्यवहार भएका व्यक्ति (असुरक्षित यौनसम्पर्क गर्ने व्यक्ति,

इन्जेक्सनमार्फत लागूऔषध लिने व्यक्ति) ले एचआइभी संक्रमणको जाँच समयमै गराउनुपर्छ।
एचआइभी सर्ने माध्यम
— असुरक्षित यौनसम्पर्क
— एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंग लिँदा
— सुईको साझा प्रयोग
— संक्रमित आमाबाट बच्चामा

बच्ने उपाय
— सुरक्षित यौन व्यवहार अपनाउने
— सधैं सही तरिकाले कन्डम प्रयोग गरी यौनसम्पर्क राख्ने
— यौनरोगका लक्षण देखापरे तुरुन्त उपचार गर्ने
— आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
— रगत दिँदा संक्रमण भए–नभएको पक्का गर्ने
— आफूमा एचआइभी संक्रमण छ कि छैन भनेर प्रत्येक आमाले एचआइभी परीक्षण गराउने
— सकेसम्म लागूऔषध प्रयोग नगर्ने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय